प्रदीप ज्ञवालीले देखाए— माओवादी—काँग्रेस गठबन्धनका ५ खतरा ! खिलराज रेग्मी प्रकरण दोहोरिन सक्ने !

निर्माण सञ्चार, काठमाडौं एमालेलाई माओवादीले ‘सुतेका बेलामा छुरा हानेको’ बताउँदै आएका एमाले सचिव तथा राजनीतिक विश्लेषक प्रदीप ज्ञवालीले माओवादी—काँग्रेस गठबन्धनलाई देशको आवश्यकता, विश्व राजनीतिक परिदृश्य र छिमेकी चासोका आधारमा अनुपयुक्त र अवसरवादी भनी टिप्पणी गरेका छन् ।

सहयात्री दलसँग सामान्य छलफल नगरी कुनै समय प्रमुख शत्रु घोषणा गरेको नेपाली कांग्रेससँग गठबन्धन गर्ने माओवादी मक्सद भोलिका दिनमा व्यवहारले पुष्टि गर्ने बताउँदै उसलाई राजनीतिक बेइमान पनि भनेका छन् । काठमाडौंमा एक अन्तक्र्रियामा बोल्दै नेता ज्ञवालीले वर्तमान ‘माका’ गठबन्धन मूलतः देशका लागि निकट भविष्यमै निम्न पाँच खतरा गर्ने दिशातिर अघि बढिरहेको बताए ।

मुलुकका लागि ती ५ खतरा के हुन् त ? भन्ने प्रश्नमा ज्ञवालीले राखेका धारणा उनकै शब्दमा—

पहिलो— संविधान कार्यान्वयन नगर्न चुनावै नगर्ने खतरा

२०७४ माघ ७ गतेभित्र तीनवटा निर्वाचन सम्पन्न गरेर नयाँ निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नुपर्ने गहन जिम्मेवारी हाम्रो काँधमा छ ।

भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग ओलीले शीर ठाडो पारेर हात मिलाएको र प्रधानमन्त्री निर्वाचित भएपछि प्रचण्डले सपथ खाने क्रममा राष्ट्रपति भवन शीलत निवासमा भारतीय राजदूतसँग झुकेर हात मिलाएको प्रसङ्गले पनि निकै अर्थ राखेको छ

हामीले जारी गरेको संविधानको भविष्य त्यहाँ छ । तर, अहिले जसले जारी संविधानलाई मन पराएका छैनन्, उनीहरुले त्यो समय–सीमालाई टार्न खोजिरहेका छन् ।

०७४ माघ त आओस्, त्यो बेलासम्ममा संविधान त नबनोस् भन्ने अनि त्यसलाई प्वाल पार्न सुरु गर्छौं भन्दै केही शक्तिलाई खुसी पार्ने योजनामा उहाँहरु लाग्नुभएको छ ।

चैत महिना भनेको प्रचण्डजी जाने र कांग्रेस सभापति शेरबहादुर देउवाजी आउने बेला हो । सत्ताको चरम लेनदेन हुने त्यो बेला स्थानीय निकाय निर्वाचन होला भनेर कुनै पनि मूर्खले पत्याउन सक्दैन

सबैलाई थाहा भएकै कुरा हो, पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिरमा स्थानीय निकाय, वैशाखमा प्रदेश र ०७४ मंसिरमा प्रतिनिधिसभाको निर्वाचन गर्ने कार्यसूची नै सार्वजनिक गर्नुभएको थियो । त्यो कार्यसूचीले पूर्णता पाउने वित्तिकै संविधान पूर्ण कार्यान्वयनमा जान्थ्यो ।

कसरी गर्छन् यिनले चुनाव ?

तर कांग्रेस–माओवादी गठबन्धन बन्नेवित्तिकै माओवादी अध्यक्ष पुष्पकल दाहालकै निवासमा बसेर त्यो कार्यसूची अदलवदल गर्ने काम भएको छ । मंसिरमा गर्ने भनिएको स्थानीय तहको निर्वाचन चैतमा गर्ने भनिएको छ ।

अहिले उहाँहरुले गरेको सम्झौता अनुसार चैत महिना भनेको प्रचण्डजी जाने र कांग्रेस सभापति शेरबहादुर देउवाजी आउने बेला हो । सत्ताको चरम लेनदेन हुने त्यो बेला स्थानीय निकाय निर्वाचन होला भनेर कुनै पनि मूर्खले पत्याउन सक्दैन ।

उहाँहरुले अहिलेदेखि नै चैतमा स्थानीय निकायको निर्वाचन हुन नदिने चलखेल सुरु गरिसक्नु भएको छ । चैतमा स्थानीय तहको निर्वाचन नभएपछि प्रदेशको चुनाव पनि त्यत्तिकै नहुने भै हाल्यो । तीन तहको निर्वाचन एकै पटक गर्ने भन्ने कुरा झन् मूर्खता बाहेक केही पनि हुँदैन ।

