भारतीय कम्पनीले अलपत्र पारेको कानपोखरी–रंगेली सडक निर्माणको जिम्मा नेपाली कम्पनीलाई

लाखौँका मूल्यका सवारी साधन र उपकरण कवाडीमा
निर्माण सञ्चार, काठमाडौँ । कानपोखरी–रंगेली सडक निर्माण कार्यबाट भारतीय कम्पनी भागेर सम्पर्कविहीन भएपछि उक्त निर्माण कार्य जिम्मा नेपाली कम्पनीलाई दिइएको हो ।

उक्त सडक निर्माणको जिम्मा लामा डाँफे दी कञ्चनजंघा कन्सट्रक्सन प्रालिलाई अपूरो सडकको काम सम्पन्न गर्ने जिम्मा दिइएको हो ।

चार वर्षपछि नेपाली कम्पनीले कालोपत्रे थालेको छ । हुलाकी सडक आयोजनाका क्षेत्रीय योजना प्रमुख शैलेन्द्रमणि त्रिपाठीका अनुसार ५ असार ०७६ मा कालोपत्रे गरिएको सडक सरकारलाई जिम्मा लगाउनु पर्ने सम्झौता छ ।

कानेपोखरी–रंगेली, चारआली–चन्द्रगढी–केचना र कल्याणपुर–बर्सायन–सुवर्णपट्टी सडक निर्माणको जिम्मा भारतीय कम्पनी जीभीआरले पाएको थियो । यी तीन आयोजना मध्ये कानेपोखरी–रंगेली सडकको काम बढी गरेको पाइएको छ ।

सरकारले ६ वर्षअघि उक्त सडकमा पर्ने निजी जग्गा अधिग्रहणवापत पाँच करोड ६ लाख ५६ हजार रूपियाँ मुआब्जा वितरण गरेको थियो । तर, भारतीय कम्पनीको लापरवाहीका कारण निर्माण अलपत्र परेको छ ।

लाखौंका उपकरण कवाडीमा

सडक निर्माणका लागि भित्र्याइएका लाखौं मूल्यका उपकरण बेवारिसे बनेका छन् । ती उपकरणको रेखदेखको जिम्मा पाएका पञ्चबहादुर तामाङले पाँच वर्षदेखि तलबसमेत पाएको छैन ।

उनलाई मासिक १० हजार तलवको निर्धारण गिरिएको थियो । यस्तै, उनको घर प्रयोग गरेवापत मासिक १० हजार र जग्गाको वार्षिक ७८ हजार रूपियाँ दिने बताइएको थियो ।

उनले अहिलेसम्म एक रूपियाँ पनि पाएका छैनन् । भारतीय कम्पनीले बेवारिसे छाडेका सवारी साधन र उपकरणले उनको जग्गा ओगटेका छन् । उनले अहिलेसम्म न त तलब पाएका छन् न त घरजग्गाको भाडा नै ।

उनी भन्छन्, ‘आधिकारीक मान्छे को हो केही थाहा छैन् । कहाँ गएर कोसँग माग्ने केही थाहा छैन । सम्पर्कमा कोही आउँदैनन् ।’

उनको जग्गामा चार वटा ट्रिपर, पाँच वटा ट्रयाक्टर, एउटा स्काभेटरलगायत उपकरण राखिएको छ । ती सबै कवाडीसरह बनेका छन् ।

मार्च २०११ मा निर्माण शुरु गरेर अगस्ट २०१३ मा सडक सरकारलाई जिम्मा लगाउने सम्झौता भारतीय कम्पनीसँग भएको थियो । तर, १८ महिनापछि काम छाडेर उक्त कम्पनी भाग्यो ।

भारतीय कम्पनीका अधिकारीहरु आफ्ना सामान लिन पनि नआएको स्थानीय जनकबहादुर तामाङ बताए ।

...

मंगलबार, २५ पुस ०७४

प्रतिक्रिया

Related