‘मनोजमणि सबैको छाता बन्ने ल्याकत राख्छ, बरु हार्छ तर नेविसंघ हार्न दिदैन’— अध्यक्षका प्रत्यासी आचार्य

निर्माण सञ्चार, यक्ष प्रश्न—सही जवाफ— मा यस्तो नेता खडा भएका छन्, द्वन्द्वकालीन समयमा आगो ओकेलेको त्यस्तो डरलाग्दो जिल्ला ‘रोल्पा’, जहाँ माओवादीले ‘काँग्रेस’ नाउँको चरो पायो भने पनि ‘मारेरै’ छाड्ने, सुराकी गरेरै भएपनि नमारी नछाड्ने अवस्था थियो ।

सम्झँदै आङ सिरिङ्ग हुने त्यस्तो विकराल अवस्थामा नेपाल विद्यार्थी संघको अजेय किल्ला बनेर उभिन सफल भयो— मनोजमणि आचार्य । लिवाङको बालकल्याण मावि, जुन विद्यालयबाटै जन्मेका थिए विप्लव, अनन्त, पासाङ, जयपुरी घर्ती र सोनाम जस्ता नामसुन्दै काल आयो कि भन्ने माओवादी लडाका, जुन विद्यालयमा कुनै जमानामा पढाउँथे माओवादी नेता कृष्णबहादुर महरा, त्यही स्कुलबाट नेविसंघ अर्थात् काँग्रेसको कार्यकर्ता बन्ने कुरा, अहँ कसैले पनि सपनामा पनि सोच्न सक्तैनथ्यो ।

तर सपना किन नि, विपना नै बनेर उभिएका थिए यी आचार्य ।

कक्षा ९ मा पढ्दै गर्दा ०४७ सालबाट नेविसंघको राजनीतिमा होमिदै जिल्ला कमिटी रोल्पाको ०५२ सालदेखि ०५७ सालसम्म अध्यक्ष, त्यसपछि केन्द्रीय समिति हुँदै ०६२ र ०६४ सम्ममा महामन्त्री र उपाध्यक्षको जिम्मेवारी बहन गरिसकेको त्यस्तो व्यक्ति, जसलाई नेविसंघभित्र मात्रै नभई अन्य विद्यार्थी संगठनले पनि शिष्ट, शालीन, वैचारिक र कुशल संगठकका रुपमा लिने गरेका छन् ।

अहिले झन्डै १० वर्ष पछि हुँदै गरेको महाधिवेशनमा अध्यक्ष पदका लागि आफ्नो उमेद्वारी घोषणा गरिसकेका आचार्य आफू हार्न तयार रहेको तर पटक पटक अधिवेशन आयोजना गर्दै, पार्टीले अनावश्यक हस्तक्षेप गर्दै नेविसंघलाई मैदानको भगुवा जस्तो बनाएको इतिहास यसपट दोहोरिन नदिने संकल्प रहेको बताउँछन् । आफूले अध्यक्ष जितेमा कस्तो नेविसंघ र कस्तो विद्यार्थी आन्दोलन हाँक्ने सोच छ त आचार्यको ? पढौं उनको विचार जस्ताको तस्तै—

० मनोजमणि आचार्यको उमेद्वारी कुन पदका लागि हो त ?

देशभरका प्रतिनिधि साथीहरुले अध्यक्ष पदमा विजयी गराउछौं, अब तपाईले मात्र सबैको साझा, सबल र सक्षम नेविसंघ बनाउन सक्नु हुनेछ भन्नु भएको छ । त्यसैले पनि बताउँछ मनोजमणि आचार्य कुन पदका लागि उमेद्वारी दिदै छ भनेर ।

किन तपाईले नै अध्यक्ष पदको जिम्मेवारी पाउनै पर्ने ?

यद्यपि यो कुरा मैले भन्ने त होइन । तैपनि यसका केही कारणहरु छन् । संगठनमा निरन्तर लगाव, संगठनको निष्ठा र चरित्रमा कुनै आघात नपारेको र नपार्ने अठोट रहेको, कठिनतम घडीमा समेत बरु ज्यान जाओस् आफ्नो विचारमा कसैसँग मोलाहिजा नगरी रोल्पाजस्तो विकट र द्वन्द्व प्रभावित जिल्लमा काँग्रेस निकट विद्यार्थी संघलाई स्थापित गरेरै छाडेको, र, आफ्नो शैक्षिक योग्यता, सांगठनिक क्षमता, परिचालन, अन्य विद्यार्थी संगठनहरुसँग समेत सहज सम्बन्ध विस्तार गरी नेविसंघको झन्डालाई माथि उठाउन सक्ने क्षमता म राख्छु भन्ने नै लाग्छ । किनकि गएका संयुक्त विद्यार्थी आन्दोलन, निरंकुशता विरोधी आन्दोलनमा समेत कति साथीहरु कता थिए, तर मनोजमणि राजाको निरंकुशताविरुद्ध विद्यार्थी साथीहरुकै माझमा रहिरहेको त सबैलाई थाहै छ ।

व्यक्तिगत लाभ भन्दा पनि संगठनको हितका लागि कतैपनि सम्झौता नगरी देशको शैक्षिक भविष्यका लागि लागिरहे । यस्तै यस्तै त होलान् कारण हैन र ?

