कसरी बन्दै छ नेपालमा पेट्रोलियम पाइपलाइन ?

निर्माण सञ्चार, काठमाडौं । नेपालमा विद्युत उत्पादन वृद्धि र जनताको बढ्दो मागलाई सम्वोधन गर्न आर्थिक लगानीको स्रोत विविधीकरण क्षमता र संभाव्यता बिषयमा ध्यान दिन युरोपियनहरुले सुझाव दिइरहेको बेलामा पेट्रोलियम पाइपलाइन निर्माणको चर्चा चलेको छ ।

औपचारिक रूपमा ०५२ बाट सुरु गरिएको रक्सौल–अमलेखगन्ज पेट्रोलियमले त्यसको २१ वर्षपछि आएर यस परियोजनाले मूर्तरूप लिएको छ । यसै वर्षदेखि निर्माण सुरु गर्ने भएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी) ले २ अर्ब भारतीय रुपैयाँ (भारु) खर्चेर पाइपलाइन बनाइदिन लागेको हो ।

२४ अगस्ट, २०१४ मा आइओसी र निगमले संयुक्त रूपमा पाइपलाइन निर्माणको सम्भाव्यता अध्ययन सम्पन्न गरेका थिए । त्यसपछि ७ भदौ ०७२ मा दुई देशका विभागीय मन्त्रीले पाइपलाइन निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

रुटको छनोट

रक्सौल–अमलेखगन्ज रुटमा पाइपलाइन बिछ्याउनका लागि कुन रुट ठीक हुन्छ भनेर विकल्पका बारेमा परियोजनाले अध्ययन गरेका थियो । त्यसमध्ये अहिले ट्यांकरमा तेल ओसार्न प्रयोग गर्ने बाटोको छेवैछेउ ल्याउँदा सबैभन्दा राम्रो हुन्छ भन्ने निष्कर्षमा परियोजना पुगेको छ ।

यो बाटो ल्याउँदा बढीमा एक किलोमिटर जति जग्गा अधिग्रहण गर्नुपर्ने देखिन्छ । त्यो पनि सीमा क्षेत्रमा रहेको पुरानो रेलवे ट्रयाकको जग्गामा पर्छ । त्यहाँका बासिन्दाले झुपडी बनाउन लागेको खर्च दिए हामी सरिदिन्छौँ भएको छ । सीमा क्षेत्रको नजिकै नेपालपट्टि सिर्सिया खोला छ । त्यो खेलाको पानीमुनिको सतहदेखि १० मिटर गहिराइमा पाइपलाइन गाडेर ल्याइनेछ । पानीको सतह होइन, खोलाभित्र जमिन रहेको सतहदेखि १० मिटर तलबाट पाइप बिछ्याउने हो ।

पुलसँगै खोलामाथिबाट पाइप ल्याउनुभन्दा खोलाभित्रको पानीको सतह सकिएपछि जमिन देखिने भागदेखि गणना हुने गरी १० मिटर तलबाट गाडेर ल्याउँदा बढी सुरक्षित हुने पाइपलाइन परियोजनाका संयोजनक भानुभक्त खनालले बताए ।

सामग्रीको मापदण्ड चेक गरेर प्रयोग

पाइपलाइनमा प्रयोग हुने सबै सामग्री तोकिएको मापदण्डअनुसारको प्रयोग हुन्छ । पाइपलाइनमा प्रयोग हुने फलाम सामान्य किसिमको हुनेछैन । पेट्रोलियम पदार्थ ढुवानीका लागि फलामको जुन स्पेसिफिकेसन र मापदण्ड तोकिएको छ, त्यही प्रयोग हुन्छ ।

माटोमुनि गाड्ने पाइपलाई माटोले नखाने रङ प्रयोग गरिएको हुन्छ । जसबाट पाइपमा खिया पनि लाग्नेछैन । अन्तर्राष्ट्रिय अभ्यासमा रहेको स्पेसिफिकेसन अनुसारकै सबै सामान पाइपलाइनमा प्रयोग गर्ने गरिन्छ ।

निगमको अमलेखगन्ज डिपोमा ४ हजार १ सय किलोलिटर क्षमताको २ वटा ट्यांकी बनाउँदै छ । जहाँ पाइपलाइनबाट सीधै तेल खसालिनेछ । यो पनि मापदण्ड अनुसारकै बन्नेछ । मापदण्ड नपुगेका सामग्री प्रयोग हुँदैन ।

माटो परिक्षण गरेर पाइपलाइन

पाइपलाइन जमिनको सतहमा राखिने छ । तर, त्यो जडान गर्न लागेको पाइप कहीँ पनि जमिनमा देखिनेछैन । किनभने डेढदेखि २ मिटरसम्म तल गाडेर पाइप बिछ्याइँदै छ । यसबारे विस्तृत इन्जिनियरिङ हुन बाँकी छ, तर अहिलेको सहमतिअनुसार पाइप जमिनमुनि नै गाडिनेछ, देखिनेछैन ।

