निर्माण क्षेत्रको आफ्नै नियामक निकाय आवश्यक— निर्माण बोर्ड गठन गर्न महासंघले गर्याे माग

बहस— वित्तीय क्षेत्रलाई राष्ट्र बैंकले नियमन गरेजस्तै, विकासको पूर्वाधारको क्षेत्र—निर्माण क्षेत्रको नियामक निकाय चाहिन्न ?
निर्माण सञ्चार, काठमाडौं । वित्तीय क्षेत्रको नियामक निकाय केन्द्रीय बैंक रहेको कुरा सबैलाई अवगतै छ । देश विकासका लागि पूर्वाधार त्यति नै महत्त्वपूर्ण क्षेत्र हो भन्ने पनि सबैलाई थाह हुँदा हुँदै पनि, बाटो भत्केको, पुल बिग्रेको, निर्माण सामग्री अभाव भएको, गुणस्तरीय नभएको, सुरक्षित र मानव मैत्री निर्माण नभएको जस्ता विविध गुनासाहरु दिनदिनै उठ्ने गर्छन् ।

तर यो क्षेत्रलाई देशको पुनःनिर्माण र नवनिर्माणमा लैजानु छ भने समग्र निर्माण जगत्को नियामक निकाय आवश्यक छ कि छैन होला ?

यही मुद्दा उठाएको छ निर्माण व्यवसायी महासंघले । नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डलले सोमबार वाणिज्य मन्त्री रोमी गौचन थकालीसँग भएको उच्चस्तरीय भेटमा निर्माण क्षेत्रका लागि छुट्टै नियामक निकाय ‘निर्माण बोेर्ड’ गठन गर्न माग गरेको छ ।

महासंघ अध्यक्ष शरदकुमार गौचन नेतृत्वको प्रतिनिधिमण्डलले राष्ट्र निर्माणका लागि भौतिक पूर्वाधार निर्माणलाई उच्च प्राथमिकता दिनु अति आवश्यक रहेको भन्दै बोर्ड गठनका लागि सरकार समक्ष आग्रह गरेको हो ।

बोर्ड कस्तो, सीमा कतिसम्म, को को रहने ?

निर्माण बोर्ड गठन कस्तो हुने भन्नेबारे समेत आफ्नो धारणा राख्दै महासंघले प्रधानमन्त्रीको प्रत्यक्ष संरक्षकत्व रहने गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको सह–संरक्षकत्व सहित निर्माण क्षेत्रका क्षेत्रगत प्रतिनिधि रहनु पर्ने समेत अवधारणा उठाएको छ ।

कतिपय क्षेत्रले निर्माण मन्त्रालय नै छुट्टै गठन हुनु पर्ने भन्ने आवाज उठाइरहेकै अवस्थामा निर्माण व्यवसायी महासंघले भने निर्माण बोर्डको अवधारणा अघि सारेको हो ।

पुरा हुन नसकेका अयोजनाका लागि एक वर्ष म्याद थपको आग्रह

सो भेटमा निर्माण व्यवसायीहरुले भोग्नु परेको समस्या तथा समाधानका लागि समेत मन्त्री थकालीको ध्यानाकर्षण गराएको छ ।

भूकम्प तथा भारतीय नाकाबन्दीका कारण पूरा हुन नसकेका परियोजनाको म्याद एक वर्ष थप गरी दिन प्रतिनिधिमण्डलले मन्त्री थकाली समक्ष जोडदार माग गरेको छ ।

सार्वजनिक खरिद ऐनबारे निकाय गम्भीर भएन !

निर्माण व्यवसायीहरुले सार्वजनिक खरिद ऐनले दिएका प्रावधान समेत सरकारी निकायले पालना नगरेको भन्दै नियमावलीको संशोधन पनि यथाशीघ्र गराउन माग गरेको छ ।

निर्माण सामग्री संकलन केन्द्रका रुपमा निर्माण सामग्री बैंकको अवधारणा प्राधिकरणले ल्याएसँगै निर्माण व्यवसायीहरुले पनि निर्माण सामाग्रीको अभाव हुन नदिनका लागि सरकारले पहल गरिदिनु पर्ने माग अघि सारेका छन् ।

भेटमा महासंघले मन्त्री थकालीको सफल कार्यकालका लागि शुभकामना समेत व्यक्त गरेको थियो ।

प्रतिनिधमण्डलमा महासंघका सल्लाहकार तेजबहादुर चन्द, वरिष्ठ उपाध्यक्ष विष्णुभाई श्रेष्ठ, उपाध्यक्षहरु भीमबहादुर साउद, रुद्र शर्मा, महासचिव रामशरण देउजा, कोषाध्यक्ष रोशन दाहाल, लगायतको सहभागिता रहेको थियो ।

 

....

२८ भदौ, ०७

प्रतिक्रिया

Related