उद्योगवाणिज्य महासंघ विशेष— भवानी राणा बन्दै स्वतः अध्यक्ष, वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष हुने गरी विधान पारित

निर्माण सञ्चार, काठमाडौं । आउँदो चैत २६ गते हुने नेपाल उद्योग वाणिज्य महासंघको अधिवेशनबाट अध्यक्षको जिम्मेवारी सम्हाल्ने गरी वरिष्ठ उपाध्यक्ष भवानी राणालाई विधानले बाटो खोलिदिएको छ ।

अब उनी स्वतः अध्यक्ष बन्ने छिन् ।

बिहीबार काठमाडौंमा भएको महासंघको विशेष साधारण सभाले संशोधनका लागि पेस गरेको विधान महासंघको ०४९ को विधानलाई ९० प्रतिशत बढीले पारित गरेपछि अब वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने भएको हो ।

अध्यक्ष पशुपति मुरारका सहितको पक्षको पल्ला भारी भएपछि विधान संशोधन भएको छ । संशोधित विधान अब प्रमाणीकरणका लागि जिल्ला प्रशासन कार्यालय जाने छ भने त्यहाँबाट आएपछि लागु तत्कालै लागू हुने गरी विधान पारित भएको अध्यक्ष पशुपति मुरारकाले बताए ।

यस अघि भने वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष लड्न पाउने प्रावधान थिएन ।

संघीय ढाँचामा पनि जाने

त्यसैगरी, अञ्चल प्रतिनिधि र क्षेत्रीय सदस्यको प्रावधान समेत खारेजी गर्दै महासंघको विधानले संघीयता अनुसार महासंघको संरचना परिमार्जन गर्ने प्रस्ताव बहुमतले पारित भएको छ ।

देशको संविधानले स्वीकार गरिसकेको संघीय मुलुककै ढाँचा अनुरुप महासंघले पनि आफूलाई महासंघीय संरचना अनुरुप ढालेको आयोजकले बतायो ।

सम्बन्धित प्रदेशले नै प्रदेश प्रमुख चयन गर्ने गरी प्रदेश संरचनामा महासंघ समेत प्रवेश गरेको छ । संशोधित विधानले ५ जना थप गरेर ७१ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति रहने भएको छ जसमा निर्वाचित सदस्य मध्ये एक जनालाई केन्द्रीय कार्यकारिणीले कोषाध्यक्षको चयन गर्नेछ।

महासंघको ०४९ को विधान अनुसार भने अध्यक्षका लागि चुनाव हुने गरेको थियो । अबको कार्यकालदेखि बरिष्ठ उपाध्यक्षसम्मका पदमा चुनाव हुने छ भने वरिष्ठ उपाध्यक्ष भएको व्यक्ति स्वतः अध्यक्ष हुने छ ।

महासंघलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्न वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष हुने प्रावधान पारित गरिएको बहुमत सदस्यहरुको बुझाइ रहेको छ ।

महासंघको नियमित साधारणसभा यही चैत २६ मा हुने टुंगो लागिसकेको छ ।

६ पूर्व अध्यक्षले गरे साधारणसभा वहिष्कार

त्यस्तै, महासंघका पूर्व अध्यक्षहरु महेशलाल प्रधान, पद्म ज्योति, आनन्दराज मुल्मी, प्रदीपकुमार श्रेष्ठ, विनोदबाहदुर श्रेष्ठ र कुशकुमार जोशीले विशेष साधारणभा बहिस्कार गरेका छन् ।

उनीहरुले विधान संशोधनका लागि आफूहरुलाई कुनै स्थान नदिइएको भन्दै साभा बहिस्कार गरेका हुन् ।

विपक्षी कर्णिकारहरु असफल

वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रक्रिया भने विवादमुक्त भने हुन सकेन । यसको विपक्षमा रहेका भाष्करराज राजकर्णीकारको समूहले यो प्रावधानलाई मानेका छैनन् ।

किनकि आगामी निर्वाचनका लागि आफूलाई अध्यक्षको प्रबल दाबेदारको तयारी गर्दै आएका राजकर्णीकारले यस अघि विषेश साधारण सभा रोक्न पाटन उच्च अदालतमा रिट नै हालेका थिए।

तर, अदालतले उनको रिटलाई खारेजी गरेको थियो । अदालतले दुबै पक्षको भनाइ सुनेपछि साधारणसभा रोक्नु नपर्ने फैसला गरेको हो ।

विगतमा पनि विषेश साधारणसभाबाट विधान संसोधन गरेको नजिर रहेको भन्दै अदालतले भाष्करको रिट खारेज गरेको थियो ।

राजकर्णिकार विधान संशोधनको विपक्षमा थिएनन्, तर स्वतः अध्यक्षको प्रावधान भने अर्काे चुनावबाट मात्र हुनु पर्ने बताउँदै आएका छन् ।

अहिलेलाई भने विधान संशोधन नगर्ने उनको तर्क थियो ।

त्यस्तो प्रावधान भएमा आफू चुनावबाटै अध्यक्ष हुन सक्ने उनको भित्री बुझाइ थियो । तर वर्तमान अध्यक्ष मुरारका, पञ्चकन्या ग्रुपका साहिल अग्रवाल लगाउतको सिंगो पंक्ति भवानी राणालाई नै अध्यक्ष बनाउे तयारीमा लागेपछि कर्णिकार ग्रुप कमजोर हुन पुगेको हो ।

स्मरण रहोस्, चण्डीराज ढकाल अध्यक्ष हुँदा विषेश साधारणसभाबाट विधान संसोधन गरि दुई बर्से कार्यकाल ३ वर्ष बनाइएको थियो। निर्वाचन हुँदा दुई वर्षका लागि भनेर चुनिएका ढकाल संसोधित विधान अनुसार ४ वर्षीय कार्यकाल चलाउने व्यक्ति बन्नसकेका थिए ।

 

 

...........

४ कात्तिक, ०७

प्रतिक्रिया

Related