कवि विनोद विक्रम केसीको वर्तमान बोल्ने कविता— ‘तपाईं सीसी टीभीको निगरानीमा हुनुहुन्छ’

निर्माण सञ्चार, सिर्जना विनोद विक्रम केसी, वर्तमान पुस्ताका व्यङ्ग्य वाण चलाउने युवा कविहरुमा शक्तिशाली कवि हुन् । विकृतिको उत्कर्षमाथि निकृष्ट समर्थन गर्नेहरुको यहाँ कमी त छैन । तर, त्यति नै उत्कृष्ट सर्जन गर्ने कलम वीरहरु पनि निकै कम पाइन्छन् । तपाई चोरी, ठगी, बलात्कार यावत् अपराध कर्म गर्दै गर्दै जानुहुन्छ, र आफूले गरेका सबै कुकृत्यलाई ‘धर्म’का रुपमा भजाउन पनि पछि पर्नु हुन्न । त्यस्तो फुक्काफाल स्वतन्त्रता भित्र पनि तपाई सिसिटिभीको निगरानीमा हुनुहुन्छ भन्ने चै अवश्य ख्याल गर्नु होला... बाँकी आशय तपाई आफैं बुझ्नु हुनेछ, कविता पढेपछि...!

कविता—

फुक्काफाल हिँडिरहेछन् चोरहरू खुलेआम घुमिरहेछन् हत्याराहरू

पुलिसचौकीकै छायामुन्तिर निष्फिक्री चुरोट फुकिरहेछन् लुटेराहरू

निर्धक्क सिकारमा निस्किरहेछन् बलात्कारीहरू

हाकाहाकी हप्ता उठाइरहेछन् गुन्डाहरू

अलमस्त घूस खाइरहेछन् कर्मचारीहरू

र, यता

तपाईं सीसी टीभीको निगरानीमा हुनुहुन्छ

तपाईं अस्पतालमा बिरामी कुरिरहनुभएको छ

खाडीबाट नआइपुगेको, सद्गत गर्न बाँकी आफन्तको लास

कुरिरहनुभएको छ

चढ्न नसकेर

चारवटा बस छोडेपछि पाँचौं बस कुरिरहनुभएको छ

बजेट भाषणसँगै महँगी घट्ने

असम्भव शुभ खबर कुरिरहनुभएको छ

कहिल्यै नआउने

सुदिन कुरिरहनुभएको छ

 

यत्तिकै कसैलाई कुरिरहनुभएको छ

यति मामुली गतिविधिमा संलग्न हुनुहुन्छ

र पनि तपाईं सीसी टीभीको निगरानीमा हुनुहुन्छ

मानौं, अदना मानव बस्तीमा

बम खसाल्न ठिक्क परेर बसेको बाराक ओबामा हो तपाईं

मानौं, बीच बजारमा आत्मघाती विस्फोट गर्नुअघि

अन्तिम मन्त्र जपिरहेको

आतंककारी हो तपाईं

 

यसरी चौबीसै घन्टा नियालिरहनुपर्ने कसलाई भय छ तपाईंबाट ?

कुन मितिमा कसको पिठ्यूँमा छुरा घोपेर भाग्नुभयो तपाईं ?

कसको गाँस खोस्नुभयो ?

कसको बास उखेल्नुभयो ?

 

सृष्टिको प्रथम घडीदेखि आकाशले

नियालिरहेकै त छ तपाईंको निरपराध जिन्दगीलाई

कसले दियो अधिकार यो एकआँखे गोलटिनलाई

जो तपाईंका समस्त निरीहता निगरानी गरिबस्छ ?

किन कोही अभिलेख राखिबस्छ तपाईंका दुःखहरूको ?

किन यसरी गिज्याइन्छ तपाईंलाई सर्वदा ?

 

सीसी टीभीलाई तपाईंको पर्वाह छैन

तपाईंको सुरक्षा या असुरक्षा उसको सरोकार होइन

ऊ त डराउँछ, एलिटहरूको भोजनमा बाधा पर्ला कि भनेर

चिन्ता गर्छ, ठूला मान्छेहरूको सुबिस्ता बिथोलिएला कि भनेर

र, घोप्टे नजरले ताकिबस्छ तपाईंलाई

 

प्रधानमन्त्री, मन्त्री, सांसद, नेता, ठूलाठूला अरूहरू

कदम–कदम

शंकास्पद गतिविधिमा संलग्न छन्

र, यता तपाईंचाहिँ सीसी टीभीको निगरानीमा हुनुहुन्छ

 

मिठाई सजाइएको सिसाको सोकेसजस्तो बनाइएको छ यो पृथ्वीलाई

र, तपाईं अबोध बालकजसरी

फुटपाथमा उभिएर हेरिरहनुभएको छ

यसै कुनै घातक कर्म गर्नुभएजस्तो

तपाईं सीसी टीभीको निगरानीमा हुनुहुन्छ ।

 

 

........

११ भदौ, ०७३

प्रतिक्रिया

Related