चीनमा रहेको एसियन पूर्वाधार बैंकले ऋणपत्र जारी गर्दै

चुक्ता पुँजी १८ अर्ब ६० करोड अमेरिकी डलर रहेको यो बैंकका नेपालसहित ८४ देश सदस्य छन्
निर्माण सञ्चार, एजेन्सी । एसियन पूर्वाधार लगानी बैंक (एआइआइबी) ले आफ्नो स्थापना पछि पहिलो पटक ‘बन्ड’ (ऋणपत्र) जारी गर्ने भएको छ ।

एसियाली महाद्वीपको अर्थतन्त्रलाई टेवा पुर्याउने उद्देश्य लिएर स्थापना भएको यो बैंकले सन् २०१८ को जुलाईसम्ममा ‘डलर डिनोमिनेटेड’ नाममा बन्ड जारी गर्ने भएको हो ।

चीनको बेइजिङमा आफ्नो केन्द्रीय कार्यालय रहेको यो बैंकको सन् २०१६ जनवरीमा स्थापना भएको हो । स्थापना भएयता यसले पहिलो पटक ऋणपत्र जारी गर्ने भएको हो ।

चीनकै अग्रसरतामा स्थापना भएको यो बैंकले यही महिनाको मध्यतिर बोन्ड जारी गर्ने एआइआइबीले जनाएको छ ।

दिगो पूर्वाधार विकासमा लगानी गरेर हरेक देशको आर्थिक व्यवस्थामा सुधार ल्याउने बैंकको योजना छ । एआइआइबीको गभर्नर बोर्डले सन् २०१७ मा स्वीकृत गरेको प्रक्रियाअनुसार काम हुने उल्लेख गरेको छ ।

बेइजिङस्थित बहुपक्षीय विकास बैंकका कोषाध्यक्ष सोरेन एल्बेकले भनेका छन्, ‘यसमा ऋण जारी र फिर्ता दिने दस्ताबेज पनि समेटिएको छ ।’

एआइआइबीमा आजसम्म नेपालसहित ८४ देश सदस्य रहेका छन् ।

आजसम्म चीन, भारत, बंगलादेश, पाकिस्तान, ओमनलगायत देशमा झन्डै २४ आयोजनाका लागि लगानी स्वीकृत गरिसकेको यो बैंकले निजी तथा सरकारीस्तरमा खुलेका कम्पनीमा प्रत्यक्ष स्वपुँजी लगानी गर्न सक्ने बताएको छ ।

बैंकको सन् २०१७, सेप्टेम्बरसम्म चुक्ता पुँजी करिब १८ अर्ब ६० करोड अमेरिकी डलर पुगेको थियो ।

 

 

...

सोमबार, २४ पुस, ०७४

 

प्रतिक्रिया

Related