बाजुरामा चरेससहित दुई जना पक्राऊ !

गाँजा चरेस काण्डका पुराना अभियुक्त धामी पक्राउ परे
निर्माण सञ्चार, बाजुरा । नौ केजी ९०० ग्राम चरेस सहित दुई अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ ।

शनिबार रातको समयमा उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा दार्चुला जिल्ला सितोला गाविस २८ वर्षका केशव सिंह धामी र बाजुरा जिल्ला दहकोट गाविस २ बस्ने राजेन्द्र बहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख हरिहर सुनुवारले बताए ।

पहेलो झोलामा नौ केजी नौ सय ग्रामको चरेस र जोख्ने ढक बोकेका उनीहरुका साथमा नाप्ने टेप पनि रहेको प्रहरीले बतायो ।

लागू औषध ओसार पसारमा संलग्न उक्त दुईलाई जिल्ला प्रहरी कार्यालय बाजुराले आइतबार बिहान पत्रकार सम्मेलन मार्फत् सार्वजनिक गरेको हो ।

निमित्त कार्यलय प्रमुख एवं प्रहरी निरीक्षक सुनुवारले अभियुक्तलाई सार्वजनिक गर्दै भने, ‘बडिमालिका नगरपालिका वडानं १२ गैरीबजारबाट शनिबार राति १० बजे गस्ती गरिरहेको प्रहरी टोलीले पक्राउ गरेको हो ।

उनीहरुलाइ सदरमुकाम मार्तडीको बानियाँ होटेलको एक नम्बर कोठाबाट प्रहरीले नियन्त्रणमा लिएको थियो र अहिले आवश्यक अनुसन्धान भइरहेको छ ।’

लागूऔषध कारोबारमा संलग्न उनीहरुले बाजुरा जिल्लाको कोल्टी गाविस— ८ चोलु, वडा– ९ भुलेना र टाँणीबाट गाँजा संकलन गरेको अभियुक्त धामीले बताएको प्रहरीले जानायो ।

स्रोत खुल्दै गएपछि थप अनुसन्धानका लागि थप ३ जनालाई कोल्टी विमानस्थल सुरक्षा गार्डले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा मार्तडीमा ल्याउन थालेको छ ।

प्रहरी निरिक्षक सुनुवारले बताए अनुसार अनुसन्धानका क्रममा अन्य शंकास्पद व्यक्तीहरु पनि समातिएका छन् । जसको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।

कारबाही चलाउने तयारी

प्रहरी अनुसार संलग्नलाई लागू औषध ऐन २०३३ अनुसार कारबाही गरिने छ । प्रारम्भिक दिनमा ९० दिनसम्म हिरासतमा राखेर सरकारी वकिलमार्फत अभियुक्तलार्ई अदालतमा पेस गरिने छ ।

अभियुक्तबाट बयान लिएको १५ दिन भित्र जिल्ला प्रशासन, स्थानीय पञ्जीकाधिकारी र अदालतको प्रतिनिधिको रोहबरमा गाँजा नष्ट गरिने प्रहरीले बताएको छ ।

अभियुक्त बोहरालाई गाँजा ओसार गरेबापत १५ हजार पैसा पाउने प्रलोभनमा परेरर सामान ओसार–पसार गर्न लागेको बताइएको छ । अभियुक्त धामी भने गाँजाकै व्यापारी हुनसक्ने अनुमान गरिएको छ ।

विगत एक वर्षदेखि धामी कहिले प्रहरीको जस्तै कपाल बनाएर हिड्ने त कहिले अन्य भेषभूषामा सदरमुकाम मार्तडीमा बस्दै आएको प्रहरीले बतायो ।

प्रारम्भिक सूचना पाएको पनि लामो समय बितिसके पछि मात्र प्रहरीले यो लागूपदार्थ ओसारपसार गर्नेको टोलीलाई पक्रन सफल भएको हो ।

बरामद गाँजा र अभिुक्तलार्ई प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठको रोहबरमा सार्वजनिक गरिएकोे हो ।

प्रहरीका अनुसार यो विगत १० वर्ष यताको सबै भन्दा बढी गाँजा कारोबारीलाई पक्रिएको हो । यस अघि ०६५/६६ सालमा मात्र यस्तै गाँजा तथा चरेस ओसारपसारमा संलग्नलाई जिल्ला प्रहरी बाजुराले पत्रकाउ गरेको थियो ।

गाउँबाट प्रतितोला ८० रुपियाँमा खरिद

चरेस प्रतितोला ८० रुपियाँका दरले गाउँमा खरिद गरिदै आएको बताइएको छ ।

२ देखि १० किलोसम्म गाँजा पक्रिएमा अभिुक्तलाई ५ सयदेखि २५ हजार रुपियाँ जरिबाना र एक वर्षदेखि ३ वर्ष कैद हुने ऐनमा व्यवस्था छ ।

त्यस्तै ५० ग्रामसम्म गाँजा राख्नेलाई ३ हजार रुपियाँ जरिबाना र एक महिनादेखि एक वर्षसम्म कैद सजाय रहेको प्रहरी बताउँछ ।

पाँच सयदेखि २ किलोसम्मको अभियुक्तलाई ६ महिनादेखि दुई वर्ष कैद सजाए छ भने दुई हजारदेखि एक लाख रुपियाँसम्म जरिबान गर्ने व्यवस्था छ ।

धामी जडीबुडी ओसारपसारमा पनि संलग्न

त्यस्तै, अभियुक्त धामीबारे प्रहरीले अरु सूचना समेत सार्वजनिक गरेको छ । अभियुक्त धामी बसेको काठाबाट २ क्विन्टल छाता च्याउ नामक जडीबुटी पनि हिजो राति नै बरामद गरिएको छ ।

उक्त च्याउको मूल्य प्रति केजी ९ हजारदेखि १४ हजार रुपियाँसम्म पर्ने प्रहरीले बतायो । प्रहरीले आवश्यक प्रक्रिया पुर्याएको भए च्याउ चाहिँ छोडिन सकिने बतायो ।

प्रहरीका अनुसार धामी बाजुरामा बस्दा नितान्त चरेसको ओसारपसारमा संलगन व्यक्तिका रुपमा खुल्दै गएका छन् । उनी चरेस व्यापारी हुन् भन्ने प्रहरी बताउँछ ।

प्रहरीले सार्वजनिक गरेपछि आफूहरुले गाँजा ओसार–पसारका लागि कैलालीको अत्तरिया बस्ने एक व्यक्तिलाई प्रयोग गरेको र सोही क्रममा आफूहरु पक्राउ परेको धामीले बताए ।

मदन जोशी  पत्रकार महासंघ बाजुराका सभापति हुन् /

........

२८ कात्तिक, ०७३

प्रतिक्रिया

Related