औद्योगिक व्यवसाय ऐनको प्रावधान अनुसार आयकरमा छुट हुनुपर्ने परिसंघको माग

निर्माण सञ्चार, काठमाडौँ | नेपाल उद्योग परिसंघले औद्योगिक व्यवसाय ऐनले उत्पादन मूलक उद्योगहरुका लागि दिएको आयकरमा सुविधा उपलब्ध गराउन माग गरेको छ ।

सोमबार अध्यक्ष हरिभक्त शर्माको नेतृत्वमा गएको परिसंघको प्रतिनिधि मण्डलले अर्थ सचिव शंकर प्रसाद अधिकारी र राजस्व सचिव शिशिर ढुंगानासँग अर्थमन्त्रालयमा भेट गरी आयकरमा छुट हुनपर्ने माग राखेको हो ।

उक्त प्रतिनिधि मण्डलले दुवै सचिवहरुसँगको संयुक्त भेटमा २०७३ साल मंसिरदेखि कार्यान्वयनमा आइसकेको औद्योगिक व्यवसाय ऐनको दफा २२ को उपदफा (१) को खण्ड (क) मा उत्पादनमूलक उद्योगबाट आर्जित आयमा लाग्ने करको २० प्रतिशतले छुट पाउने स्पष्ट व्यवस्था गरेकोले यसमा सोही अनुसारको छुट दिन माग गरेको छ ।

परिसंघले विगत देखि नै तीब्र एवं दीगो औद्योगिक विकासका लागि उत्पादनमूलक उद्योगहरुलाई करका दरमा छुट तथा सुविधा उपलब्ध गराउन नेपाल सरकार समक्ष माग गर्दै आएको छ ।

सोही सन्दर्भमा औद्योगिक व्यवसाय ऐन २०७३ ले व्यवस्था गरेको छुट तथा सुविधाहरु उद्योगले उपभोग गर्न पाउनुपर्ने र उद्योगहरुको कर छुटको मूल्याङ्कन गर्दा औद्योगिक व्यवसाय ऐन २०७३ को व्यवस्था अनुसार नै गर्न पाउने व्यवस्था हुनुपर्ने परिसंघको आग्रह छ ।

आयकर ऐनले उत्पादनमूलक उद्योगलाई समेत विशेष उद्योगमा वर्गिकरण गरेको यथार्थतमा उद्योगको आयमा लाग्ने करमा आयकर ऐन र औद्योगिक व्यवसाय ऐनमा छुट्टा छुट्टै प्रावधानबाट द्विविधा रहेको देखिएकाले औद्योगिक व्यवसाय ऐनको प्रावधान अनुसार नै २० प्रतिशत छुटको व्यवस्था हुनुपर्ने माग परिसंघबाट गरिएको छ ।

साथै, उत्पादनमूलक उद्योगहरुले उक्त सुविधा उपभोग गर्न ईफाईलिङ अनुसार नसक्ने भएकाले सो सम्वन्धि निर्णय नहुन्जेलसम्म म्यानूअल फाईल पेश गर्न पाउने व्यवस्थाका लागि अनुरोध परिसंघले गरेको छ ।

सोहीअनुसार राजश्व कार्यालयहरुले म्यानुअल फाइल समेत लिने व्यवस्था गरी आन्तरिक राजश्व विभागबाट उक्त कार्यालयहरुलाई निर्देशन हुन माग गरिएको पनि परिसंघले उक्त अवसरमा माग गरेको छ ।

उक्त प्रतिनिधि मण्डलमा परिसंघका पदाधिकारी, गभर्निङ्ग काउन्सिलका सदस्यहरु तथा राष्ट्रिय परिषदका सदस्यहरुको उपस्थिति रहेको थियो ।

...

बुधबार, २६ पुष ०७४

प्रतिक्रिया

Related