हेभिइक्विप्मेन्ट— अर्घाखाँचीमा भुसाल

महाधिवेशन नजिकिदै गर्दा जिल्ला अधिवेशन धमाधम हुँदै
निर्माण सञ्चार, काठमाडौं । हेभिइक्विप्मेन्ट व्यवसायी महासंघको महाधिवेशन नजिकिदै गर्दा जिल्ला संघहरुको धमाधम अधिवेशन सम्पन्न हुँदै छ ।

यसै क्रममा हेभिइक्विप्मेन्ट व्यवसायी संघ अर्घाखाँचीले दोस्रो साधरण सभा सम्पन्न गरेको छ । सदरमुकाम सन्धिखर्कमा बुधबार भएको अधिवेशनले अध्यक्षमा बसन्तराज भुसाल सहितको नयाँ कार्यसमितिको निर्वाचन गरेको प्रचार प्रसार विभाग प्रमुख महेशराज पौडेलले निर्माण सञ्चारलाई जानकारी गराए ।

पौडेलका अनुसार निर्वाचित हुनेहरुमा क्रमशः वरिष्ठ उपाध्यक्षमा काजी श्रेष्ठ, उपाध्यक्षमा कवि खनाल, भेषबहादुर बिसी, महासचिवमा अशोक खनाल, सचिवमा खीमप्रसाद श्रेष्ठ र सदस्यहरुमा— योगेन्द्र खड्का, विष्णु बन्जाडे, दिपक आचार्य, श्याम खनाल, वसन्त जिसी, प्रेम पौडेल, मोहन सिंह ठकुरी रहेका छन् ।

महासंघ केन्द्रीय अध्यक्ष अध्यक्ष ताराबहादुर कुवरद्वारा उद्घाटन गरिएको सो अधिवेशनमा जिल्लास्थित हेभिइक्विप्मेन्ट व्यवसायमा संलग्न व्यवसायीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष कुँवरले देशको पूर्वाधार विकासका लागि हेभिइक्विप्मेन्ट व्यवसायीहरुले ठुलै चुनौती मोलेर समेत काम गरेको भन्दै गत वैशाख १२ को भूकम्प पछि आफूहरुले उद्धार कार्यका लागि नेपाल सरकारलाई सहयोग गरेको घटना समेत स्मरण गरेका थिए ।

देशको पूर्वाधार विकासमा निजी क्षेत्र समेत उत्तरदायी र जवाफदेही बनेर काम गर्नु पर्ने बेला आएको भन्दै अध्यक्ष कुँवरले आफूहरु हेभिइक्विप्मेन्ट व्यवसाय जगत्को हित रक्षाका लागि समेत राज्यसँग संघर्ष गरिरहेको कुरा बताए ।

कार्यक्रममा व्यावसायिक जगत्को नेतृत्व गर्ने उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, निर्माण व्यवसायी संघका अध्यक्ष ऋषि राम अधिकारीले समेत व्यावसायिक हितका बारेमो मन्तव्य दिदै अधिवेशन सफलताको कामना गरेका थिए ।

सोही कार्यक्रममा राजनीति दलका प्रतिनिधिका तर्फबाट नेकपा एमालेका सचिव रामबहादुर चौहान, नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु प्रसाद खनाल, नेकपा माओवादी केन्द्रका संयोजक ठाकुर कुमार बिक, राष्ट्रिय जनमोर्चाका सचिव गोपाल पौडेलले निजी क्षेत्रबाट विकास पूर्वाधारमा सहयोग गर्ने काममा हेभिइक्विप्मेन्ट व्यवसायीले जनमुखी सेवा समेत गरेको भन्दै प्रशंसा गरेका थिए ।

कार्यक्रममा प्रशासनिक क्षेत्रबाट प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल, स्थानीय विकास अधिकारी लक्ष्मी पाण्डे गौतम उपस्थित थिए । सहायक प्रजिअ नारायण खत्रीले शुभकामना दिएका थिए भने प्रेस जगत्बाट पत्रकार महासंघका अध्यक्ष सोभाकर पन्थीले आफ्नो धारणा राखेका थिए ।

कार्यक्रमको उदघाटन समारोह अर्घाखाँची हेभिइक्विप्मेन्ट अर्घाखाँचीका अध्यक्ष तथा महासंघ केन्द्रीय सदस्य वसन्तराज भुसालको अध्यक्षतामा सम्पन्न भएको थियो भने महासचिव अशोक खनालले कार्यक्रम सञ्चालन तथा कवि खनालले स्वागत मन्तव्य राखेका थिए ।

यो पनि पढ्नुहोस— 

हेभी इक्विप्मेन्ट व्यवसायी महासंघमा महाधिवेशनको रौनक बढ्दै, नयाँ पदाधिकारीका लागि भित्रभित्र तयारी

.........

११ कात्तिक, ०७३

प्रतिक्रिया

Related