पाइपलाइन बिछ्याउने ठाउँमा माटोको परीक्षणसमेत गर्छौं । माटोको गुणस्तरअनुसार कस्तो पाइप बिछ्याउने भन्ने निक्र्यौल गर्न सजिलो हुन्छ । किनभने माटोको गुणस्तर सुहाउँदो पाइप बिछ्याइयो भने खिया लाग्दैन ।

कम्पनी छनोटको अन्तिम तयारी

आइओसी र निगम मिलेर संयुक्त रूपमा पाइपलाइनबारे अध्ययन सम्पन्न गरेको छ । र, सोही अध्ययन बमोजिम आइओसीले पाइप बिछ्याउन लागेको छ । त्यस भन्दा अघि विस्तृत अध्ययन आइओसीले गराउँदै छौँ ।

यसका लागि आइओसीले जुन महिनाको अन्तिमसम्म कुनै कम्पनी छनोट गरी ठेक्का दिइसक्ने जानकारी परियोजनलाई दिएको छ । यसका लागि टेन्डर आह्वान गरिसकेको छ । र, कम्पनी छनोट गरी विस्तृत इन्जिनियरिङ अध्ययनको जिम्मा दिने अन्तिम चरणमा छ ।

विस्तृत इन्जिनियरिङले कुन ठाउँमा कसरी पाइप बिछ्याउने भनेर अध्ययन हुनेछ । जिम्मेवार पाएको कम्पनीले नेपाल आएर सानोभन्दा सानो पक्षका बारे अध्ययन गरिनेछ ।काम गर्ने क्रममा सुरक्षा कसरी पाउने, मानवीय अवरोधलाई कसरी हल गर्नेजस्ता कुरालाई अध्ययनले समेट्नेछ ।

यस्तो हुन्छ पेट्रोलियम पाइपलाइन

पाइपलाइनको बाहिरी गोलाइ १०.७५ इन्च र भित्री गोलाइ १० इन्चदेखि केही बढी हुन सक्छ । यसर्थ पाइपलाइनको बाक्लोपना ०.७५ इन्चको हुनेछ । १ घन्टामा २ सय ९१ देखि ३ सय १० किलोलिटरसम्म इन्धन ढुवानी हुन्छ । एउटा पाइप १२ मिटरको हुन्छ ।

त्यसैले १२ मिटरको धेरै टुक्रा जोडेर लामो पाइपलाइन बनाउने हो । पाइपलाइन बनाउन प्रयोग हुने मेसिनले धेरै टुक्रा पाइप जोडेर एकैसाथ १ किलोमिटर लामो पाइपलाइन बिछ्याउँछ । पाइपबाट एउटा पेट्रोलियम पदार्थ आएर ट्यांकी भरिन लागेपछि डिपोमा जडान गरेको साइरन बज्छ ।

त्यो साइरन बजेपछि अर्को प्रकारको पेट्रोलियम ल्याउन थालिन्छ । डिपोमा जडान गरिएको मापदण्डअनुसारका सामग्रीले पेट्रोलियमको घनत्व, तापक्रम, शुद्धता सबै परीक्षण गर्छन् र हामीले पाइपबाट आएको तेल गुणस्तरीय छ भन्ने प्रमाणित नभएसम्म बजारमा पठाउँदैनौँ ।

मापदण्ड अनुसारको ल्याब

पाइपलाइन परियोजनाबाट निगमको आफ्नै अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको ल्याब पनि पाउँदै छौँ । यो निगमका लागि गर्वको विषय हो । हामीले ल्याबलाई उत्कृष्ट ढंगले सञ्चालन गर्न छुट्टै ल्याब विभाग नै गठन गरेर एउटा प्रमुख राख्छौँ र मातहत कर्मचारी हुनेछन् ।

पाइप बनेपछि नियमित रूपमा पेट्रोलियम पदार्थ ढुवानी गरिरहने सोच परियोजनाले बताएको छ । यसलाई सुरक्षा दिनका लागि दुवैतिरबाट सुरक्षाकर्मी परिचालन हुन्छन् ।पाइपलाइनको अमलेखगन्ज साइटमा नेपालका सुरक्षाकर्मी र आइओसीको साइटबाट भारतीय सुरक्षाकर्मीले एकसाथ पहरा दिनेछन् ।

पाइपमा कसैले केही गरेको छ कि छैन भन्ने विषयमा सुरक्षा हुन्छ । पाइपलाइन बनेपछि हामीले रक्सौल, बरौनी र बेतालपुरबाट ल्याउने तेल एकैठाउँबाट पाइपका माध्यमबाट ल्याइने छ ।

जसले गर्दा ८० प्रतिशतसम्म तेल पाइपबाट ल्याइन्छ । अहिले रक्सौल डिपोबाट ६०/७० प्रतिशत इन्धन आयात भइरहेको छ । पाइप बनेपछि ट्यांकर लिएर बरौनी र बेतालपुर गइरहन पर्दैन । त्यहाँको कोटा पाइपबाटै ल्याउने सोच बनाएको परियोजनाका संयोजक खनालले बताए ।

प्रतिक्रिया

Related