नयाँ घर नयाँ बस्ती अभियानःः कस्ता छन् भूकम्प प्रतिरोधी नमुना घरहरु ?

निर्माण सञ्चार, काठमाडौं । विनासकारी भूकम्पपछि नेपालमा बहसको केन्द्रीय विषय अरु केही बनेको छ भने पुनःनिर्माण र नव निर्माण नै हो । आर्थिक समृद्धिको बहस गर्ने राजनीतिक दलहरु पुनःनिर्माण र राष्ट्र नवनिर्माणबाट फेरि पनि डाइभर्ट हुने हुन् कि जस्तो परिदृश्य देखिएको छ । यसका पर्दा पछाडिका खेलहरु पनि बुझिसकेको अवस्थामा नेपालीहरु सजग रहँदै अब पुनःनिर्माणमै जुट्ने बेला आएको बोध भएकै सत्य हो । सरकाले भूकम्प अतिप्रभावित क्षेत्रका घर तथा आवास बनाउन तयार गरेका नमूना घर कस्ता छन्, न्यूनतम मापदण्ड के रहेछन्, कसरी र कुन विधिले कस्तो मोडेलको घर बनाउने बारे प्रस्तुत छ निर्माण बिम्बले तयार गरेको सामग्री –

१.भूमिका

सरकारको सम्बन्धित निकाय सहरी विकास तथा भवन निर्माण विभागले जाइकाको समेत सहकार्यमा भूकम्प अतिप्रभावित जिल्लाहरुमा घर तथा आवासका लागि जुन घरका मोडेलहरु प्रस्तुत गरेको छ ती मोडेलहरु पीडितका हातसम्म परेका छैनन् । जिल्ला सदरमुकारममा पुगेर थन्किएका नमूना घरहरुबारे पीडितहरु अनभिज्ञ नै छन् न त ती मोडेलका घर बनाउनेबारे आवश्यक डकर्मीहरु नै स्थानीय जिल्लाहरुमा छन् ।

भूकम्प अघि पनि एक गाविसले सालाखाला वर्षमा दर्जन वा त्यस्तै घर बनाउँथ्यो भन्ने अनुमान गर्ने हो भने १२ महिनाभर घर बनाउन लाग्ने भनेको बढीमा २ दर्जन डकर्मी र ज्यामीहरु व्यस्त हुने गरेको देखिन्छ । सामान्यतया गाउँघरका हकमा लागू हुने कुरा यही हो । तर अहिले भूकम्प पछि एउटा गाविसले कम्तीमा एक हजार वा बढी संख्यामा घरहरु बनाउनु छ, २ दर्जन पनि डकर्मी नरहेका गाउँघरमा हजारौं घरहरु बनाउन सरकारसँग न त आवश्यक डकर्मी छन् न त त्यही अनुरुप सीप÷तालिम दिइएको छ । र कतिपय सन्दर्भमा उसले दिएका घरका मोडेलहरु काठमाडौंमा बसी तयार पारिएका मात्रै देखिन्छन्, ठ्याक्कै म्याच खाँदैनन् । यस्तो अव्यावहारिक अवस्थालाई सच्याउने उसले आवश्यकता ठानेको पनि देखिदैन ।

२. आवास बनाउने कस्तो ?

त्यसैले पीडितहरुले भूकम्पबाट बच्ने, प्रकृति र मानवमैत्री घरहरु पनि बनाउनु पर्ने छ एकातिर भने अर्काेति, नेपाली जनताको आफ्नो आर्थिक औकताले सरकारले तोकेको मोडेल जस्तै घरहरु बनाउने हैसियत नराख्न सक्छन् । न त सरकारले घर तथा आवासका लागि दिने भनेको रकम नै समयमा र सहज विधिले पीडितको हातसम्म आइपुगेको अवस्था छ । फेरि हरेक वर्ष वर्षा लाग्छ, घर छैन, टहरो पनि छाडेर घरभित्र छिर्नु छ ।

तैपनि सरकारले तोकिदिएको मापदण्ड भित्र रही घर त बनाउनै पर्ने हुन्छ । किनकि मनलागी घर बनाउँदा प्रकृतिले पनि सजाए दिने रहेछ भन्ने पाठ भूकम्पले सिकाएको छ । त्यसैले घर कस्तो बनाउने भन्ने कुरा गरिरहँदा कुन कुन विधिभित्र रहेर बनाउने भन्ने पनि ज्ञान हामीलाई हुन जरुरी छ ।

३. हेरौं नमूना घरहरु : के हुन् त न्यूनतम मापदण्ड ?