खिलराज रेग्मी—लोकमान सिंहलाई देश सुम्पने खतरा

हाँहरुको यो गतिविधिलाई हेर्दा ०७४ माघसम्ममा कुनै पनि निर्वाचन नगर्ने र अन्ततः विगतमा जस्तै खिलराज रेग्मी वा लोकमानसिंह कार्कीहरु जस्ताका हातमा सत्ता सुम्पिने खतरा देखिन्छ । निर्वाचन नगर्ने र संविधान कार्यान्वयन हुन नदिने पहिलो प्रयत्न उहाँहरुबाट हुनेछ ।

त्यसमा हामी सजक हुनुपर्छ ।

दोस्रो— विदेशी हस्तक्षेपको खतरा

नेकपा (एमाले) नेतृत्वको सरकारले राष्ट्रिय माथि उठाएको छ । सामाजिक सञ्जालहरुमा पनि हामीले त्यसको अभिव्यक्ति देखेका छौँ । हाम्रा अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री रहुन्जेल कुनै पनि विदेशीसँग झुक्नुभएन ।

धेरैले त्यो स्वाभिमानसँग जोडेर नेपाली हुनुमा गर्व गरे । अहिले त्यसमा प्वाल पार्ने काम भएको छ । यी दृष्यहरु निकै सांकेतिक छन् ।

ओलीको शानदार शिर र प्रचण्डको झुकेको शिरको अर्थ

भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग ओलीले शीर ठाडो पारेर हात मिलाएको र प्रधानमन्त्री निर्वाचित भएपछि प्रचण्डले सपथ खाने क्रममा राष्ट्रपति भवन शीलत निवासमा भारतीय राजदूतसँग झुकेर हात मिलाएको प्रसङ्गले पनि निकै अर्थ राखेको छ ।

नेपालमा प्रधानमन्त्री फेरिदा छिमेकी देशमा दिपावली मनाएको प्रसङ्ग पनि त्यो घटनासँग मिल्दोजुल्दो देखिन्छ ।

उपेन्द्रजी, महन्थजी र राजेन्द्रजीहरुलाई प्रश्न गर्न चाहन्छु– उधारो तीन बुँदे सहमतिमै जानु थियो भने तपाईंहरुले तराई–मधेसमा कथित आन्दोलनका नाममा ५७ जना छोराछोरी किन मार्नुभयो ?

केपी शर्मा ओली प्रधानमन्त्रीबाट बाहिरिएपछि भारतीय सञ्चारमाध्ययममा लेखिएका सम्पादकीय र समाचारहरुबाट धेरै कुरा बुझ्न सकिन्छ । यसले पनि के कुराको पुष्टि हुन्छ भने यो गठबन्धनले विदेशीहरुको नेपालमाथिको ठाडो हस्तक्षेपलाई टुलुटुलु हेर्नेछ ।

हामी यो कुरामा सचेत हुन जरुरी छ ।

तेस्रो— कूटनीतिक असन्तुलनको खतरा

नेकपा (एमाले) दुबै छिमेकी देशसँग सन्तुलित सम्बन्ध कायम राख्न चाहन्छ । हामीले चीनसँग पनि भारतकै जस्तो व्यापार विस्तार गर्ने थालनी गरेका थियौँ ।

हामीले दुबै देशसँग सन्तुलित सम्वन्ध राख्ने प्रयासहरु जारी राख्दै आएका थियौँ । त्यसैबेला हठात् सरकार ढाल्ने खेल भयो । प्रधानमन्त्री प्रचण्डजीले व्यवस्थापिका–संसद्मा उभिएर ‘छिमेकसँगको सम्बन्ध असन्तुलित भएको’ भन्दै आलोचना गर्नुभयो ।

छिमेकीसँगको परनिर्भरता नै हो सन्तुलन ?

उहाँको भाषामा सन्तुलित भनेको के हो ? सधैँभरी भारतको निर्भरता र उसैसँग आशा गर्नुपर्ने अवस्थालाई उहाँहरुले सन्तुलित भन्नुभएको हो भने हामीले बुझ्न जरुरी छ ।

उहाँहरुले कस्तो सन्तुलत खोज्नु भएको छ ? हाम्रो राष्ट्रवाद भारत वा चीन पक्षको होइन । नेपालले भारत वा चीनको प्रभाव बढाउन खोजेको होइन । हामीले नेपालको प्रभाव बढाउन खोजेका हौँ ।

हामीले दुबै देशको सहयोग खोजेको हो, निर्भरता होइन । भारतसँग दुश्मनी हुनुपर्ने कुनै कारण छैन ।

अझ भारतसँग नेपालको भाषा–संस्कृतिका हिसावले चीनसँग भन्दा प्रगाढ सम्बन्ध रहिआएको छ ।

केजरीवाला र विहारलाई विश्वासमा लिन नसक्नेले छिमेकी हेप्न मिल्छ ?

