छाउगोठमा एक युवतीको फेरि गयो ज्यान, किन रोकिदैन छाउपढी, अझै कतिलाई मार्ने हो यसले ?

निर्माण सञ्चार, अछाम । महिनावरी भएर छाउगोठमा बसेको अवस्थामा अछामको तुर्माखाँद गाउँपालिका(३ भैरवस्थानकी एक युवतीको छाउगोठमै मृत्यु भएको छ ।

२२ वर्षीया गौरी बुढाको गए राति छाउगोठमा मृत्यु भएको हो ।

महिनावारी पछि छाउ गोठमा बस्ने विकृतपूर्ण संस्कृति भएको सुदूरपश्चिममा छाउपढी प्रथाबाटै सयौं युवतीको ज्यान जाने गरेको छ ।

सन् २००७ देखि अहिलेसम्म अछाममा छाउगोठमा १२ महिला तथा किशोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनायो ।

राति खाना खएर गोठमा सुत्न गएकी गौरी बिहान अबेरसम्म नउठे पछि परिवारले खबर गर्दा उनी मृत अवस्थामा फेला परेकी मृतकका ससुरा डम्बर बुढाले बताए ।

वीरेन्द्र बुढाकी श्रीमती गौरी बुढाको छाउपडी गोठमा एक्लै सुतिरहेको अवस्थामा मृत्यु भएको परिवारले जानकारी दिएको हो । अत्यधिक चिसोका कारण उनको ज्यान गएको हुन सक्ने अनुमान गरिएको छ ।

महिनावारी भएको अवस्थामा पनि छाउगोठमा एक्लै सुत्नु पर्ने यो विकृति सुदूरपश्चिमले छाड्न सकेको छैन ।

छाउप्रथा उन्मूलनबारे स्थानीय नेता तथा वडा अध्यक्ष पदमबहादुर बुढालाई सोधिएको प्रश्नमा आफूहरुले जनचेतना जगाए पनि मानिसहरुले यो ढर्रा छोड्न नसकेको बताए ।

छाउपडी गोठमा युवतीको मृत्यु भएको खबर पाएपछि प्रहरीको टोली घटनास्थलमा पुगेको अछाम प्रहरी प्रमुख डीएसपी दधिराम न्यौपानेले बताए ।

डीएसपी न्यौपानेका अनुसार महिनावारी भएको चौथो दिन राति उनको मृत्यु भएको हो । उनको मृत्युबारे थप विवरण आउन बाँकी छ ।

 

___

अछामबाट गोविन्द कुँवरको रिपोर्ट

...

सोमबार, २४ पुस, ०७४

 

प्रतिक्रिया

Related