रुविना क्षेत्रीको कप्तानीमा एसिया कप क्रिकेटको महिला टोली घोषणा

निर्माण सञ्चार, काठमाडौं । आउँदो एशिया कप टी-२० महिला क्रिकेट प्रतियोगिताका लागि रुविना क्षेत्रीको कप्तानीमा नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ ।

आगामी नोभेम्बर २६ देखि डिसेम्बर ४ सम्म थाइल्यान्डमा हुने एसिया कप ट्वान्टी ट्वान्टी महिला क्रिकेटका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको हो ।

छनोटका लागि बनेको तीन सदस्यीय समितिले क्षेत्रीको कप्तानीमा शुक्रबार १५ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको प्रमुख कार्यसञ्चालन अधिकृत थुम्बी लामाले बताए ।

तीन सदस्यीय समितिमा प्रशिक्षक, कप्तान तथा आइसीसी प्रतिनिधि रहेका थिए ।

लामाका अनुसार १५ सदस्यीय नेपाली क्रिकेट टोलीमा इन्दु बर्मा, काजल श्रेष्ठ, करुणा भण्डारी, नेरी थापा, ज्योति पाण्डे, नीरा राजोपाध्याय र रश्मी शर्मा चौलागाइँले स्थान बनाएका छन्।

त्यस्तै संगीता राई, शोभा आले, रोशनी बोहोरा, सवनम राई, सीता मगर, सरस्वती कुमारी चौधरी र सीता रानामगरलाई पनि टोलीमा रहेका छन्, तर यस छनोटमा निर्मला शाही भने परिनन् ।

कारण, लामाका अनुसार भारतीय रेल्वेका लागि प्रशिक्षणका क्रममा घाइते भएपछि उनलाई टोलीमा नपरेकी हुन् ।

प्रतियोगितामा नेपालले पाकिस्तान, श्रीलंका, बंगलदेश, थाइल्यान्ड र छिमेकी देश भारतसँग खेल्ने छ।

प्रतियोगिताको पहिलो खेल नेपालका लागि २६ नोभेम्बरमा पाकिस्तानसँग हुने छ भने २८ नोभेम्बरमा श्रीलंका, २८ नोभेम्बरमै बंगलादेश, १ डिसेम्बरमा आयोजक थाइल्यान्ड तथा २ डिसेम्बरमा भारतीय टोलीसँग प्रतिस्पर्धा गर्ने तय भएको छ ।

 


...............

३ मंसिर, ०७३

प्रतिक्रिया

Related