महिला पनि आत्मनिर्भर बन्न र उद्यमशीलताको विकास गर्न अघि बढौं

निर्माण सञ्चार, महिला उद्यमीसँग साक्षात्कारसिन्धुपाल्चोक लामो साँघुमा जन्मिएर काभ्रेको बनेपालाई कर्मघर बनाएकी रोसनी उपाध्याय एक उदाहरणीय महिला उद्यमी हुन् । स्नातकोत्तरसम्मको औपचारिक शिक्षा प्राप्त गरेकी रोसनी उपाध्याय हाल नेपाल घरेलु तथा साना उद्योग महासंघ अन्तर्गत रहेको केन्द्रीय महिला उद्यमी समितिको वरिष्ठ उपसभापतिको भूमिकामा छिन् । महिला पनि उद्यमशील बन्न प्रेरित गर्ने सफल नारी उद्यमीको उद्यमशील भिजनबारे निर्माण सञ्चारले गरेको कुराकानी

केन्द्रीय महिला उद्यमी समितिको माध्यमबाट हाल कति उद्यमी महिलाको नेतृत्व गरिरहनु भएको छ ?

म केन्द्रीय महिला उद्यमी समितिको वरिष्ठ उपसभापतिको रुपमा रहेर कार्य गरिरहेकी छु । हाल ६० वटा जिल्लामा महिला उद्यमी समिति छन् । यस अन्तर्गत ११ हजार बढी महिला दिदी बहिनी आबद्ध हुनुभएको छ ।

तपाईं घरेलु तथा साना उद्योग महासंघको केन्द्रीय तहमा हुनुहुन्छ । घरेलु तथा साना उद्योग महासंघले महिलालाई कसरी उद्यमशील बन्न प्रेरित गर्दै आएको छ त ?

घरेलु तथा साना उद्योग महासंघ अन्तर्गतको महिला उद्यमशील समितिले विभिन्न मन्त्रालय, विभागबाट विभिन्न कार्यक्रम लिएर महिलालाई उद्यमशील बन्न जिल्ला जिल्लामा गएर परामर्श दिने, दर्ता प्रक्रियामा सहज बनाउने तथा जिल्ला संघको माध्यमबाट उद्यमको अवस्था हेरेर उद्यमशीलताको लागि आर्थिक सहयोग समेत गर्दै आएको छ ।

हाल हाम्रो महिला समितिको नेतृत्व सभापति शिवा उपाध्याय अन्जुले गर्नुभएको छ ।

तपाईंले महासंघको तर्फबाट सहयोग लिन सकिन्छ भन्नुभयो । एक महिला उद्यमीले आफ्नो व्यवसाय प्रवद्र्धनका लागि कसरी तपाईहरुको सहयोग लिन सक्छिन् त ? के छ त्यसका लागि आवश्यक प्रक्रिया ?

धेरै राम्रो प्रश्न गर्नुभयो । हाम्रोमा उद्यमशीलताको निकै नै जरुरी छ त्यसमा पनि महिला त अझै पछाडि नै छन् । हामी उद्यमी बन्न सक्दा त राष्ट्रिय पूँजीलाई पनि राज्य भित्र नै उपयोग गर्न सकियो र रोजगारीको आफैंले सिर्जना गर्ने हुँदा नाकाबन्दी जस्तो भयावह स्थितिमा पनि हामीलाई आफ्नो गुजारा चलाउन कुनै कठिनाई पर्दैन ।

महिलामा पनि केही गर्नुपर्छ र आफ्नै परिचय आफै बनाउनु पर्छ भन्ने चेतनाको विकास हुन सकेमा राज्यले छिटै नै मुहार फेर्न सक्छ ।

त्यसैले महासंघको सहयोगका लागि सर्वप्रथम त महिलाले आफ्नो फर्म तथा कम्पनी दर्ता गरेको हुनु पर्दछ । त्यसको अनिवार्य रुपमा करमा पनि दर्ता गरिएको हुनु पर्दछ । यसरी कानुनी प्रक्रिया पूरा गरी कार्य गर्नु पर्छ ।

यसका लागि महिला दिदी बहिनी घरेलु तथा साना उद्योग अन्तर्गतका जिल्ला संघमा अनिवार्य सदस्यता लिनु पर्ने छ । यस्तो भयो भने उहाँहरुको फर्म तथा कम्पनीको अवस्था हेरेर व्यवसाय प्रवद्र्धनका लागि महासंघ सधै नै सहयोगीको भूमिकामा रहन्छ ।

तपाईंहरु भर्खरै मात्र भारतको इन्डियन वेमन चेम्बरले गरेको कार्यक्रममा पनि सहभागी हुनुभयो । कति जनाको सदस्यले यो कार्यक्रममा उपस्थिति जनायो ?

हो, भारतमा भएको वेमिन चम्बरको कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघको तर्फबाट महिला उद्यमीका सभापति शिवा उपाध्याय ‘अन्जु’, वरिष्ठ उपसभापति रोसनी उपाध्याय म र कोषाध्यक्ष लक्ष्मीकुमारी गिरीको उपस्थिति थियो ।

यो कार्यक्रम हाम्रो सभापति शिवा उपाध्याय अन्जुको प्रमुख आतिथ्यतामा भएको हो । यो उद्यमी महिलाको कार्यक्रम सेप्टेम्बर ८ देखि सेप्टेम्बर १० सम्म सञ्चालनमा रह्यो ।

यसरी अन्तर्राष्ट्रिय महिला सम्मेलनमा सहभागी भइरहँदा तपाईले नेपाली महिलाको अवस्था कस्तो पाउनु भयो ? कत्तिको फरक रहेछ नेपाल र भारतमा महिलाको उद्यमशीलताको अवस्था ?

भारतको तुलनामा नेपालमा महिलाहरु हरेक हिसाबले सुसूचित भएको र उद्यमशीलताको अवस्थामा पनि अगाडि आएको हामीले पायौं । यसो भनिरहँदा पनि नेपालमा हामी अझै पनि सन्तोषजनक ढंगले उद्यमशीलताको विकास गर्न सकेका छैनौं ।

तुलनात्मक हिसाबले हेर्दा नेपालमा धेरै महिला दिदीबहिनीहरुले कानुनी ढंगले आफ्नो उद्यमशीलतालाई अगाडि बढाएको हामीले पायौं ।

अबका दिनमा घरेलु तथा साना उद्योग संघको महिला उद्यमी समितिले महिलालाई के कस्ता नयाँ कार्यक्रम ल्याउने योजना बनाएको छ त ? जसले उद्यमशीलतामा टेवा पुर्याउन सकोस् ।

हाल यस महिला उद्यमी समितिले महिलाको उद्यमशीलताका लागि खडा गरिएको कोषमा रहेको करिब १८ करोड बराबरको रकम विभिन्न जिल्लामा विभिन्न कार्यक्रम बापत् पुर्याउने छ भने राष्ट्रपति उत्थान कार्यक्रम बापत् विनियोजित १० करोड रुपैयाँका लागि पनि महासंघले छिटै नै कार्यक्रमको योजना सहित जिल्ला जिल्लामा पुर्याउनेछ ।

 

..........

२ असोज, २०७३

प्रतिक्रिया

Related