किन सुस्त धोविखोला करिडोर ? कुन आवमा कति खर्च ?

काठमाडौंको सवारी आवागमन सहज बनाउने उद्देश्यले यस करिडोरको निर्माण
निर्माण सञ्चार, काठमाडौँ | धोबिखोला करिडोर सुधार आयोजनाका लागि सरकारले अहिलेसम्म २ अर्ब १७ करोड १४ लाख रुपियाँ खर्च गरेको छ ।

सरकारले आर्थिक वर्ष २०६७/६८ बाट बागमती दोभानदेखि कपन राम मन्दिरसम्मको २४ किमि दूरीलाई धोबिखोला करिडोरका नाममा सुधार सुरु गरेको थियो ।

काठमाडौंको सवारी आवागमन सहज बनाउने उद्देश्यले यस करिडोरको निर्माण सुरु गरिएको हो ।

सहरी विकास मन्त्रालय अन्तर्गतको उक्त आयोजनाले काठमाडौंका सवारी चापलाई ४० प्रतिशत कम गर्नसक्ने अनुमानका आधारमा आयोजनामा वर्षेनि रकम खर्चिदै आइएको छ ।

धोबिखोला करिडोर सुधार आयोजनाका इन्जिनियर सज्जनकुमार कुँवरले भने ‘यस आयोजना वातावरणीय सुधार, खोला सफाइ, सडक छेउका स्थानीयको सुविधासहितको उद्देश्यले सुरु गरिएको हो ।’

यस आयोजनाको जापान सहयोग नियोग (जाइका)ले सन् १९९३ मा गरेको एक अध्ययनअनुसार बढ्दो सहरीे चापलाई घटाउने उद्देश्यसहितको प्रतिवेदन दिएको थियो ।

सोही प्रवितेदनअनुसार सरकारले २०५९ देखि नै यस आयोजना सञ्चालन सुरु गरेको भए पनि वार्षिक बजेट विनियोजनको काम भने २०६७ बाट मात्रै भएको छ ।

आयोजना निर्माणमा कति भयो खर्च ?

धोबिखोला करिडोर आयोजना निर्माण गर्न हालसम्म दुई अर्ब १७ करोड रुपियाँ खर्च भइसकेको छ ।

सरकारले २०६७/६८ देखि गरेको वार्षिक बजेट विनियोजन र खर्चका आधारमा सो रकम सकिएको उल्लेख गरिएको छ ।

आयोजनाका अनुसार यो करिडोर निर्माणमा सरकारले आव २०६७/६८ देखि २०७२/७३ सम्ममा एक अर्ब ३६ करोड ६३ लाख ७४ हजार रुपियाँ खर्च गरेको छ ।

यसैगरी, २०७३/७४ मा ३५ करोड ४४ लाख ३६ हजार खर्चिएको छ । चालू आव २०७४/७५ का लागि भने ४५ करोड ६ लाख रुपियाँ विनियोजन गरेको छ ।

चालू आवमा विनियोजन भएको उक्त रकममध्ये २३ करोड खर्च भैसकेकाले यस वर्ष थप काम गर्न थप बजेट माग भैइसकेको आयोजनाले बताएको छ ।

यो रकमसहित आयोजनाले हालसम्म करिब सवा दुई अर्ब खर्चिसकेको छ ।

यसै आवका लागि आयोजनाले २० करोड रुपियाँको थप बजेट समेत माग गरिसकेको छ। उक्त आयोजना सम्पन्न गर्न ३ अर्ब २८ करोड २० लाख ४ हजार रुपियाँ लाग्ने अनुमान गरिएको छ ।

कति भयो काम ?

चालू आवसम्ममा २४ किमिको उक्त सडकको टेवा पर्खाल लगाउन अब साढे दुई किमि मात्रै बाँकी छ ।

ट्र्याक खोल्नुपर्ने सडकको दूरी जम्मा चार किलोमिटर छ । यो सडकको हालसम्म दायाँबायाँ गरी २० किमिसम्मको ट्र्याक खोलिसकिएको छ । यस आयोजनामा ३.२ किमि मात्रै कालोपत्रे भएको छ ।

यो सडकमा फूटपाथसहित नौ मिटर चौडाइ हुनेछ भने सडकको साढे सात किमि कालोपत्रे गरेर दुई लेनमा सवारी सञ्चालन गर्ने गरी काम अगाडि बढिरहेको छ ।

यस सडकले काठमाडौं महानगरपालिका र बुढानिलकण्ठ नगरपालिकाको मध्ये सहरी भागको उत्तरत्दक्षिण खण्डलाई लिंक रोडले जोड्नेछ ।

नदीका दुवै किनारमा सडक निर्माण हुने भएकाले भित्री सहरको यातायात व्यवस्थापनमा यो सडको प्रयोग हुने आयोजनाले जानकारी दिएको छ ।

कुन आवमा कति खर्च

२०६८/६९ सम्म २२ करोड ३७ लाख

०६९/७० २७ करोड ९९ लाख

०७०/७१ २० करोड १२ लाख

०७१/७२ ३७ करोड ३९ लाख

०७२/७३ २८ करोड ७५ लाख

०७३/७४ ३५ करोड ४४ लाख

०७४/७५ ४५ करोड ५० लाख

कुल खर्च २ अर्ब १७ करोड १४ लाख

स्रोतः सहरी विकास मन्त्रालय

....

बिहीबार, पुस ०७४ 

प्रतिक्रिया

Related