किन उठ्न सकेन अझै ७९ अर्ब कर ? यी हुन् कर नतिर्ने कम्पनी !

सञ्चालकको नामसहित ४४ वटा व्यवसायिक फर्मको नाम सार्वजनिक, हालसम्म ५ वटा फर्म मात्रै सम्पर्कमा
निर्माण सञ्चार, काठमाडौँ | सरकारले पटक–पटक ताकेता गरे पनि अझै ७९ अर्ब कर उठ्न सकेको छैन । करदाताले समयमै कर नर्तिदा यति ठूलो रकम बराबरको कर बक्यौता देखिएको छ ।

आन्तिरिक राजस्व विभागअन्तर्गको ठूला करदाताको कार्यालले चालू आर्थिक वर्षको मंसिरसम्म मूल्य अभिवृद्धि कर (भ्याट)तर्फ ९४ करोड ७७ लाख रुपियाँ तथा अन्तःशुल्क र आयकरतर्फ ७८ अर्ब १५ करोड रुपियाँ बक्यौता उठ्न बाँकी रहेको जनकारी दिएको छ ।

सरकारी ढुकुटीमा रकम अभाव भएर चालू खर्चसमेत धान्न सरकारलाई हम्मे परिरहेका बेला बक्यौता राजस्व उठाउन सकिएको छैन ।

कार्यालयले मूल्य अभिवृद्धि कर र आयकर तिर्न अटेर गरको भन्दै तीन चरणमा ४४ वटा व्यावसायिक फर्म र तिनका सञ्चालकको नाम सार्वजनिक गरिसकेको छ ।

जसमध्ये ५ सयभन्दा बढी फर्महरू अदालती प्रक्रियामा गएको कार्यालयले बताएको छ ।

उठाउन बाँकी रहेको बक्यौता रकममध्ये ६५ अर्ब रुपियाँ एनसेलकै रहेको ठूला करदाता कार्यालयका प्रमुख कर अधिकृत अर्जुनप्रसाद भट्टराईले बताए ।

‘आयकर र अन्तशुल्कतर्फ मंसिरसम्मको तथ्यांकअनुसार ६५ अर्ब टेलियाकै हो’, उनले भने ‘त्यसबाहेक अरु रकम अन्य कम्पनीको हो ।’

यसअघि कार्यलयको ३ पटकसम्म कर तिर्ने विषयमा १५ दिनको समयसीमा दिएर सार्वजनिक रूपमा सूचना प्रकाशित गरिसकेको छ ।

प्रमुख कर अधिकृत अर्जुनप्रसाद भट्टराई भन्छन् ‘हामीले बक्यौता उठाउन करदातालाई पटक पटक ताकेता गरिरहेका छौँ, तर अझै पनि करिब ८० अर्ब बक्यौता उठन बाँकी देखिएको छ ।’

पुस मसान्तसम्म बक्यौता बुझाउने बचन करदाताले दिएको उनको भनाइ छ ।

यी हुन् कर नतिर्ने कम्पनी ?

नेकोन एयर, कोहिनुर हिल हाउजिङ र ओरियन्टल विल्डर्स, संजीव राजभण्डारीको मर्कन्टायल सिस्टम, सञ्जय गोल्छाको नियोटेरिक नेपाल, पाकिस्तान इन्टरनेसनल एयरलाइन्स लगायतका १४ वटा व्यावसायिक फर्मले आयकर नतिरेको कार्यालयले पहिलोपटक सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।

त्यस्तै, प्रदीपशमसेर जबराको पेट्रोलिमेक्स, सुमित रौनियारको पप्पु जेभी, नेपाल टोबाको कम्पनी, एभरेष्ट पोलिमर्सलगायत ६ वटा फर्मले आयकर र भ्याट दुवै नतिरेको कार्यालयले जानकारी दिएको छ ।

यसैगरी, दोश्रो चरणको सूचनाअनुसार टेलिकम सेवा प्रदायक कम्पनी टेलिया सोनेरा र डा. सुरेशकुमार कनोडियाको नाममा रहेको लर्ड बुद्ध एजुकेशनल एकेडमीले आयकर बुझाएका छैनन् ।

निवास शारडाको नाममा रहेको पशुपति खाद्य तेल उद्योग, बलराम महतोको रमन कन्स्ट्रक्सन, हाङ्गजो कालिका ज्वाइन्ट भेन्चर, अम्मरबहादुर खत्रीको रौताह कन्ट्रक्सन, केशा कुमारी गुरुङको नाममा रहेको न्यू शेरचन ब्रदर्शले पनि आय कर र मूल्य अभिवृद्धि कर दुवै नबुझाएको कार्यलयले बताएको छ ।

त्यसैगरी, पदमप्रसाद लुइँटेलको नाममा रहेको त्रिपुरेश्वर कन्डक्टर र जय दुर्गे इन्जिनियरिङ जे.भि ऋषि प्रसाद सुवेदीको नाममा रहेको तुँदी कन्ट्रक्सन प्रा.लि. पेम्बा भोटेको नाममा रहेको बज्रगुरु कन्ट्रक्सन कम्पनी, राकेश कुमार अग्रवालको नाममा रहेको त्रिपुरेश्वर कन्डक्टर उद्योग, गेल्जे लामाको लामा पिएस गोल्डेन गुड जेभी, पृथ्वीबहादुर श्रेष्ठको मनकामना हार्डवेयर एण्ड सप्लायर्स र राजीव मित्तलको नाममा रहेको भिए टेक वाबग लि तथा प्रतिभा इन्ड्रष्टिज लि. जेभीले मूल्य अभिवृद्धि कर बुझाएका छैनन् ।

पटकपटक पत्राचार र फोन सम्पर्क गर्दा समेत बक्यौता नबुझाएका कारण सञ्चालकको नामसहित ४४ वटा व्यवसायिक फर्मको नाम सार्वजनिक गरिएको प्रमुख कर अधिकृत भट्टराईले दावी गरे ।

सार्वजनिक सूचनामार्फत् कार्यालयमा देखिएको अभिलेखअनुसार कर बक्यौता रकम दाखिला गर्न तथा दाखिला भएको भए प्रमाण पेश गर्न कार्यलयले भनेको छ ।

कार्यलयका अनुसार सूचना जारी भएको १५ दिनमित्र बक्यौता कर दाखिला गर्न तथा दाखिलाको अदालत वा अन्य निकायमा पुनरावेदन वा निवेदन परी मुद्दा विचाराधीन भएको भए सो को जानकारी दिन भनिए पनि अहिलेसम्म ५ वटा फर्म मात्रै सम्पर्कमा आएको छ ।

...

मंगलबार, २५ पुष ०७४ 

प्रतिक्रिया

Related