सहरी विकास तथा भवन निर्माण विभागले जाइकासँगको सहकार्यमा तयार पारेको १७ वटा घरका डिजाइन सार्वजनिक गरेको छ । तिनमा स्थानीय स्रोतसाधन र कलासंस्कृतिको जगेर्ना गर्ने कुरा पनि उल्लेख गरिएको छ । भूकम्प प्रतिरोधी घरका ती डिजाइनहरु सर्वसाधारणको पहुँचमा पुगोस् भन्ने उद्देश्यले निर्माण बिम्बले यहाँ प्रकाशित गरेको छ ।

३.१ न्यूनतम मापडण्ड

ढुङ्गा र इँट्टाको गारोमा सिमेन्ट तथा माटो प्रयोग गरी तयार पारिएको डिजाइनका लागि निम्न मापदण्ड पुरा गर्नु पर्नेछ ताकि हिजोको जस्तो नियति भोलिका पुस्ताले भोग्नु नपरोस् ।

३.२ निर्माण स्थल छनोट

घरका लागि जमिन छनोट गर्नु पहिले भूगोल पनि छनोट गर्नु पर्ने हुन्छ । चिरा नपरेको र पुरुवा माटो नभएको र सम्भावित पहिरो जान नसक्ने ठाउँ हेर्नु पर्छ । ८० प्रतिशत भन्दा बढी भिरालो नभएको, खोलाभन्दा टाढा र पानी नजम्ने क्षेत्र हुनु पर्ने मापदण्ड तोकिएको छ ।

३.३ घरको स्वरूप निर्माण

आड बिना गारो ४.५ मिटर भन्दा बढी हुन हुँदैन । गारोको उचाई ३ मिटर भन्दा बढी हुन हुँदैन । घरको वर्गकार वा आयतकार स्वरूपको हुनुपर्दछ । घरको चौडाइको अनुपातको ३ गुणा भन्दा बढी भएको लामो र साँघुरो आवास निर्माण गर्न नहुने मापदण्ड सरकारले तोकेको छ ।

३.४ जग

जगको खाडल एकनासको हुनु पर्दछ । समतल क्षेत्रमा भएको आवासको जग एउटै सतहमा निर्माण गर्नु पर्दछ । एक तले आवासको लागि कम्तीमा ८ सय मि.मी र दुई तले आवासको लागि ९ सय मि.मी लम्बाइ चौडाई हुनु पर्दछ । कुर्ची सतह जमिनभन्दा कम्तीमा ३ सय मि.मि हुनुपर्दछ । जगको ओस निरोधक पट्टि (डिपिसी) को न्यूनतम मोटाई १ सय ५० मि.मि हुनुपर्दछ । ढुङ्गाको गाह्रोको लागि पर्खालको चौडाई ३ सय ५० मि. मि हुनुपर्दछ ।

३.५ गारो

गारो घण्टी मिलाई सिधा ठाडो हुनुपर्दछ । ठाडो जोर्नीहरु एउटै सिधा ठाडो रेखामा नपर्ने गरी छलेर लगाउनु पर्दछ । एउटा गारोसँग पछि अर्काे गारो जोड्न मिल्ने गरी बनाउने अवस्थामा खाली ठाउँ छाड्नु भन्दा खुड्किला बनाई छोड्नु पर्छ । ताकी दुईवटा गारो एक आपसमा राम्रोसँग बाँधिऊन ।

मसलाको जोर्नीको मोटाई बढीमा २० मि.मि र कम्तीमा १० मि.मि हुनुपर्दछ भने सिमेन्ट र बालुवाको अनुपात १ः४ हुनुपर्दछ । गारोको मोटाई बराबर कैची मार्ने वरपरका ढुङ्गाहरु ६ सय मि.मि देखि १ हजार २ सय मि.मि सम्मको फरकमा लगाउनु पर्दछ । एक तले र दुईतले आवासको लागि न्यूनतम चौडाई ३ सय ५० मि. मि. हुनुपर्दछ ।

३.६ झ्याल ढोकाको अवस्था

गारोको भित्री कुनाबाट कम्तीमा ६ सय मि.मि छाडेर मात्रै झ्याल ढोका राख्नु पर्दछ । गारोमा हुने खुल्ला भागको कुल लम्बाई गारोको आधाा लम्बाई भन्दा बढी हुनु हुँदैन । गारो हुने खुल्ला भाग बिचको दूरी ६ सय मि.मि भन्दा कम हुनु हुँदैन । झ्याल र ढोका माथिपट्टि एकै सतहमा हुनुपर्दछ ।

