चीनीया नाकामा भारत विरुद्ध नारा लगाउँदा ...

अनेरास्ववियु महासचिव नवीना लामाको अनुभवमा आधारित  

नेपाल सरकारको वैधानिक कानुन २००४ नेपालको पहिलो संविधान हो । त्यो संविधान कति पूर्ण, कति अपूर्ण, त्यतातिर नजाऔँ । आज ६५ वर्षपछि नेपाली जनताले संविधानसभाका लागि चुनेका जनप्रतिनिधिले संविधान बनाएका छन् । यसमा देशभित्रैका पनि कति असन्तुष्ट छन्, यो देशभित्रको कुरा भयो, तर हामीले संविधान बनाएको कुरा हाम्रो दक्षिणी छिमेकी देशलाई पनि मन परेको छैन, अहिलेको दुःखको कुरो यही छ । संविधान बनाउने क्रममा उसले सबैलाई समेटर संविधान जारी गर्नुपर्छ भनेर दबाब पनि दिइरहेको थियो, तर हाम्रा नेताले भारतले दिएको दबाबप्रति टेरपुच्छर लगाएनन् ।

हामी आफ्नो देशको संविधान आफैँ बनायौँ । संविधान जारीपछि हामीले विजयोत्सव मनायौँ । तर, त्यो मनाएको केही दिनपछि देश भारतको अघोषित नाकाबन्दीको मारमा प¥यो । त्यो हामीले अझै झेलिरहेका छौँ । नाकाबन्दी गरेपछि पेट्रोलियम खाद्य पदार्थ भारतबाट आउन छाड्यो । खाद्य पदार्थभन्दा पनि पेट्रोलियम पदार्थले हामीलाई धेरै नै समस्या भयो । नाकाबन्दी भएको एक–दुई दिनमा पेट्रोल डिजेल पाउन छाड्यो । जसले गर्दा नेपालमा दैनिकी जनजीवन कष्टकर बन्दै गयो ।

अनि, संविधान बनाएको खुसी हुनपर्नेमा केही दिनमा हामीले दुःखी हुनुप¥यो । भारतको नाकाबन्दीको विरोधमा हामी विद्यार्थी संगठनले नै पहिलेदेखि नै विरोध कार्यक्रम गर्दै आएको थियौँ । जब नाकाबन्दीले पेट्रोलियम पदार्थको हाकाकार भयो । यहाँको आवतजावतमा नै समस्या प¥यो । अनि हामीले नाकाबन्दी खोल्न भारतलाई दबाब दियौँ । भारतका विरुद्ध नाराजुलुस ग¥यौँ, भारतीय दूतावासअगाडि धर्ना दियौँ ।

देशको कूटनीतिक तबरबाट नै दबाब पनि भयो । अब दबाब होइन, केही विकल्प सोच्नुपर्छ भन्ने हाम्रो संगठनलाई लाग्यो । अनि अखिलको स्थायी कमिटी बैठक बसेर अब भारतले नाकाबन्दी नखोल्ने भयो । छलफलकै क्रममा भारतले नाकाबन्दी नखोले नजिक आइरहेको दशैँ–तिहार मानिस घर जान नपाउने र खाद्यान्नको पनि संकट हुने स्थिति आउने भयो ।

हामीमा राष्ट्रिय भावना जाग्यो । भारतीय हैकमवादविरुद्ध लड्नुपर्छ भन्ने सोच्याँैँ । उत्तरपट्टिको देशको तातोपानी नाकाबाट पेट्रोलियम खाद्यान्नजस्ता चिज ल्याउन भन्ने हामीलाई लागेको थियो । बाहिर कुरा पनि त्यही आयो । त्यसैले त्यसका लागि हामीले चीनको तातोपानीको कोदारी राजमार्ग खोल्नुपर्ने सोच आयो । अनि, हामीले अखिलको स्थायी कमिटी बैठक बसालेर तिब्बततर्फ अवरुद्ध कोदारी राजमार्ग खोल्ने कुरा भयो । जुन भूकम्पले गर्दा अवरुद्ध भएको थियो ।

