डा. केसिको बयान– पराजुलीले नै न्यायपालिकाको आस्था, गरिमा र स्वाधिनतालाई चुनौती दिएका छन्

निर्माण सञ्चार, काठमाडौँ | सर्वोच्च अदालतको आदेशमा पक्राउ परेका त्रिवि शिक्षण अस्पतालका प्रा.डा. गोविन्द केसीले न्यायालयप्रति आफ्नो उच्च सम्मान रहेको बताएका छन् ।

मंगलबार सर्वोच्च अदालतमा बयान दिने क्रममा केसीले न्यायालयको अनादार गर्ने आफ्नो कुनै उद्धेश्य नरहेको पनि उल्लेख गरेका छन् ।

उनले प्रधानन्यायाधीश गोपाल पराजुलीले नै अदालतको अवहेलना गरेको बयान दिएका हुन् ।

उनको बयान सकिएको छ भने ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासमा बहस सुरु हुँदैछ ।

डा. केसीका एक वकिलका अनुसार बयानका क्रममा डा. केसीले प्रधानन्यायाधीश पराजुलीमाथि नै गम्भीर प्रश्न उठाएका छन् ।

उनले पराजुलीको दुई वटा नागरिकता लिएको, उमेर सच्याएको तथा एसएलसी पास गरे नगरेको प्रश्न उठाएको बताइएको छ ।

पराजुलीले आफ्नो भन्जेज्वाइँ नातेदार कहकुल सुवेदीलाई ६/७ महिनाको अवधिमा रजिष्टार, मुख्य रजिष्टार हुँदै उच्च अदालतको मुख्य न्यायाधीश बनाएर न्यायिक स्वाधिनतामा कुठाराघात गरेको डा. केसीले बताए ।

उनले भनेका छन्, ‘आफ्नो नातेदारलाई ६/७ महिनामा तीन पटक प्रमोसन गर्ने जस्तो अस्वभाविक र अमर्यादित कार्य गर्ने व्यक्ति प्रधानन्यायाधीश जस्तो ओहदामा बस्न मिल्दैन ।’

गोपाल पराजुलीले न्यायपालिकाको अस्था, गरिमा र स्वाधिनतालाई चुनौती दिएको भन्दै डा. गोविन्द केसीले बयानमा भनेका छन्, ‘निजबाटै अदालतको अवहेलना भएकाले निजउपर अदालतको अवहेलनामा कारबाही गरि पाऊँ ।’

साथै पराजुली बाहेक सर्वोच्चका अन्य सम्पूर्ण न्यायाधीशको इजलासमा मुद्दाको सुनुवाइ गर्न माग गरेका छन् ।

उनले अघि भनेका छन्, ‘एक सचेत नागरिकको हैसियतले मैले उनको राजीनामा मागेको हुँ । निजले राजीनामा दिनुपर्छ भन्ने मेरो विश्वास हो । अन्यथा न्यापपालिका स्वाधिन र स्वतन्त्र बन्न निजबाट बाधा अवरोध भइरहन्छ ।

...

मंगलबार, २५ पुष ०७४  

प्रतिक्रिया

Related