३.७ छानो

काठ वा स्टिलको ट्रस सहितको जस्ताको छानोलाई हल्ला छानाको रुपमा प्रयोग गर्न सकिन्छ । काठको ट्रसका भागहरु वा जोर्नीहरु प्राविधिकको सल्लाह अनुसार जोडिनु पर्दछ ।

३.८ सामग्री

गारो लगाउन सिस्मिक बन्धनको प्रयोग गरिने कंक्रिट घोल, १ भाग सिमेन्ट, १.५ भाग बालुवा र ३ भाग रोडा अर्थात १ः१.५ः ३ हुनु पर्दछ ।

४. ढुड्डाको गाह्रोमा सिमेन्टको जोडाई (एस एम सी)

भूकम्प प्रतिरोधात्मक आवासको पुनःनिर्माणका लागि जाइका र सहरी विकास तथा भवन निर्माण विभागले तयार पारेको यस डिजाइनले निर्दिष्ट गरेको प्राविधिक पक्षहरु यहाँ समावेश छन् ।

४.१ ढुड्डाको गारोमा सिमेन्टको जोडाई (एक तले)

 एस.एम.सि १.१

भूकम्प प्रतिरोधी यस घरको मोडलको घर जाइकाले तयार पारेको हो । यो मोडेलको घर ३ देखि ५ जनासम्मको परिवारका लागि उपयुक्त हुन्छ । भन्छा र सुत्ने कोठा रहने यस घरको संरचना ढुङ्गाको गारो र सिमेन्ट प्रयोग गरी छानामा जस्ता प्रयोग गरिन्छ ।

लागत

उक्त घर निर्माण गर्न दक्ष जनशक्ति १ सय ७१ जना, ज्यामी ३ सय ५८ जना आवश्यक पर्छ भने ३४ घन मिटर ढुङगा, बालुवा २१ घनमिटर र सिमन्ट १ सय ४६ बोरा चाहिन्छ । एग्रिगेट १० घन मिटर, काठ २.२७ घन मिटर, जस्तापाता ४.७१ बन्डेल र फलामे डन्डी ४ सय ६० केजी आवश्यक पर्दछ ।

४.२ ढुड्डगाको गारोमा सिमेन्टको जोडाई (एक तले)

एस एम सि १.२

३ देखि ५ जना मानिस बस्न मिल्ने यस घरको डिजाइन जाइकाले तयार पारेको हो । स्थानीय स्रोत र साधन ढुङ्गा, सिमेन्ट, काठ र जस्ता प्रयोग गरी बनाइएको घर नेपाल राष्ट्रिय भवन संहिता अनुसार छ ।

लागत

दक्ष जनशक्ति १ सय २४ जना र ज्यामी २ सय ४९ जना आवश्यक पर्ने यस घरका लागि ९७ बोरा सिमेन्ट आवश्यक पर्दछ । ढुङ्गगा २५ घन मिटर, बालुवा १५ घन मिटर, एग्रिगेट ६ घनमिटर र काठ १.६९ घनमिटर चाहिने घरमा जस्ता ४ बन्डल र फलामे डन्डी २ सय ५२ केजी आवश्यक पर्दछ ।

४.३ ढुड्डाको गारोमा सिमेन्टो जोडाई (दुई तले)

एस एम सि २.१

३१.७५ वर्ग किलोमिटर क्षेत्रफल ओगेट्न यस घरमा ३ देखि ५ जनाको परिवारका लागि उपयुक्त हुन्छ । यस घरको डिजाइन जाइकाले तयार पारेको हो । यस घरको संरचना ढुङ्गाको गारोमा सिमेन्ट प्रयोग गरी काठको डाडाभाटा र जस्ता प्रयोग गरिन्छ । उक्त घरमा तल र माथि गरी ४ वटा कोठाको अवधारणा रहेको छ ।

लागत

दक्ष जनशक्ति २ सय ६८ जना, ज्यामी ५ सय २४ जना आवश्यक पर्ने यस घरका लागि सिमेन्ट २ सय २० बोरा चाहिन्छ । ढुङ्गगा ५० घनमिटर, बालुवा ३० घनमिटर, एग्रिगेट १४ घनमिटर र काठ ३.७७ घनमिटर आवश्यक पर्दछ भने जस्ता ५ बन्डेल र फलामे डन्डी ७ सय ७६ केजी आवश्यक पर्दछ ।

४.४ ढुड्डाको गारोमा सिमेन्टको जोडाई (दुई तले)