१२ वैशाखको भूकम्पले कोदारी राजमार्ग अवरुद्ध भएको सबैलाई थाहा थियो । त्यो भूकम्पले अवरुद्ध राजमार्ग खोलेपछि चीनबाट पेट्रोलियम खाद्यान्न पदार्थ ल्याउन सकिन्छ जस्तो लाग्यो । र हामीले अवरुद्ध राजमार्ग सुचारु गराउने भन्ने निर्णय ग¥यो । निर्णय गरेको भोलिपल्ट हामीले व्यक्तिगत रूपमा आफैँले पाँच–पाँच सय रुपैयाँ उठाएर त्यो राजमार्ग खोल्ने निर्णयमा पुग्यौँ ।

ड्राइफुडको रुपमा चिउरा, चाउचाउ लैजाने कुरा भयो । पहिलो दिन १४ गते बिहीबार हामी आरआर क्याम्पसअगाडि ७ बजे जम्मा भयौँ । भारतीय विस्तारवादका विरुद्ध हाम्रो यो दोस्रो लडाइँ थियो । संविधान बनेको खुसियाली साट्ने बेला हामी सावेल, कुटो, कोदालो बोक्ने हामीमा इच्छा थिएन । तर अघोषित रूपमा गरिएको नाकाबन्दीले यहाँको जनजीवन कष्टकर बन्दै गएपछि हामीमा बाध्यता आइलाग्यो ।

अनि हाम्रो पार्टीका स्थायी कमिटी सदस्य शंकर पोखरेलले आरआर क्याम्पसबाट हामीलाई बिदाई गर्नुभयो । तीन दिनका लागि चामल, आलु, काउली, दाल, तेल, लिएर ‘हामी बाच्छौँ स्वाविभानमा अवरुद्ध तातोपानी नाका खुलाउन अखिलको अभियान’ नारा साथ हामी त्यसतर्फ लाग्यौँ । त्यो दिन हामी तातोपानी नजिक मितेरी पुल भन्ने ठाउँ, जुन भूकम्पले अवरुद्ध थियो, त्यो ठाउँमा साँझ ४ बजेतिर पुग्यौँ । हामी सय जनाजति थियाँै ।

पुगिसकेपछि हामीले त्यो दिन दुई घन्टा अवरुद्ध सडकको माटोढुंगा हटायौँ । त्यो दिन सबै साथीले बाटोमा रहेका ठूला ढुंगालाई मात्रै हटायौँ । पहिलो दिन भएकाले हामीलाई त्यहाँको सबै स्थिति थाहा थिएन । दुई घन्टा काम गरिसकेपछि अनि खाना–बस्नको प्रबन्ध गर्नतिर लाग्यौँ । तर, त्यहाँ पानी नपाइएकाले हामी त्यो दिन खाना पकाउन सकेनौँ । हामीसँग भएको चाउचाउ–चिउरा खाएर बस्यौँ । १० नम्बर भन्ने ठाउँमा एकजना पार्टीको मान्छेको घरमा टेन्ट गाडेर तीन ठाउँमा बासस्थल बनाएर बस्यौँ ।

दोस्रो दिन १५ गते शुक्रबार दोस्रो दिन हामीले ८ बजेबाट नै पहिरोबाट थुनिएको राजमार्ग पछ्याउने काम ग¥यो । हाम्रो संगठनका कोषाध्यक्ष रश्मी आचार्यले खाना पकाउने जिम्मेवारी लिनु भयो । हामी पनि एक्लै त्यो काम गर्न सकिँदैन भन्ने लागेको थियो । तर, हामीले हिम्मत गर्यौँ । हामीले त्यति ठूलो पहिरो पन्छाउँछौँ जस्तो लागेको थिएन । भारतले नाकाबन्दी गरेको अवस्थामा पनि राज्यले चाइनासम्म पुग्ने अवरुद्ध राजमार्ग खुलाउने प्रयास नगरेकाले हामी दबाब दिन त्यहाँ पुगेका थियौँ ।

त्यो दिन हामी २० जना मात्र थियौँ । अरू साथीहरू फर्किसकेका थिए । दोस्रो दिन हाम्रै आग्रहमा सडक डिभिजन कार्यालय सशस्त्र प्रहरी पनि आयो । हामी मिलेर काम ग¥यौँ । चारवटा डोजर पनि भएकाले हामीलाई पहिरो हटाउन सजिलो भयो । त्यो दिन दिउँसो १२ बजेसम्म काम गर्यौँ । काम गरेर खान बस्यौँ । पानी कम नभएर खाना त काँचै भएको रहेछ । त्यो दिन काँचै खाना खाइयो । अनि केही साथीहरू यति ठूलो राजमार्गको ढुंगामाटो पछ्याउन सकिन्न भनेर खाना खाएर काठमाडौं फर्किए ।

