भारत लैजाँदै गरिएका २० बालकको उद्धार

 

निर्माण सञ्चार, जुम्ला । गैरकानुनी रुपमा भारतको हिमाञ्चल प्रदेशमा लामा भाषा पढाउने भन्दै बसमा लैजादै गरेको अवस्थामा २० बालबालिकाको प्रहरीले तिला गाउँपालिकाको कुडारीबाट उद्धार गरेको छ ।

बालबालिकाले खचाखच भरिएको बसलाई प्रहरीले चेकजाँच गर्दा भारततिर लैजाने कुनै आधार नभेटिएपछि नियन्त्रणमा लिएर बालबालिकाको उद्धार गरेको हो ।

गैरकानुनी रुपमा जिल्ला बाहिर लैजाँदै गरेको आरोपमा पातारासी गाउँपालिका– ३ का २९ वर्षिय छिरिङ तुण्डुक तामाङ र सोही वडाका ३२ वर्षिय कार्मा तामाङलाई पुस २५ गते पक्राउ गरी अनुसन्धान गरिएको प्रहरी निरिक्षक चुडामणि पुनले बताए ।

लामा भाषा पढाइदिने भनेर अभिभावकलाई आश्वासनमा पारेर उनीहरुले बालबालिकालाई भारत लैजान लागेको अवस्थामा बसलाई नियन्त्रणमा लिई बालबालिकाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरिक्षक पुनले बताए ।

पुनका अनुसार उद्धार गरिएका बालबालिकाहरु प्राय ७ वर्षदेखि १४ वर्ष उमेर समूहका छन् । जिल्लाको पातारासी गाउँपालिकाका खसक्षेत्रीका बालबालिकालाई ललाईफकाई लगिएको र भारत पढाउन लाने कुनै आधार पूरा नभएकाले अनुसन्धानका लागि प्रहरीले लामा जातिका दुई जनालाई पक्राउ गरेको छ ।

‘एउटा बसमा धेरै बच्चा लैजादै गर्दा देखेपछि सोधपुछ गरियो’, प्रहरी निरीक्षक पुनले भने, ‘भारत पढाउन लाने कुनै आधार देखिएन त्यसैले हामीले नियन्त्रणमा लिइ उद्धार गरेको हौँ ।’

पुनका अनुसार दुई जनालाई अनुसन्धानका लागि हिरासतमा राखिएको छ । बालबालिकालाई प्रहरीको निगरानीमा होटेलमा राखिएको छ । महिला बालबालिकाको घटनामा नाम सार्वजनिक नगर्ने भनेर उद्धार गरिएका २० जना बालबालिकाको नाम र फोटो सार्वजनिक गरिएको छैन ।

उद्धार गरिएका बालबालिका बुढा, बोहोरा, महतारा र कामी जातिका रहेका छन् । सबै बालक मात्र रहेका छन् भने प्रहरीले फोटो लिन दिएको छैन । उद्धार गरिएका बालबालिकाका अभिभावकलाई छलफलमा राखेर अभिभावकलाई बुझाउने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

नेपालको संविधान २०७२ को धारा ३९ को उपधारा (५) मा कुनै पनि बालबालिकालाई बालविवाह, गैरकानुनी ओसारपसार र अपहरण गर्न वा बन्धक राख्न नपाईने व्यवस्था उख्लेख छ । गैरकानुनी रुपमा काम गरे कानुनअनुसार कारवाही हुने व्यवस्था छ ।

फोटा क्याप्सन : लामा भाषा पढ्न भन्दै जुम्लाबाट बाहिर लैजादै गरेका बालकहरू

 

जुम्लाबाट सागर परियारकाे रिपाेर्ट 

...

बिहीबार, २७ पुस ०७४

प्रतिक्रिया

Related