एस एम सि २.२

५ देखि ७ जनाको परिवारको लागि उपयुक्त हुने यस घरको क्षेत्रफल ४७.४ वर्ग मिटर रहेको हुन्छ । यस घरको संरचना ढुङ्गगाको गारो सिमेन्ट प्रयोग गरी काठपात र जस्ताको छानो प्रयोग गरिन्छ । सहरी विकास तथा भवन निर्माण विभागले तयार पारेको डिजाइन नेपाल राष्ट्रिय भवन आचार संहिता अनुसार भूकम्प प्रतिरोधी रहेको छ ।

लागत

दक्ष जनशक्ति ३ सय ४ जना, ज्यामी ४ सय ५९ जना लाग्ने यस घरमा सिमन्ट २ सय १ बोरा आवश्यक पर्दछ । जस्तै ढुङ्ग ७२ घनमिटर, बालुवा ३९ घनमिटर, रोडा १० घनमिटर, सालको काठ ५.५८ घनमिटर आवश्यक पर्दछ भने फलामे डन्डी ११४१ केजी, जस्तापाता ४.६९ बन्डेल र प्लेन सिट १० रनिङमिटर आवश्यक पर्दछ ।

४.५ ढुड्डाको गारोमा सिमेन्टको जोडाई (दुई तले)

 एस एम सि २.३

सहरी विकास तथा भवन निर्माण विभागले तयार पारेको यस घरको डिजाइनको क्षेत्रफल ४३.३ वर्ग मिटरमा रहेको हुन्छ । ८ देखि १० जना सम्मको परिवारका लागि उपयुक्त यस घरको संरचना ढुङ्गा, सिमेन्ट, फलामे डन्डी, काठपात र जस्ताको प्रयोगले निर्माण हुन्छ ।

लागत

दक्ष जनशक्ति २ सय ६४ जना ज्यामी ५ सय ९२ जना आवश्यक पर्ने यस घरका लागि ३ सय ११ बोरा सिमेन्ट आवश्यक पर्दछ । यस्तै ढुङ्गा ८६ घनमिटर, बालुवा ४९ घनमिटर, रोडा २६ घनमिटर, सालको काठ २.९३ घनमिटर आवश्यक पर्दछ भने फलामे डन्डी १७९२ केजी, जस्तापाता ४.५ बन्डल र प्लेन सिट ११ रनिङमिटर आवश्यक पर्दछ ।

४.६ ढुड्डाको गारोमा सिमेन्टको जोडाई (दुई तले)

एस एम सि २.४

८ देखि १० जनासम्मको परिवार अटाउने यस घरको क्षेत्रफल ४३.३ वर्गमिटर रहेको हुन्छ । बरन्डा सहितको यो घर सहरी विकास तथा भवन निर्माण विभागले तयार पारेको डिजाइनमा ढुङ्गाको गारोमा सिमेन्ट, काठको डाडाभाँटा र छानोको रुपमा जस्तापाता प्रयोग गरिन्छ । नेपाल राष्ट्रिय भवन संहिता अनुसार तयारी भएको हुदाँ भूकम्प प्रतिरोधी हुने घरकारुपमा नक्सा तयार भएको छ ।

लागत

दक्ष जनशक्ति २ सय ८६ जना, ज्यामी ५ सय ६५ जना र सिमेन्ट २ सय ५३ बोरा आवश्यक पर्ने यस घरका लागि ढुङ्गा १ सय ७.२२ घनमिटर, बालुवा ४९ घनमिटर रोडा ८ घनमिटर, सालको काठ ५. ३७ घनमिटर आवश्यक पर्दछ भने प्लेन सिट ११ रनिङ मिटर, फलामे डन्डी ७ सय ३ केजी र जस्तापाता ४.३६ बन्डेल आवश्यक पर्दछ ।

४.७ ढुड्डाको गारोमा सिमेन्ट जोडाई (दुई तले)

एस एम सि २.५

साँढे दुई तले रहने यस घरमा धन्सार रहेको हुन्छ । कुल ५३.६८ वर्ग किलोमिटर ओगट्ने यस घरले १० देखि १२ जनाको परिवारका लागि उपयुक्त हुन्छ । नेपाल राष्ट्रिय भवन संहिता अनुसार सहरी विकास तथा भवन निर्माण विभागले डिजाइन तयार पारेको हो । ढुङ्गाको गारोमा सिमेन्ट प्रयोग गरी फलामे डन्डी, काठपात र जस्तोको छानो प्रयोग गरिएको हुन्छ ।

