सडक सञ्जाल नपुग्दा गाउँमै थन्कियो खाद्य सामग्री

बजारसम्म खाद्य सामग्री पुर्याउन नसक्दा जुम्ली किसान मारमा
निर्माण सञ्चार, जुम्ला । तिला गाउँपालिकामा पर्ने साविकका मालिकाठाटा र घोडेमहादेव गाविस सडक संजालमा नजोडिएका कारण उत्पादित खाद्य वस्तुलगायत स्याउ गाउँमै थन्किएका छन् ।

जुम्ला जिल्लालाई कर्णाली राजमार्गले राष्ट्रिय सडकमा जोडिए पनि अधिकांश गाउँबस्तीहरु अझै पनि सडक सञ्जालमा जोडिन सकेको छैनन् ।

तिला गाउँपालिका– ९ खोप्री गाउँमा सडक सञ्जालमा नजोडिएका कारण गाउँमा उत्पादित स्याउ ढुवानीका लागि साधन नहुँदा थन्किएको छ ।

गाउँसम्म मोटरबाटो नपुगेको र वैकल्पिक ढुवानीको साधन उपलब्ध नहुँदा स्याउ बजारसम्म पुर्याउन नसकिएको हो । माथिल्लो खोप्रीका स्याउ कृषक कालिबहादुर थापाले झन्डै २० क्विन्टल स्याउ नजिकैको कयरकोट बजारमा थन्किएको बताए ।

‘गाउँसम्म सडकको पहुँच छैन, ढुवानी गर्ने कुनै साधन छैन,’ उनले भने, ‘सडक सञ्जाल नपुगेका कारण गाउँमा उत्पादित स्याउ बिक्री गर्न सकिएको छैन ।’ स्टोरमा राखिएको स्याउ चाउरी परेर कुहिएर खेरा गएको थापाले बताए ।

सिजनमा व्यापारीले बगैंचामै पुगेर प्रतिकेजी स्याउको ६० रुपियाँमा लैजाने गरेका गरेपनि अहिले स्याउ लिन न व्यापारी आउँछन् न त अवस्था बुझ्न कृषि कार्यालयका कर्मचारी नै पुग्छन् ।

बजारीकरणको पहुचमा नभएका कारण यो समयमा ३० रुपियाँ प्रतिकेजीमा स्याउ बिक्री गर्नु परेको किसानले गुनासो गरे । तिला– ९ स्थित तल्लो र माथिल्लो खोप्री गाउँ गरेर ४५ वटा घर छन् ।

सबै घरमा स्याउ बगैंचा स्थापना भइसकेका छन् । प्रत्येक घरमा न्यूनतम १० देखि ५० क्विन्टलसम्म स्याउ उत्पादन हुने गर्छ ।

कर्णाली राजमार्गसम्म पुग्न चार घण्टाको पैदल यात्रा गर्नुपर्छ । भरियामार्फत ढुवानी गर्नुपर्दा सडकसम्म स्याउ सुरक्षित पुर्याउन नसकिने भएकाले स्याउ थन्किएको हो ।

स्टोरमा राखिएको स्याउ कुहिन थालिसकेका छन् । केही स्याउ गाइवस्तुलाई दिने गरिएको छ भने केही स्याउको चाना, जाम, जेली, जुस बनाउने गरिएको छ ।

जिल्लाभर एक घर एक स्याउ बगैंचाको अभियान चलिरहेका बेला बगैंचामा उत्पादित स्याउ बजारसम्म पुग्न कठिन छ । सोही वडाका स्थानीय स्याउ कृषक हर्कबहादुर बुढा स्याउ उत्पादनमा जोड दिएपनि बजारीकरण गर्न नसक्दा किसानको जीवनस्तरमा सुधार आउन नसकेको बताए ।

उनले भने, ‘एक घर एक बगैंचा भइसकेपछि ढुवानीको आवश्यक व्यवस्था गरिनुपर्नेमा जोड दिनुपर्छ यसमा केन्द्रीयदेखि स्थानीय सरकारको ध्यानाकर्षण भएको छैन ।’

स्थानीय सरकारले खोप्री गाउँदेखि कयरकोट बजारसम्मको सडक निर्माणका लागि बजेट विनियोजन भन्ने खबर सुनियकोले समस्या समाधान हुने अपेक्षा गरिएको बुढाको भनाइ छ ।

अहिलेसम्म गाउँमा कृषि प्राविधिक पुग्न सकेका छैनन् । जिल्लामा आएर कृषि कार्यालयसँग परामर्श गरेर गाउँमा बगैंचा व्यवस्थापनको काम गर्ने काम आफैँले गर्नुपरेको स्थानीयले बताएका छन् ।

गाउँमा अहिलेसम्म झन्डै ५० क्विन्टल स्याउ थन्किएको छ । गाउँमा सिमी, मकै तिर स्याउ बेच्ने गरेको तर स्याउ बेच्ने बजार नहुँदा बाध्य भएर गाउँमा स्याउ अन्नसँग साट्नु परेको स्थानीय बासीको गुनासो छ ।

बोकेर ल्याएको स्याउ स्थानीय बजारमा घटीघटाउमा विक्री गर्नु परेकाले गाउँमै स्टोर गर्नु परेको छ । तिला गाउँपालिकाका प्रमुख रतननाथ योगीका अनुसार यस गाउँपालिका भित्र पर्ने साविकका मालिकाठाटा र घोडेमहादेव गाविस सडक संजालमा नजोडिएका कारण उत्पादित कृषि वस्तु लगायत विरामीहरुलाई आवतजावतमा समस्या भएको बताए ।

उनले भने, ‘यिनै समस्यालाई हल गर्नका लागि दुई गाविसलाई सडक संजालमा जोड्नका लागि गाउपालिकाले पहिलो प्रथामिकतामा राखेर बजेटको व्यवस्थापन गरेको छ ।’

...

बिहीबार, २७ पुस ०७४

जुम्लाबाट सागर परिवारको रिपोर्ट

प्रतिक्रिया

Related