हाम्रो असहमति दिल्लीको केजरीवाल सरकारलाई ‘डिक्टेट’ गर्न नसक्ने, विहारको नितिशकुमार सरकारलाई त्यति भन्न नसक्ने तर नेपालको हरेक परिवर्तनमा ‘डिक्टेट’ गर्ने भारतको नीति ठीक भएन भन्ने मात्र हो ।

हामी दुबै देशसँग सन्तुलित सम्बन्ध कायम राख्न चाहन्थ्यौँ । उहाँहरु त्यो भत्काउने प्रयन्तमा हुनुहुन्छ । यसबाट पनि हामी सचेत हुनुपर्छ ।

चौथो— समृद्धिको सपनाको हत्या गरिने खतरा

यसबीचमा हामीले समृद्धिका कल्पना, योजना र सपनाहरु बुनेका थियौँ । सामाजिक सञ्जालमार्फत पनि मिनी जनमत संग्रह भएको छ । त्यहाँ हजारौँ युवाहरुले सरकार हुनुको अनुभूति भयो भनेर ओली सरकारको प्रशंसा गरेका छन् ।

हजारौँ–लाखौँ नागरिकहरुमा पलाएको समृद्धिको सपना अहिले तुहिएको छ । यो सरकारमा सिर्जनात्मक सोच र जनताप्रति विश्वास छैन ।

विकासको हैन तामाकोसीमा सेयर माग्न आए प्रचण्ड !

तामाकोशीको १० प्रतिशत सेयर हाम्रा लडाकाका नाममा देऊ भनेर झगडा गर्ने यो सरकारका प्रधानमन्त्रीले समृृद्धिको सपनालाई साकार बनाउने कल्पना गर्न सकिन्न ।

माओवादीले समर्थन फिर्ता लिएपछि हामी अल्पमतमा पर्छौ भन्ने निश्चित थियो । त्यसैबेला खुरुक्क राजीनामा दिएर पनि हिड्न सक्थ्यौँ । तर, हामीले त्यसो गरेनौँ ।

यी सारा कुरा नेपाली जनताले थाहा पाउनुपर्छ भनेर नै हामीले प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव सामना गर्न सल्लाह दिएका हौँ ।

प्रश्न - समृद्धिको सपना के हुन्छ ?

देश–विदेशका सञ्चारमाध्यम, माननीय सांसदहरु सबैलाई साक्षी राखेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रश्न गर्नुभएको छ– ‘फाष्ट ट्रयाक के हुन्छ ? हुलाकी राजमार्ग के हुन्छ ? रेल के हुन्छ ? बृद्धभत्ता के हुन्छ ?’

अब यी सबै कुरामा हरेक नेपाली जनताले खवरदारी गर्नुपर्छ ।

पाँचौँ— मधेसमा फेरि आगो बाल्ने खतरा

जातीय र क्षेत्रीयको आन्दोलन चरम बनेको थियो । यो बीचमा हामीले सिटामोल खुवाएर साम्य पारेका थियौँ । कथित मधेस आन्दोलन समाप्त भएको थियो । हुन त यसले एउटा राम्रो पनि गरेको छ ।

संविधान पुर्नलेखन नगरेसम्म मान्दैनौँ भन्नेहरु अहिले चिसै पानीले नुहाएर धार २९८ अनुसार सरकारमा जान खुट्टा उचालेर बसेका छन् । मधेसलाई स्वतन्त्र बनाउँछौँ भन्नेहरु पनि अहिले सरकारमा जान खुट्टा उचालिरहेका छन् ।

तर, उहाँहरुले नै मधेस स्वतन्त्र बनाउनुपर्छ, मधेसमा दुई प्रदेश चाहिन्छ भन्ने नाममा फेरि एक पटक मधेसमा आगो बाल्न कोसिस गर्नुहुनेछ ।

उधारो सहमति नगर्नेहरुले अहिले हाताहाती के पाए ? किन मारे मधेसका छोराछारी ?

त्यसले देशलाई फेरि एक पटक समस्यामा लैजाने छ । म उपेन्द्रजी, महन्थजी र राजेन्द्रजीहरुलाई प्रश्न गर्न चाहन्छु– उधारो तीन बुँदे सहमतिमै जानु थियो भने तपाईंहरुले तराई–मधेसमा कथित आन्दोलनका नाममा ५७ जना छोराछोरी किन मार्नुभयो ?

 

२९ साउन, ०७३

प्रतिक्रिया

Related