लागत

दक्ष जनशक्ति ४ सय १८ जना, ज्यामी ७ सय ४६ जना आवश्यक पर्ने य घरका लागि ३ सय ६ बोरा सिमेन्ट आवश्यक पर्दछ भने ढुङ्गा १ सय ३८ घनमिटर, बालुवा ५९ घनमिटर, रोडा ११ घनमिटर, सालको काठ ६.४५ घनमिटर आवश्यक पर्दछ । त्यस्तै जस्तापाता ५.२२ बन्डेल, प्लेन सिट ३२ रनिङमिटर र फलामे डन्डी ८ सय ७८ केजी आवश्यक पर्दछ ।

४.८ ढुड्डाको गारोमा सिमेन्टेको जोडाई (दुई तले)

एस एम सि २.६

साँढे दुई तलेको अवधारणा रहेको यस घर आधुनिक डिजाइनको देखिन्छ । ढुङ्गगाको गारोमा सिमेन्ट प्रयोग गर्दै आर सि सि सिमेन्ट, कंक्रिट स्लापबाट निर्माण गरिएको हुन्छ । कुल क्षेत्रफल ४८.९ वर्ग किलोमिटर रहने यस घरमा १५ जनासम्मको परिवार सजिलै अटाउन सक्छन् । बैठक बरन्डा रहने घरको नक्सा सहरी विकास तथा भवन निर्माण विभागले तयार पारेको हो ।

लागत

दक्ष जनशक्ति ४ सय ११ जना, ज्यामी ९ सय ६२ जना आवश्यक पर्ने यस घर बनाउन सिमेन्ट ५ सय ४ बोरा चाहिन्छ । ढुङ्गा १ सय ३२ घनमिटर, बालुवा ८१ घनमिटर, रोडा ३१ घन मिटर र सालको काठ २.९ घनमिटर आवश्यक पर्ने घरमा फलामे डन्डी २ हजार ८ सय १४ केजी आवश्यक पर्दछ ।

५.इँटाको गारोमा सिमेन्टको जोडाई

यहाँसम्म आइपुग्दा ढुङ्गा र सिमेन्टको जोडाईको बारेमा चर्चा गरेका थियौँ । अब इँटा र सिमेन्ट जोडिने घरबारे चर्चा गरिएको छ । जाइका र सहरी विकास तथा भवन निर्माण विभागले यो नमूना घरको ढाँचा तयार पारेका हुन् । इँटाको गारोमा सिमेन्ट प्रयोग गरी बनाइएको यो घर भूकम्प प्रतिरोधात्मक छ । यो आवास एक र दुई तलेको अवधारणामा आधारित छ । यो मोडेलको घरमा आर.सि.सि कङ्क्रिटको बन्धन प्रयोग हुन्छ ।

५.१ इँटाको गारोमा सिमेन्टको जोडाई (एक तले)

बिएमसी १.१

जाइकाले तयार पारेको यो डिजाइनमा क्षेत्रफल ३१.७५ वर्ग मिटर रहेको छ । यस घरमा २ कोठा र बाहिरी बरन्डा पनि रहन्छ । स्थानीय निर्माण सामग्री प्रयोेग गरी बनाइने यो घर इँटाको गारोमा सिमेन्टको प्रयोग साथै काठ र जस्तापाताको प्रयोग गरी बनाइन्छ । नेपाल राष्ट्रिय भवन संहिता अनुसार तयार पारिएको हुनाले यो घर भूकम्प प्रतिरोधी हुन्छ ।

लागत

दक्षजनशक्ति १ सय ५१ जना र ज्यामी १ सय ८१ जना आवश्यक पर्ने यस घरका लागि सिमेन्ट १ सय २३ बोरा चाहिन्छ भने इँटा २१ हजार ३ सय ५३ वटा चाहिन्छ । त्यस्तै बालुवा २५ घनमिटर, एग्रिगेट ८ घनमिटर, काठ २.२७ घनमिटर आवश्यक पर्दछ भने यस घरका लागि जस्ता ५ बन्डेल र फलामे डन्डी ४ सय ६० केजी चाहिन्छ ।

५.२ इँटाको गारोमा सिमेन्टको जोडाई (एक तले)

बि एमसी १.२

यस एक तले घरमा ३ जना देखि ५ सम्म बस्न सक्छन् । कुल क्षेत्रफल १६.३१ वर्गमिटर रहने घरमा १ कोठा र बाहिरी बरन्डा रहन्छ । इँटाको गारोमा काठको डाँडा–भाँटा प्रयोग गरी छानोमा जस्तोको प्रयोग हुन्छ । नेपाल राष्ट्रिय भवन संहिता अनुसार जाइकाले तयार पारेको हुँदा भूकम्प प्रतिरोधी घर निर्माण हुनेछ ।