हामी भने आफूले जुन काम गर्नुपर्छ भनेर आएको हो, त्यो फत्ते गरेर मात्र जानुपर्छ भन्ने लाग्यो र खाना खाएर पुनः काममा जुटौँ । यता डोजरको तेल सकियो । अनि हामीसँग तेल थिएन । त्यसपछि तिब्बतबाट तेल ल्याएर फेरि डोजेरसँगै काम गर्यौँ । झन्डै सात घन्टा निरन्तर काम गरेपछि हामीले अवरुद्ध राजमार्ग खुलाउन सफल भयौँ । त्यो दिन केही गाडी चल्न थाले ।

पूर्ण रूपमा राजमार्ग खुलिसकेको थिएन । राजमार्ग सुचारु भएपछि मितेरी पुलमा गएर कोणसभा गर्दै ‘विस्तारवादीलाई गलाउँछौँ, नाकाबन्दी खुलाउँछौँ’ भन्दै नारा–जुसुल गर्यौँ । त्यतिबेला साँझको साढे ७ बजिसकेको थियो । हाम्रो नाराजुलुस सुनेर चाइनापुलिसहरू आए के हो भनेर । हाम्रा पुलिसले ‘राजमार्ग खुलेकोमा खुसियाली मनाएको’ बताए ।

मितेरी पुलमा गएर कोणसभा गर्दै ‘विस्तारवादीलाई गलाउँछौँ, नाकाबन्दी खुलाउँछौँ’ भन्दै नारा–जुसुल गर्यौँ 

अघिल्लो दिन राम्रोसँग बस्न नपाएकाले हामी आधा घन्टाको बाटो भएर लिपिङको चौकी डाँडामा बास बस्न आयौँ । त्यो गाउँ शेर्पाहरूको रहेछ, बास माग्यौँ । एक शेर्पा परिवारको घरमा बास पायौँ । हामीले आफूसँग भएको चामल र चिउरा दियौँ । उनीहरूले खाना पकाइदिए । तेस्रो दिन १६ गते शनिबार दोस्रो दिन काम गरेर आंशिक रुपमा राजमार्ग सुचारु भइसकेको थियो । तर, पूर्णरूपमा सञ्चालनमा आएको थिएन ।

तेस्रो दिन पनि काम गर्नुपर्छ भन्ने हामीलाई लाग्यो । म, रश्मीजी, आरती, आद्रता बहिनीले पूरै राजमार्गको अवरोध पछ्याएर मात्र काठमाडांै फर्किने कुरा गर्यौँ । त्यो दिन बिहानै काममा जाने भनेका थियौँ । तर, हामी जुन घरमा बसेका थियौँ, त्यो घरका दाइले मलाई आफ्नो बहिनी थुप्चासँग मितेरी साइनो लगाउने कुरा गर्नुभयो, मलाई उहाँको प्रस्ताव सुखद लाग्यो । शेर्पा जातिको परम्पराअनुसार बिहान हामीले मितेरी साइनो लगायौँ । त्यसपछि बिहान ९ बजेतिर हामी फेरि केही बाँकी ढुंगामाटो हटाउन लाग्यौँ । हामीले गाडीमा ढुंगा ओर्सादै राख्न थाल्यौँ ।

करिब पाँच घन्टा काम गरेपछि त्यो मुख्य बाटो पूर्ण रूपले खुल्यो । अघिल्लो दिन बाटो खुलेको खबर जताततै सबैले थाहा पाए । त्यो दिन करिब ३ बजेतिर पूर्णरूपमा बाटो खोलेपछि भारतीय विस्तारवादको नाकाबन्दीको विकल्पका रूपमा चाइनाको नाका खोल्न सफल भएजस्तो हामीलाई लाग्यो । हामी ३ बजेतिर नाका खुलेपछि काठमाडौं फर्कियौँ ।

प्रस्तुती : शरद शर्मा

प्रतिक्रिया

Related