हेभिइक्विप्मेन्ट महाधिवेशन— सहमति भन्दै होमियो चुनावमा, आइतबार ८ बजेबाट प्रक्रिया सुरु

अध्यक्षमा निर्वाचन हुने देखियो
निर्माण सञ्चार, काठमाडौं । नेपाल हेभिइक्विप्मेन्ट व्यवसायी महासंघको प्रथम महाधिवेशन निर्वाचनमा जानेगरी पहिलो सत्र स्थगित भएको छ ।

शनिबार उपप्रधान तथा गृहमन्त्री विमेलेन्द्र निधीले राष्ट्रिय सभागृहमा उद्घाटन गरेको पहिलो सत्र आइतबार बिहान ८ बजेबाट प्रक्रियामा जाने गरी स्थगित भएको प्रचार प्रसार समिति संयोजक महेशराज पौडेलले निर्माण सञ्चारलाई बताए ।

महासंघको भावी कार्यक्रम तथा विधान संशोधनका लागि ७ सदस्यीय समिति बनाउँदै आजको सत्रले निर्वाचनका लागि समेत कार्यक्रम तय गरिसकेको छ ।

देशभरबाट २५० प्रतिनिधि रहने अनुमान गरिए पनि शनिबार साँझसम्म १९४ प्रतिनिधिहरुको नामावली संकलन गरिएको आयोजकले बतायो ।

अन्तिम समयसम्म सहमति गर्ने भनिएको महासंघको भावी अध्यक्षका लागि वर्तमान अध्यक्ष ताराबहादुर कुँवर सँगै महासचिव प्रेमलाल श्रेष्ठले दाबी कायमै राखेकाले अध्यक्ष पदमा निर्वाचन हुने लगभग पक्का भएको हो ।

आयोजकका एक सदस्यले बताए अनुसार निर्वाचनका लागि प्रक्रियामा जाने भनिएता पनि अन्तिम समयसम्म सहमतिबाटै नेतृत्व चयन हुने वा लोकतान्त्रिक विधि अवलम्बन गर्ने भन्ने दुविधा आज रातभर मात्रै रहने देखिन्छ ।

भोलि पनि कसरत सहमतिकै लागि रहने भनिए पनि अध्यक्षका लागि दुबै प्रत्यासीले दाबी नछाडेकाले चुनाव अवश्यम्भावी बन्दै गएको हो ।

एक विशेष सूत्र अनुसार अध्यक्षका लागि अन्तिम समयसम्म बार्गेनिङ गर्दै वर्तमान महासचिव श्रेष्ठ वरिष्ठ उपाध्यक्ष सहित महासचिव पदमा आफ्नै पकड जमाउन चाहन्छन्, सो भएमा अध्यक्षमा कुँवरलाई नै छाड्नसक्ने सम्भावना पनि त्यतिकै रहेको छ ।

कार्यक्रममा काठमाडौं संघका अध्यक्ष उत्तम विष्ट, भक्तपुरका राजाराम निहुत्सदेखि सुदूर पश्चिमसम्मका हेभिइक्विप्मेन्ट व्यवसायीलाई सम्मानित गरिएको थियो भने, सोही अवसरमा सिमेन्ट उत्पादक एसोसिएसनका अध्यक्ष इन्जिनियर धु्रवबहादुर थापा, निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनलाई अध्यक्ष कुँवरले मायाको चिनो उपहार दिएका थिए ।

रामेश्वर बोहरा अधिकृत रहेको निर्वाचन समिति आजै प्रकाशित भएको छ । 

हलबाट प्रतिवेदन समेत पास गरिसकेको खुला सत्र आजै ५ बजे स्थगित भएको थियो भने त्यसपछि कार्यक्रमको प्रायोजक जेसिबीले आयोजना गरेको विशेष कार्यक्रम सञ्चालन भएको हो ।

महासंघको महाधिवेशनको पुरै प्रायोजन जेसिबीले गरेको जेसिबीका बजार निर्देशकले बताए ।

यो पनि हेर्नाेस्--
 

 

 

.........

२७ कात्तिक, ०७३

प्रतिक्रिया

Related