लागत

दक्षजनशक्ति १ सय ७ जना, ज्यामी १ सय २१ जना लाग्ने यस घरका लागि इँटा १३ हजार ६ सय ६२ र सिमेन्ट ८० बोरा आवश्यक पर्दछ । बालुवा १० घनमिटर, एग्रिगेट ६ घनमिटर, काठ १.९४ घनमिटर आवश्यक पर्दछ भने जस्तापाता ४ बन्डल र फलामे डन्डी २ सय ५२ केजी आवश्यक पर्दछ ।

५.३ इँटाको गारोमा सिमेन्टको जोडाई (दुई तले)

बिएमसी २.१

दुई तल घरको अवधारणामा आधारित यस घरको डिजाइन जाइकाले तयार पारेको हो । ३१.७५ वर्गमिटर क्षेत्रफलमा रहने यस घरमा ५ देखि ८ जनाको परिवारका लागि उपयुक्त हुन्छ । इँटाको गारोमा सिमेन्ट प्रयोग गरी काठको डाँडाभाँटा र छानोको रुपमा जस्ताको प्रयोग गरिएको हुन्छ । नेपाल राष्ट्रिय भवन संहिता अनुसार तयार पारिएको हुँदा यो घर भूकम्प प्रतिरोधी हुन्छ ।

लागत

दक्ष जनशक्ति २ सय ५५ जना, ज्यामी २ सय ९० जना लाग्ने यस घर निर्माण गर्न ३४ हजार ७ सय ७८ इँटा र १ सय ८६ बोरा सिमेन्ट आवश्यक पर्दछ । बालुवा ११ घनमिटर, एग्रिगेट ११ घनमिटर, काठ ४.४३ घनमिटर चाहिन्छ भने जस्तापाता ५ बन्डेल र फलामे डन्डी ७ सय ७७ केजी आवश्यक पर्दछ ।

५.४ इँटाटाको गारोमा सिमेन्टको जोडाई (दुई तले)

बिएमसी २.२

दुई तले घरको अवधारणामा आधारित ५१.३ वर्ग मिटर क्षेत्रफल समेटेको यस घरको डिजाइन जाइकाले तयार पारेको हो । यो घरमा इँटाको गारोमा सिमेन्ट प्रयोग गरी काठ डाँडाभाँटा र जस्ता छानोको रुपमा प्रयोग हुन्छ । यो घर ७ देखि १० जनाको परिवारको लागि उपयुक्त हुन्छ ।

लागत

दक्षजनशक्ति २ सय ४० जना, ज्यामी २ सय ४१ जना आवश्यक पर्ने यस घरका लागि ३७ हजार ९ सय ४८ इँटा र १ सय ८३ बोरा सिमेन्ट चाहिन्छ । त्यस्तै बालुवा २५ घनमिटर, रोडा ७ घनमिटर, सालको काठ ५.१४ घनमिटर चाहिन्छ भने जस्तापाता ५.१५ बन्डेल, प्लेन सिट ९ रनिङमिटर र फलामे डन्डी ८ सय ७३ केजी आवश्यक पर्दछ ।

५.५ इँटाटाको गारोमा सिमेन्टको जोडाई (दुई तले)

बिएमसी २.३

सहरी विकास तथा भवन निर्माण विभागले तयार पारेको यो घरको डिजाईन दुई तले हुन्छ । कुल ४५.३५ वर्गमिटर क्षेत्रफल रहने यस घरमा भान्सा कोठा, बैठक कोठा, सुत्ने कोठा र वरन्डा समेत हुन्छ । सिमेन्ट र इँटाको गारोमा काठमाको डाँडाभाँटा प्रयोग गरी जस्ताले छाइन्छ । ८ देखि १२ जनाको परिवारको लागि यो घर उपयुक्त हुन्छ ।

लागत

दक्ष जनशक्ति २ सय ६७ र ज्यामी २ सय ७३ जना आवश्यक पर्ने यस घरका लागि इँटा ३८ हजार ३ सय ६ वटा र सिमेन्ट १ सय ७४ बोरा आवश्यक पर्दछ । रोडा ७ घनमिटर बालुवा २६ घनमिटर सालको काठ ६ घनमिटर आवश्यक पर्छ भने जस्तापाता ४.१ वन्डल, प्लेन सिट ९ रनिङ मिटर त्यस्तै फलामे डन्डी ७ सय ६३ केजी आवश्यक पर्दछ ।

५.६इँटाको गारोमा सिमेन्टको जोडाई (दुई तले)