तपाईका शैक्षिक इजेन्डा के के छन् त ?

पहिलो कुरा त नेपालको शिक्षा माफियाहरुको हातबाट मुक्त गराउनु पर्ने छ । त्यसमा पनि निजी र सामुदायिक क्षेत्र बिचको जुन डरलाग्दो खाडल छ, त्यसलाई समुचित नीति, विधि बनाएर राज्यलाई नै सम्बोधन गराउन लगाउनु छ ।

त्यस्तै विश्व बजारमा प्रतिश्पर्धा गर्न सक्ने र नेपाली विद्यार्थीको भाग्य भविष्यको भरोसायोग्य शिक्षा नीति, शैक्षिक पाठ्यक्रम, सुधार र समसामयिक परिमार्जन, आधुनिक पठनपाठनको शैलीमा विकास, दुर्गम जिल्लाहरुमा समेत सुगम र सहज शिक्षाको प्राप्तिको आन्दोलन गर्नु छ ।

अबको संघीय नेपालको देशभर संघीय विश्वविद्यालय मार्फत् धेरै भन्दा धेरै गरिब, निमुखाका सन्तानहरुलाई उच्च प्राविधिक दक्ष जनशक्ति बनाउने मेरो जुन सपना छ, त्यो अनुसार देशको विद्यार्थी आन्दोलनको अगुवाइ गर्नु छ ।

देश विदेशमा समेत रहेको नेपाली विद्यार्थी आन्दोलनको शाखलाई अझै सिर्जनात्मक बनाउँदै, जनमुखी र परिणामुखी बनाउँदै दिशहीन भए जस्तो बनेको नेपाली विद्यार्थी आन्दोलनलाई नयाँ ऊर्जा र गति प्रदान गर्नु छ ।

विद्यालय तहदेखि उच्च शिक्षासम्ममा रहेका अशैक्षिक गतिविधि, अराजकता, विकृति र विसंगतिपूर्ण खाडललाई पुर्दै, सामयिक क्यालेन्डर, वैज्ञानि परीक्षा प्रणाली, विद्यार्थी मूल्यांकनमो सही मापदण्ड समेत बसाल्नु पर्ने अवस्था छ ।

सँगै स्ववियुलाई समेत विद्यार्थी मैत्री बनाउँदै विद्यार्थी आकर्षणको केन्द्र बनाउनेबारे मैले जुन सपना देखेको छु, ती शैक्षिक, कार्यक्रमिक, सांगठनिक, नीतिगत, वैचारिक र आमूल परिवर्तनका लागि परिचालनको खाका मसँग छ ।

यो ने मेरा एजेन्डा हुन् ।

त्यसैले त म नेपाल विद्यार्थी संघलाई देशव्यापी रुपमा साझा छाताका रुपमा समेट्न सक्छु भन्ने गरेको छु ।

नेपाली विद्यार्थी आन्दोलनको अहिलेका मुख्य कार्यभार के हो र कसरी पुरा गर्ने सोच रहेको छ ?

नेपाली विद्यार्थी आन्दोलनको अबको मुख्य कार्यभार भनेकै, नेपालीहरुले करिब ७ दशक लामो संघर्ष गर्दै प्राप्त गरेका लोकतान्त्रि अधिकार, उपलब्धिहरुको संस्थागत विकास, संरक्षण गर्दै संविधानको कार्यान्वयनमा लाग्नु नै हो ।

त्यो सँगै नेपाली विद्यार्थीको शैक्षिक अधिकार, नेपालको राष्ट्रियताको संवद्र्धन र संरक्षण, जनताको दैनन्दिन महँगी भ्रष्टाचार नियन्त्रण, सुशासनका लागि युवा विद्यार्थी जागरण जस्ता अभियान साइड बाई साइड जाने छन् भन्ने मलाई लाग्छ ।

अधिवेशनमा जित्ने तयारी छ त ?

अवश्य । किनकि देशभरका प्रतिनिधिहरुले मनोजमणि संकटमा निष्ठालाई बचाउन सक्ने र सजिलोमा पनि संगठनलाई सबैका बिचमा पुराउन सक्ने भनी चिन्नु भएको छ, भोलिको उज्यालो नेविसंघको परिकल्पना गर्ने जोकोहीले, नेतादेखि विद्यार्थी साथीहरुले माया गर्ने पात्र सम्म बन्न सकेको छु कि जस्तो मलाई लागेको छ ।

 

...................

प्रस्तुति— नवराज खतिवडा 

२३ साउन, ०७३

प्रतिक्रिया

Related