बाग्मती किनारमा यस्तो बन्दैछ ‘सम्पदा मार्ग’ डिजाइनसहित

निर्माण सञ्चार, काठमाडौं । पुराना सम्पदा संरक्षण गरी पर्यटन प्रवर्द्धन तथा स्वच्छ र सुन्दर नमुना क्षेत्र बनाउने उद्देश्यका साथ काठमाडौं महानगरपालिकाले ‘सम्पदा मार्ग’ निर्माण कार्य थालेको छ ।

टेकुको बाग्मती–विष्णुमती दोभानदेखि थापाथली, कालमोचन घाटसम्म करिब साढे २ किलोमिटर सडकखण्डलाई ’सम्पदा मार्ग’ (हेरिटेज वाकवे) बनाउन थालेको हो । हिजोआज महानगरपालिकाले आउँदो सेप्टेम्बरमा सक्ने गरी ठेकेदार कम्पनी लुम्बिनी रमन कन्स्ट्रक्सनले ढुंगा ओच्छ्याउनेलगायत काम धमाधम भैरहेको छ ।

‘सम्पदा मार्ग’ क्षेत्रमा घाट व्यवस्थित गर्दै त्यस क्षेत्रमा अहिले भएका ग्यास डिपो, कार्पेट सोरुम, मोटरसाइकल वर्कसपजस्ता पसल पनि अन्यत्र सारिने योजन, ढल व्यवस्थित र सौर्य बत्तीको व्यवस्था गरिरहेको महानगरपालिकाले जनाएको छ ।

महानगरका अनुसार महानगरका अनुसार मार्गमा पैदल, साइकल र ह्विलचेयर गुडाउन मिल्ने बाटो तथा चौतारी, व्यायामस्थल, फुटबल मैदान बनाइने छ । मार्गमा सन् १८६८ मा तत्कालीन राणा प्रधानमन्त्री जंगबहादुर राणाले दुई पत्नी हेम र हिरण्यको नाममा बनाउन लगाएको मुगल शैलीको हेमहिरण्यजंग नारायण मन्दिर समेत पर्छ ।

जंगबहादुरले कोतपर्वको प्रायश्चित गर्न यो मन्दिर बनाएको र कोतपर्वमा चलाएका हतियार मन्दिरमै गाडिएको इतिहासकार बताउँछन् । इतिहासकारका अनुसार मार्गमा जंगबहादुरले बनाएका तीन वटा आश्रम पनि छन । दाजु जंगबहादुर यूरोप भ्रमणमा जाँदा राजकाज सम्हालेका बमबहादुरले बनाएको शिव मन्दिर, पचली भैरवको मन्दिर पनि मार्गमा पर्ने महानगरपालिकाले जनाएको छ ।

महानगरले एसियाली विकास बैंकको साझेदारीमा सञ्चालित काठमाडौंमा दीगो सहरी यातायात परियोजनाको सहायतामा सम्पदा मार्ग निर्माण थालेको हो । परामर्शदाता पुनममान प्रधानका अनुसार ७ करोड रुपैयाँको लागतमा पदमार्ग बन्न लागेको हो । सम्पदा संरक्षण र वातावरणमैत्री सम्पदा मार्ग निर्माणका लागि महानगरले टेकुदोभान–कालमोचनघाट संरक्षण तथा प्रर्वद्धन समिति पनि गठन गरेको छ ।

महानगरको अभियानमा सघाउन स्थानीय युवाले सामाजिक सञ्जाल फेसबुकमा ’बागमती ह्याङआउट’ पेज बनाइ संरक्षणसम्बन्धी सन्देश प्रवाह गर्दै आएका छन् । ऐतिहासिक सम्पदा संरक्षण, प्रर्वद्धन गर्न र राजधानीवासीलाई फूर्सदको समय बिताउन वातावरणमैत्री ठाउँ उपलब्ध गराउन सम्पदा मार्ग निर्माण गर्न थालेको महानगरले जनाएको छ।

मार्गले धार्मिक पर्यटक, सम्पदा पारखी, पर्यटक र ऐतिहासिक अध्ययनमा चासो राख्नेको ध्यान तान्ने महानगरले विश्वास गरेको छ । त्यसैगरी स्वच्छ र शान्त वातावरणमा बिहान बेलुकीको समय बिताउन चाहनेका लागि पनि मार्ग उत्तम विकल्प बन्ने महानगरले जनाएको छ ।

१४ असार, ०७३

प्रतिक्रिया

Related