विएमसी २.४

बुईगल सहितको साँढे दुई तलेको यस घरले कुल क्षेत्रफल ५०. ७६ वर्गमिटर रहेको हुन्छ । नेवारी परम्परागत शैलीको देखिने यस घरमा इँटा र सिमेन्टको गारोमा काठको डाँडाभाँटा प्रयोग गरी जस्ताको छानोले छाइन्छ । सहरी विकास तथा भवन निर्माण विभागको डिजाइनमा तयार भएको घरमा दुई वटा सुत्ने कोठा, बैठक कोठा, भान्सा, दुई वटा भण्डारण, पसल पनि हुन्छ ।

लागत

दक्ष जनशक्ति ४ सय ८ जना र ज्यामी ३ सय ४६ जना आवश्यक पर्ने यस घरका लागि इँटा संख्या ५१ हजार ५ सय ५८ वटा र सिमेन्ट २ सय ५३ बोरा चाहिन्छ । त्यस्तै बालुवा ३४ घनमिटर, रोडा ११ घनमिटर, सालको काठ ७ घनमिटर चाहिन्छ भने जस्तापाता ४.९७ बन्डेल, प्लेन सिट ३२ रनिङमिटर र फलामे डन्डी ८ सय २८ केजी आवश्यक पर्दछ ।

५.७ इँटा गारोमा सिमेन्टको जोडाई (दुई तले)

बिएमसी २.५

दुई तले आवासको क्षेत्रफल ४१.२२ वर्गमिटर रहेको हुन्छ भने घरको संरचना इँटाको गारोमा सिमेन्ट प्रयोग गरी आर.सि.सि सिमेन्ट कङ्क्रिट स्ल्याबको रुपमा प्रयोग हुन्छ । सहरी विकास तथा भवन निर्माण विभागको डिजाइनमा तयारी भएको यस घरमा भुईतलामा भान्सा कोठा, बैठक कोठा, भण्डार कोठा र शैचालय रहेको हुन्छ भने माथिल्लो तलामा दुई वटा सुत्ने कोठा र वरन्डा रहेको हुन्छ ।

लागत

दक्षजशक्ति २ सय ९६ जना, ज्यामी ३ सय ९६ जना आवश्यक पर्ने यस घरको निर्माणमा ४१ हजार ७ सय २९ वटा इँटा र ३ सय २ बोरा सिमेन्ट आवश्यक पर्दछ । त्यस्तै डिपिसीसम्म भर्नका लागि माटो १ हाजर १ सय ३६ घनमिटर चाहिन्छ । त्यसै गरी बालुवा ३७ घनमिटर, रोडा १६ घनमिटर र सालको काठ १.६५ घनमिटर चाहिन्छ भने फलामे डन्डी १७ सय ९१ केजी आवश्यक पर्दछ ।

६. ढुड्डाको गारोमा माटोको जोडाई (एक तले)

एस. एम. एस १.१

भूकम्प प्रतिरोधात्मक आवास पुनःनिर्माणका लागि एम. एम. एस १.१ को डिजाइन सहरी विकास तथा भवन निर्माण विभागले तयार पारेको हो । ढुङ्गाको गारोमा माटो प्रयोग गरी काठको डाँडाभाँटा र छानोमा स्लेटको प्रयोग गरिन्छ । बन्धनमा बाँस र काठको पनि प्रयोग हुन्छ । ४७.४ वर्गक्षेत्रफलमा फैलिने यस घरमा सुत्ने कोठा, बैठक कोठा, भान्सा र वरन्डा रहेको एक तले आवास हो । परम्परागत शैलीको देखिने यस घर भूकम्प प्रतिरोधी हुन्छ ।

लागत

दक्षजनशक्ति २ सय ३९ जना र ज्यामी १ सय ९७ जना आवश्यक पर्ने यस घरमा ५५ घनमिटर ढुङ्गा आवश्यक पर्दछ । त्यस्तै माटो ४० घनमिटर, सालको काठ ७.६६ घनमिटर र स्लेट १ सय ६१ वर्गमिटर चाहिन्छ ।

७. इँटाको गारोमा माटोको जोडाई (एक तले)

बिएमएम १.१

भूकम्प प्रतिरोधात्मक आवासको पुनःनिर्माणका लागि तयार पारिएको बिएमएम १.१ को अवधारणा अनुसार सहरी विकास तथा भवन निर्माण विभागले तयार पारेको हो । ३ वटा कोठा रहने यस घरको क्षेत्रफल ४०.५५ वर्गमिटर रहेको हुन्छ । इँटाको गारोमा माटो प्रयोग गर्दै काठको डाँडाभाँटा माथि जस्ताको छानो प्रयोग हुन्छ । यो घर ५ देखि ७ जनाको परिवारलाई उपयुक्त हुन्छ ।

