करोडौँ बजेटले नफेरिएको कर्णाली राजमार्गको अवस्था

दर्जनौँ पक्की पुल अधुरै, भगवान भरोसामा कर्णालीको यात्रा
निर्माण सञ्चार, जुम्ला । कर्णाली राजमार्गमा एक लेनकोे सडक भएकोले विपरित दिशाबाट आएको यातायातसँग सवारी क्रस अर्थात पास गराउन मुस्किल पर्छ ।

नदिबाट उचाईमा रहेको सडकमा दुर्घटना भइहाल्यो भने सास त कता हो कता लास पनि पाउन मुस्किल पर्छ । चन्दननाथ नगरपालिका– ३ डाडाकोट गाउँका दम रोगी ७० वर्षिय माघे नेपाली जुम्लामा चिसो बढेसँगै दमको रोग बढेपछि उपचारका लागि कर्णाली राजमार्ग हुदै नेपालगञ्जमा उपचारका लागि आए ।

उनले भने, ‘भगवान भरोसा कर्णाली राजमार्ग हुँदै नेपालगज्ज पुगियो । साँघुरो भिरालो खाल्डाखुल्डी परेको सडक बसको झ्यालबाट हेर्दा आङ नै सिरिङ गर्ने ठाउँ छ । त्यसमाथि बसभित्र यात्रु कोचाकोच गाडीको खोलियामा खुट्टा राख्नेसम्म ठाउँ छैन ।’

लामो सास फेर्दै नेपालीले भने, ‘धन्न पुगियो नेपालगज्ज !’

अर्का यात्रु कालिकोट रुडुबुञ्चुका स्थानीय महेश बोहोरा भन्छन्, ‘यात्राका लागि कर्णाली राजमार्ग जोखिमपूर्ण छ ।’ उनले थपे, ‘हामी कर्णाली बासी जोखिम मोल्दै भएपनि यात्रा गर्न बाध्य छौँ । कालिकोटमा हवाई यातायातको सुविधा नभएकोले यात्राको विकल्प पनि छैन । गाडीको सिटमा बस्न त कहाँ पाउनु खोलियामै बसेर नेपालगज्ज पुगेँ । 

आमालाई उपचारका लागि नेपालगज्ज आएका उनले आमालाई समेत गाडीको खोलियामै बसाएर ल्याउनु परेको गुनासो पोखे ।

उनले भने, ‘यात्रुको चाप, कर्णाली राजमार्गमा कमै मात्रामा गाडी गुड्ने भएकाले सिटको प्रतिक्षा गर्दा गर्दै अन्तिममा खोलियामै बसेरै भएपनि यात्रा गर्न बाध्य हुनु पर्याे ।’

कर्णाली राजमार्गमा न्यून गाडी गुड्ने र लामो दुरीका गाडीमा लोकल स्थानीय यात्रुलाई चडाउने र ओराल्ने गर्नाले बसभित्र खुट्टासम्म राख्ने ठाउँ नहुने गरेको यात्रु भुवन देवकोटाले बताए ।

उनले भने, ‘गाडीको क्षमताभन्दा बढी यात्रु बोक्ने गरेकाले दुर्घटना हुने गरेको छ । साँघुरो तथा भिरालो सडक भएकोले गाडीका चालक र मालिकले पैसा आर्जन गर्ने नाममा क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका छन् ।’

कर्णाली राजमार्गमा दुर्घटनामा परी सयौँको ज्यान गएको छ । यसैले, कर्णाली राजमार्गलाई मृत्यु मार्गको रूपमा चिनिँदै आएको छ ।

कर्णाली राजमार्गमा दुर्घटना हुँदा पति गुमाएकी पत्नीको दुखेसो

चन्दननाथ नगरपालिका– ७ की मनकोइला कुवँरले पाँच बर्षअघि कर्णाली राजमार्गबाटै पति भिमदत्त कुवँरलाई गुमाईन् । कर्णाली राजमार्गमा गाडी चलाउँदा गर्दा ड्राइभर (पति) सहित २८ जनाको बृत्तामुडमा दुर्घटनामा परी मृत्यु भएको थियो ।

