जुम्लाको आगलागीमा युवाको रहस्यमय मृत्यु !

२ लाख बढीको भौतिक क्षति
निर्माण सञ्चार, जुम्ला । चन्दननाथ नगरपालिका–४ मालाभीड गाउँमा आगलागीबाट एक युवाको रहस्यमय मृत्यु भएको छ ।

घर नजिकैको शौचालयमा राखिएको दाउरा र परालमा आगलागी हुदाँ ४२ वर्षिय लक्ष्मीचन्द्र उपाध्यायको रहस्यमय मृत्यु भएको हो ।

आफ्न्तहरुका अनुसार आइतबार बेलुका खाना खाएर सुतेका उपाध्याय सोमबार बिहान ५ बजेतिर भएको आगलागीमा परी शौचालयभित्रै मृतक अवस्थामा फेला परेका हुन् ।

मृतक लक्ष्मीचन्द्र उपाध्यायकि श्रीमति अप्सरा पण्डित बिरामी परेर केही दिन यता माइतीघरमा थिइन ।

आइतबार साँझ घरमा उपाध्यायकी छोरी भावना पण्डित र उनकी दिदीलगाएत ५ जनाको परिवारले खाना खाएर सुतिसकेपछि बिहान एक्कासी आगो लागेको पत्तो भएन ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृतक उपाध्याय शौचालय गएको समयमा एक्कसी आगलागी हुँदा शौचालयबाट बाहिर निस्कन नपाउँदा मृत्यु भएको हुन सक्ने जनाइएको छ ।

प्रहरी हवल्दार पदम प्रसाद चालिसेका अनुसार आगो नियन्त्रणमा लिइसकेपछि शौचालयमा हेर्दा मृतक उपाध्याय भेटिएका हुन् । 

घरका कसैले थाँहा नपाउने गरी कुन समयमा मृतक उपाध्याय शौचालय गएका थिए । उनको आगलागीकै कारण मृत्यु भएकाे हाे त ? अर्थात उनको रहस्यमय मृत्युपछि आगलागी भयो ? भन्ने विषयमा परिवार तथा अाफन्त भने अचम्मित परेका छन् । प्रहरीकाे मुचुल्कामा उनीहरूले बिमत्ती जनाएका छन् ।

आगलागीबारे अनुसन्धान भइरहेको उनले बताए । प्रहरी, स्थानीय र नेपाली सेनाको प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट मृत्यु भएका युवाको लास कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पोष्टमार्टम भएपछि दाहसंस्कार गरिएको छ ।

प्रहरीको मुचुल्का अनुसार आगलागीबाट मृतक परिवारको शौचालय, घाँस, पराल, मृतकका दाइ गोकर्ण पण्डित र जग्गीप्रसाद पण्डितको दाउरा, घाँस, १५ मुरी खेतको परालमा अागलागी हुँदा साँढे २ लाख बढीको भौतिक क्षति भएको छ ।

त्यस्तैगरी, ओखर–३, स्याउ–२ र आरुको विरुवा– १ जलेर नष्ट भएको मृतकका आफन्त देवीकृष्ण सिम्खडाले बताए ।

आगलागीका ४ घटनाबाट १५ लाख ७२ हजारको क्षती

मानवीय लापरबाहीबाट यस वर्षको हालसम्म जुम्लामा भएका अन्य चारवटा आगलागीका घटनाबाट १५ लाख ७२ हजार बराबरको भौतिक क्षति भएको छ । जसमा, पातारासी गाँउपालिका– ७ का डम्मरसिंह रावतको घरमा भएको आगलागीबाट ३ लाख ६० हजारको क्षति पुगेको छ ।

त्यसैगरी, चन्दननाथ नगरपालीका– ७ का मक्करबहादुर रावलको घरमा विद्युत् सट हुदाँ भएको आगलागीबाट ५ लाख १९ हजार, चन्दननाथ– ४ का ठिन्ले लामाको घरमा पनि विद्युत् सट हुँदा भएको लागलागीबाट ३ लाख ४३ हजार र तिला गाँउपालिका– ३ का विष्णुऋिषि भट्राईको घरमा अचानक भएको आगलागीबाट ३ लाख ५० हजारको क्षति पुगेको प्रहरीले जनाएको छ ।

नगरपालिकाको दमकल प्रयोगविहीन

४० लाख बढी सरकारी रकम खर्चेर खरिद गरेको चन्दननाथ नगरपालिकाको दमकल प्रयोगविहीन भएको छ । दमकल खरिद गरेको दुई वर्षयता सदरमुकाममै २ दर्जन बढी आगलागीका घटना घटेपनि दमकल भने प्रयोग हुन सकेको छैन ।

चाहे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान आगलागी प्रकरण होस् या अन्य कुनै पनि आगलागीमा दमकल प्रयोग नभएको हो ।

साँगुरो सडक र दमकल चालकको समस्या देखाउँदै आगलागीका घटनामा दमकल थन्किने गरेको छ । पूर्व सर्भे नगरी दमकल खरिद भएकाले प्रयोगविहीन भएको नगरपालिकाले जनाएको छ ।

...

जुम्लाबाट सागर परियारको रिपोर्ट

मंगलबार, २५ पुस ०७४

प्रतिक्रिया

Related