लागत

दक्षजनशक्ति १ सय ३९ जना र ज्यामी १ सय १६ जनासहित २३ हजार ५ सय १८ इँटा गारोका लागि चाहिन्छ । त्यस्तै माटो ३५ घनमिटर, सालको काठ ३.८७ घनमिटर र जस्तापाता ४ वन्डेल तथा १० रनिङ मिटर प्लेन सिट आवश्यक पर्दछ ।

 

समस्या

यी घरका नमूना हेर्दा काठमाडौंमा बसेर जागिर खानेले बनाएको भन्दा फरक छैन । काठमाडौंको समथर र ढुङ्गैढुङ्गाले बनेको पहाडका लागि एकैनासे डिजाइन दिनु कुन इन्जिनियरको विधि हो ? यी नमूनाहरु त्यति न्यायसंगत छैनन् । भौगोलिक अवस्थालाई सुहाउँदो नभएकाले यी अपुरा डिजाइनहरु कुनै पनि मानेमा पीडित जनता लक्षित होइनन् । अत्यधिक लागतका कारण यी नक्साका आधारमा नयाँ घर निर्माण होलान् भन्ने मलाइ लाग्दैन ।

कृषि कार्य गरिने हुँदा पहाडी इलाकामा एकतले घर उपयुक्त छैनन् । ढुङ्गाकै दुई तलेमा बस्न भूकम्पकै त्रास अझै छ । एकतले घर धेरै ठाँउमा बनाउँन जग्गा नहुन सक्छ । पुनःनिर्माणमा एकै समयमा सुरु भएकाले जनशक्ति, काठपात र ढुङ्गा लगाएतका निर्माण समाग्रीको अभाव हुन्छ नै ।

उपाय

सरकारले साँच्चै सरकारले पीडित जनताका लागि नक्सा सार्वजानिक गर्ने हो भने स्थानीय राजनीतिक दल र स्थानीय बासिन्दासँग सहकार्य गरी भौगोलिक अवस्था सुहाउँदो डिजाइन तयार पार्नु पर्छ । कम लागतमा भूकम्परहित घरका नक्सा सार्वजानिक गरिनुपर्दछ । जसले ग्रामीणस्तर जनतालाई सहज र कम भार पर्ने गरी मनोवैज्ञानिक रुपमा त्रासदी रहित वातावरणमा बस्न मद्दत पुगोस्

समस्या

सरकारले दिएको डिजाइनप्रति जनताको आकर्षण छैन । डिजाइन तयार भयो भनेर मख्ख परेर कानमा तेल हालेर बस्नु भन्दा सरकारले भवन आचार–संहिता उपलब्ध गराएको भए धरै घर निर्माण भै सक्थ्यो । यसो हुदाँ जनताले आफ्नै डिजाइनमा घर बनाउँथे । अझ मुख्य कुरा त डिजाइनबारे सबै जनता जानकार पनि छैनन् । जनतासँग छलपmल नभई तयार गरिएको हुँदा जनताले यसको अपनत्व पनि स्वीकार गर्न हिच्किचाएको पाएको छु ।

सरकारले घर बनाउन पनि नदिने, घरका लागि अनुदान पनि नदिने, अनि घरका नमूना पनि नआइपुगेपछि कस्तो घर बनाउने भनेर कुनै पनि राजनीतिक दल वा सरकारी प्रतिनिधिले यस्तो घर बनाउनु पर्छ पनि नभनेको अवस्थामा भवन निर्माण विभागका यस्ता घरका मोडेलले स्थानीय जनतालाई के असर पर्यो होला ? कौवालाई बेल पाकेमा हर्क न बिस्मत भने झै भएका छन् सरकारी घरका मोडेलहरु ।

समाधान

सरकारले स्थानीय जनता, स्थानीय विज्ञता, स्रोत र साधनको उपलब्धता, जनताको आर्थिक हैसियत र उसले दिने अनुदान, अनि भूकम्प प्रतिरोधी बनाउनु पर्ने घरका नमूनाका बिचमा तालमेल भएन । अझै भन्ने हो भने ती नमूना जनताको पनि नपुगेको अवस्थामा समस्या के हो र समाधान कसरी निकाल्ने भनी उसले पनि त सोच्नु पर्ने दायित्व हैन र ?

प्रस्तुत : ऋषि खतिवडा

वर्ष ४, अङक ६, जेठ २०७२ निर्माण बिम्ब राष्ट्रिय मासिकबाट साभार

प्रतिक्रिया

Related