उनका तीन छोरी एक छोरा छन् । यता पत्नी मनकोइला कुवँरलाई भने बालबच्चाको शिक्षा दिक्षा र लुगाफाटो गर्न गाह्रो हुने गरेको छ ।

उनले भनिन्, ‘एक लेनको साधुरो कर्णाली राजमार्गमा गाडी चलाउन निकै गाह्रो छ बरु अरू नै केही व्यवसाय गरौँ भन्दा पतिले उ बेला मान्नु भएन ।

मनकोइराला कर्णाली राजमार्गमा दुर्घटनाबाट पति गुमाउने एउटा पात्रमात्र हुन ।

२०६४ साल कर्णाली माजमार्गको ट्रयाक खुलेदेखि अहिलेसम्म सयौँको सिदुर पुछिएको छ, सयौँका बालबच्चा टुहुरा भएका छन्, सयौँको घरवारविहीन भएको छ ।

पहाडको बाटो त्यो पनि एक लेनको साधुरो राजमार्गमा मानवीय लापरबाही र ट्राफिक नियम पालना नगरेकाले सवारी दुर्घटना बढेको गरेको नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले बताए ।

उनले भने, ‘यस विषयमा ट्राफिक निमय कडाइका साथ पालना गर्न लगाए दुर्घटना केही मात्रमा घट्छ ।

ट्राफिक नियम पालना हुन्न कर्णाली राजमार्गमा

कर्णाली राजमार्गमा गाडीका चालक तथा मालिकहरुले ट्राफिक नियम उल्लङ्घन गर्ने गरेका छैन् ।

ट्राफिक नियमअनुसार सिटभन्दा बढी यात्रु हाल्ने नपाइने र क्षमताभन्दा बढी मालसमान नपाइने भए पनि यस्तो ट्राफिक नियम नमान्ने गरेका छन् ।

गाडी चालकले ट्राफिकको चेकजाँच स्थान आएपछि गाडीका चालकले ट्राफिक नियम छल्नका लागि यात्रुलाई बसबाट ओरालेर हिड्न लगाउने र केही पर गएपछि पुन गाडीमा चडाउने गरेका छन् ।

ट्राफिक नियम उल्लघंन गरेबापत जरीवाना तिरेपनि त्योभन्दा बढी कमाई हुने गरेकाले जरीवाना तिर्न पछि नपर्ने गरेका छन् ।

कर्णाली राजमार्गको ओटासिल छोटो समयमै उक्किसकेको स्थानीयले बताएका छन् । गुणस्तरहीन काम भएको र सडकमा पानी बग्ने, जम्ने र ढलनिकास नभएका कारण ओटासिल एक/डेढ बर्ष नपुग्दै उक्किन थालेको स्थानीयको आरोप छ ।

दुर्घटना कम गर्ने उद्देश्य अनुरुप सवारी साधनमा क्षमताभन्दा बढी यात्रु बोक्न नपाउने, सहचालकले गाडी चलाउन नपाउने तथा मदिरा सेवन गरी सवारी चलाउन नपाइने निर्णय भएको कर्णाली यातायात व्यवस्था संघ जुम्लाका अध्यक्ष मिनबहादुर थापाले बताए ।

उनले भने, ‘निर्णय भएपनि चालकहरुले बीच बाटोमा बेइमानी गर्ने गरेका छन् ।’

यस विषयमा सवारी चालक तथा सवारी धनीहरुलाई पुनः निर्देशन गरी ट्राफिक नियम गराउने प्रतिबद्धता व्यक्त गरे ।

यातायात व्यवसायीहरुले कर्णाली राजमार्गमा ट्राफिक नियम पालना नगरेको स्वीकार गर्दै यसलाई कडाईका साथ लिनुपर्ने अवस्था आएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डा तपनकुमार दाहालले बताए ।

उनले भने, ‘दुर्घटना न्यूनिकरणका लागि ट्राफिक नियम पालना गर्न र गराउन सबैले जोड दिनुपर्छ । यसमा कडाई गर्न जिल्ला ट्राफिक कार्यालयले कडा रुपमा निर्देशन दिनुपर्छ ।’

सवारी साधनमा क्षमताभन्दा बढी लोड राख्ने गरेको बताउँदै यसमा ट्राफिक नियम पालना गर्ने गराउने कुरामा दत्तचित्त भएका लागेको कालिकोट प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले बताए ।

