नक्कली सेयर कारोबार गर्ने तीन ब्रोकर कारवाहीमा

निर्माण सञ्चार, काठमाडौँ । चिलिमे जलविद्युत कम्पनी, नेशनल हाइड्रोपावर कम्पनी र सानिमा माई हाइड्रोपावर कम्पनीको नक्कली सेयर कारोबार गराएको बारेमा तीन ब्रोकरलाई धितोपत्र बोर्डले कारवाही गरेको छ ।

बोर्डले अग्रवाल सेक्युरिटिजलाई र श्रीहरी सेक्युरिटिजलाई १० लाख रुपियाँको दरले तथा सप्रवी सेक्यूरिटिज प्रालि तथा सिप्रवी सेक्युरिटिजलाई ५० हजार रुपियाँ बराबर कारवाही गरेको हो ।

यसैगरी, श्रीहरि सेक्युरिटिज तथा अग्रवाल सेक्यूरिटिजका कार्यकारी प्रमुखलाई जनही ५० हजारका दरमा जरिवाना गरिएको छ ।

जीएण्ड जी इन्भेष्टमेण्ट कम्पनीको नाममा गोविन्द घिमिरे र उनको समूहले यी कम्पनीहरुको नक्कली सेयर कारोबार गरेका थिए ।

चिलिमेको नक्कली सेयर कारोबारमा ग्राहकको स्पष्ट पहिचान खुल्ने कागजात तथा विवरण लिई सोको अभिलेख नराखेकोमा अग्रवाल सेक्युरेटिजलाई कारवाही गरेको हो ।

जीएण्ड जी इन्भेष्टमेण्ट कम्पनीको सञ्चालक समितिका सदस्यहरूले चिलिमे जलविद्युत् कम्पनीको १३ हजार ५ सय कित्ता नक्कली सेयर एकआपसमा कारोबार गरेको पाइएको थियो ।

यी सेयरको धितो राखेर समूहका सदस्यले सिद्धार्थ डेभलपमेण्ट बैङ्कबाट ६४ लाख २० हजार रुपियाँ र युनाइटेड फाइनान्सबाट समेत ५९ लाख २७ हजार रुपियाँ कर्जा लिएका थिए ।

चिलिमे जलविद्युतको नक्कली शेयर जीएण्डजीका सञ्चालक सृष्टि काफ्ले, सोना दाहाल, रामहरि आचार्यको नामबाट बिक्री भएको थियो भने गोविन्द घिमिरेको नामबाट खरीद गरिएको थियो ।

अग्रवाल सेक्युरिटिजको जमानीमा बैङ्क तथा वित्तीय संस्थाले सेयर धितोमा कर्जा दिएका थिए । पछि अग्रवाल सेक्युरिटिजले नै ती बैङ्कलाई कर्जाबापतको रकम चुक्ता गरिदिएको थियो ।

अग्रवाल सेक्युरिटिजले धितोपत्र बोर्डमा समेत पत्राचार गरेर यी रकम असुल गरिदिन अनुरोधपत्र पेश गरेको थियो । त्यही समूहले नेशनल हाइड्रोपावर कम्पनीको नक्कली सेयर कारोबार श्रीहरि सेक्युरिटिज प्रालिबाट भएको थियो ।

सिप्रवी सेक्यूरिटिज प्रालि। कार्यकारी प्रमुखले यस्तो कारोबार सम्बन्धमा शुरुवातमा जानकारी पाएर पनि सो घटना उजागर गरेको र बजारमा हुने थप क्षतीलाई न्यूनिकरण गर्न सहयोग गरेको अवस्था समेत कम्पनीलाई न्युन कारवाही गरिएको बोर्डले उल्लेख गरेको छ ।

ग्राहकको स्पष्ट पहिचान खुल्ने कागजात तथा विवरण लिएर अभिलेख नराखेकोमा भने सिप्रवी सेक्यूरिटिजलाई कारबाही गरिएको हो । कम्पनीलाई ५० हजार कारवाही सहित सचेत गराइएको छ ।

...

बुधबार, २६ पुष ०७४

प्रतिक्रिया

Related