उनले भने, कर्णाली राजमार्गमा बेलुका ८ बजेभन्दा पछि गाडी छोड्ने गरेका छैनौँ । कर्णाली राजमार्गमा कमै मात्रा सावारी साधान गुड्ने गरेकाले लोड बढी हुने गरेको छ ।’

उन थपे, ‘कर्णाली राजमार्गमा गुड्ने गाडी सुर्खेत, नेपालगञ्ज, जुम्ला, मुगु हुँदै गुड्ने गरेकाले कालिकोटको लागि भनेर छुट्टै गाडी नछुट्ने भएकाले पनि बाटोमा भेटिएका यात्रुलाई बीचैमा चढाउनु परेकोले ओभर लोडको बाध्यता झेल्नुपर्ने बाध्यात्मक अवस्था आएको छ ।’

कर्णाली राजमार्गका दर्जनौं पुल अधुरै

सरकारले कणार्ली राजमार्गमा भएका विभिन्न अप्ठ्यारा सडक र पुलहरूको निर्माण तुरुन्त गरेर सहज यात्रा गराउनका लागि करोडौं रकम खर्च गरेको छ ।

तर, खर्च गरेको रकममध्ये कतिपय काम सम्पन्न भएपनि गुणस्तहीन भएका छन् भने कतिपय काम निर्माण कम्पनीको लापरबाहीका कारण अधुरै अवस्थामा छन् ।

वर्षातको समयमा कर्णाली राजमार्गको सहज यात्रालाई ध्यान दिँदै सरकारले १० वर्षदेखि विभिन्न निर्माण कम्पनीलाई पक्की पुल निर्माणको जिम्मा दिएको भए पनि कम्पनीको लापरवाहीका कारण एक दर्जन बढी पक्की पुल अधुरै रहेका छन् ।

दैलेख र कालिकोटको सिमानामा रहेको किट्टुभीर नजिक ४ करोड ५१ लाख लागतको घट्टेखोला पुल निर्माणका लागि २०६९ सालमा सम्झौता भए पनि अझै निर्माणाधिन अवस्थामा रहेको छ ।

उक्त पुल निर्माणका लागि १५ महिनाभित्र काम सक्नेगरी याक्थुमहार गोल्डेन जेभी काठमाडौंले जिम्मा लिएको थियो ।

तर, सो कम्पनीले अहिलेसम्म १० प्रतिशत पनि काम पूरा हुन नसकेकोले उल्टै सडकमा सवारी साधन गुडाउन असहज भएकोले यात्रु मर्कामा परेका स्थानीयको आरोप छ ।

राजमार्ग प्रयोग गर्दै आइरहेका आठबीस नगरपालिका दैलेखका नैनबहादुर शाहीले पुल अड्याउने फलामका रडहरूमा खिया लागिसकेको तर त्यसतर्फ सम्बन्धित पक्षले कुनै चासो नदेखाएको गुनासो गरे ।

सरकारले योजना निर्माणको जिम्मा दिएपछि त्यसको अनुगमन, गुणस्तर मापन, कार्यविधिअनुसार सार्वजनिक सुनुवाइ, लेखापरीक्षण, जन श्रमदानलगायत कुरामा शुरुदेखि चासो नदेखाउने गरेकोले ठेकेदारहरूले लापरबाही गरेका छन् ।

स्थानीयले नै अलपत्र परेका निर्माणाधीन पुलको जिम्मा लिएका निर्माण कम्पनीलाई कालोसूचीमा राखी लाइसेन्स खारेज गर्नु पर्ने माग राख्दै आएका छन् ।

दैलेख खण्डमा पर्ने गोठ खोला र कुमाले खोलामा ४ करोड बढी लागतमा पुल निर्माणको जिम्मा लिएको बिटी धर्मेन्द्र १४ जेभी निर्माण कम्पनीले काम सम्पन्न नगरेपछि सडक डिभिजन कार्यालय सुर्खेतले उक्त कम्पनीलाई कालोसूचीमा राखिसकेको डिभिजन प्रमुख बेलबहादुर भुजेलले बताए ।

भुजेलले भने, ‘अहिले गोठ खोला र कुमाले खोलामा नयाँ ठेकेदार कम्पनीले काम शुरु गरिरहेको छ । उनले थपे, ‘आफूहरूले अनुगमन सँगसँगै काम नगर्ने कम्पनीहरूलाई पत्राचार, सूचना प्रकाशनजस्ता काम थालेका छौं ।’

त्यसैगरी, दैलेख खण्डको जाक्सी खोलामा पुल निर्माणका लागि ढलान गर्न बाँकी राखेर अलपत्र थियो छ । पुल निर्माणको जिम्मा लिएको सिरुवार सुनकोसी र कवीर जेभीलाई तत्काल काम सम्पन्न गर्न ताकेता गरेपछि एक साताभित्रै काम शुरु गर्ने जानकारी पाएको सडक डिभिजन सुर्खेतले बताएको छ ।

कर्णाली राजमार्गअन्तर्गत दैलेख खण्डमा पर्ने पाँचभन्दा बढी पक्की पुलहरूमा राखिएका ५० प्रतिशत काम पुरा नभई रोकिएको छ ।

दैलेख, कालिकोट र जुम्ला खण्डमा पक्की पुल निर्माणको जिम्मा लिएका दर्जन बढी कम्पनी निर्माण छाडेर बेखबर बनेका छन् ।

निर्माण कम्पनीले काम गरे/नगरेको नियमन गर्ने निकायको रूपमा रहेको सडक डिभिजन कार्यालय सुर्खेत, सडक डिभिजन अञ्चल कार्यालय जुम्ला र कामको गुणस्तर भए/नभएको अनुगमन गर्न खटिने प्राविधिकहरूको लापरबाहीका कारण पनि पुल निर्माणमा ढिलाइ भएको आठबीस नगरपालिका दैलेखका अर्जुन शाहीको आरोप छ ।

दैलेख, कालिकोट हुँदै जुम्लासम्म जोड्ने कर्णाली राजमार्ग अन्तर्गत घट्टेखोला, कालेखोला, टाकुल्ला खोला, छिडेना खोला, खल्लागाड, बालीगढ, सिम्ला खोलाको पुल निर्माणको जिम्मा लिएका ठेकेदारहरू फरार रहेको डिभिजन सडक कार्यलय जुम्लाले बताएको छ ।

आफूहरूले बारम्बार सम्पर्क र ताकेता गर्दा पनि उनीहरूले बेवास्ता गरेपछि निर्माणको जिम्मा लिएका कम्पनीहरूलाई पत्राचार गरेको सडक डिभिजन कार्यालय खलंगाका प्रमुख नारायणदत्त भण्डारीले बताए ।

बालीघाट, सिम्ले, छिडेना खोला, घट्टेखोला, कर्णाली पुललगायतको जिम्मेवारी आफ्नो रहेका कारण ठेकेदार कम्पनीहरूलाई पत्र काटेको भण्डारीले बताए ।

अहिले यस क्षेत्रमा आरएसडीपी नामक संस्थाले काम थाल्ने भएको छ । आफ्नो क्षेत्राधिकारबाट हुने र गर्नुपर्ने सबै प्रक्रिया शुरु गरिसकेको भए पनि कतिपय निर्माण कम्पनीले राजनीतिक पहुँचका कारण अटेर गर्ने गरेको सडक डिभिजनका कर्मचारीहरु बताउँछन् ।

घट्टेखोलामा पहिला कन्सल्टेन्टले बनाएको नक्सा फरक परेपछि निर्माण कार्यमा समस्या आएको कम्पनीले जनाएको छ ।

विश्व बैंकले यसवर्ष कर्णाली राजमार्गको यात्रा सहजताका लागि सानाठूला पुलहरू गरेर ७६ करोड रुपियाँ बराबरको निर्माणको काम कम्पनीलाई दिएको छ ।

काम नगरेका कम्पनीहरूबाट रकम असुलीका लागि पहल थालिएको सडक डिभिजन सुर्खेतले बताएको छ ।

...

मंगलबार, २५ पुस ०७४

जुम्लाबाट सागर परियारको रिपोर्ट

प्रतिक्रिया

Related