माथिल्लो डोल्पामा पुगेन दुई वर्षदेखि खाद्यान्न ? भोकमरीको खतरा बढ्दो

खाद्यान्न ढुवानीमा व्यवसायीको लापर्वाही– २४ हजार क्विन्टल ढुवानी हनुपर्नेमा डोल्पामा १ हजार क्विन्टल मात्रै ढुवानी
निर्माण सञ्चार, डोल्पा | ढुवानी व्यवसायीको लापर्बाहीका कारण डोल्पामा पाँच महिनादेखि खाद्यान्न ढुवानी नहुँदा खाद्यान्न संकटको सम्भावना बढेको छ ।

यस वर्ष ढुवानी हुनुपर्ने झन्डै २४ हजार क्विन्टलमध्ये अहिलेसम्म एक हजार क्विन्टल मात्र ढुवानी भएको छ ।

चालू आर्थिक वर्षमा जिल्लाका लागि २३ हजार नौ सय क्विन्टल चामल स्वीकृत भएको खाद्य संस्थान डोल्पाले जानकारी दिएको छ ।

ओम जय दुर्गे जनरल अर्डर एन्ड सप्लायर्स लाटीकोइली सुर्खेत र इन्द्रदीप कन्सट्रक्सन वीरेन्द्रनगर सुर्खेतले ढुवानीका लागि ठेक्का लिएका छन् ।

तर, हजार क्विन्टल चामल मात्र जिल्ला आइपुगेको खाद्य संस्थान डोल्पाका प्रमुख हरिप्रसाद जोशीले जानकारी दिए ।

कम्पनीले नेपालगन्ज, दाङ, सुर्खेत र जुम्लाबाट ढुवानीको जिम्मा लिएका हुन् ।

बाटोको समस्या, ढुवानीसाधनको अभाव, भाडादर नमिलेको जस्ता बहाना बनाएर व्यवसायीले हरेक वर्ष खाद्यान्न ढुवानीमा लापर्बाही गर्ने गरेको खाद्य संस्थान डोल्पाले जनाएको छ ।

खाद्य संस्थान प्रमुख जोशीका अनुसार बारम्बार ताकेता गर्दा पनि व्यवसायीले डिपो कार्यालयमा चामल पुर्याएको छैन ।

डोल्पाका सबै डिपोका लागि ढुवानीको जिम्मा आफूहरूले लिएको, तर सडकको असहजता र साधनको समस्याका कारण समयमा ढुवानी गर्न नसकेको इन्द्रदीप कन्स्ट्रक्सनका जवानसिंह बुढाले बताए ।

उनले भने, ‘छिट्टै ढुवानीका लागि प्रयास गरिरहेका छौँ, तर ढुवानी व्यवसायीसँग कुरा नमिलेका कारण रोकिन गएको हो ।’

 पाँच महिनादेखि डिपो धाउँदै स्थानीय

डोल्पाका जनताले पाँच महिनादेखि चामल पाएका छैनन् । स्थानीय दैनिकजसो खाद्य गोदाम पुग्ने र रित्तो हात फर्किने गरेको खाद्य संस्थान डोल्पाका प्रमुख हरिप्रसाद जोशीले बताए ।

खाद्य संस्थानको चामल र नुन जिल्ला पुगेपछि पनि वितरणमा राजनीति हुने गरेको स्थानीयको आरोप छ । स्थानीय नेताले कार्यकर्तालाई खाद्यान्न दिन सिफारिस लेख्ने गरेका छन् ।

तर, यसपटक पाँच महिनासम्म खाद्यान्न नआउँदा पनि कुनै नेता नबोलेको स्थानीय बताउँछन् ।

उत्पादनले खान पुग्दैन

डोल्पामा वर्षको एक बाली मात्र उत्पादन हुन्छ । जिल्लामै उत्पादन भएको खाद्यान्नले चार महिना पनि खान पुग्दैन । त्यसकारण समयमा नै खाद्यान्न ढुवानी नहुँदा जिल्लामा खाद्य संकट हुने सम्भावना हुन्छ ।

जिल्लाको उत्पादनले खान नपुग्ने भएपछि सरकारले प्रत्येक वर्ष डोल्पामा चामल पठाउँछ । चामल वितरण हुन थालेपछि खाद्य संस्थानका डिपोमा ठूलो भिड लाग्ने गर्छ ।

कतिपय डिपोमा भिड नियन्त्रणका लागि प्रहरी नै परिचालन गर्नुपर्छ ।

कहाँ कति चामल स्वीकृत ?

आर्थिक वर्ष ०७४/०७५ मा दुनै डिपोमा १४ हजार क्विन्टल चामल स्वीकृत भएको छ । त्यस्तै, जुफाल, लिकु, काइगाउँ र सर्मिमा प्रतिडिपो एक हजार आठ सय क्विन्टल स्वीकृत भएको छ ।

माथिल्लो डोल्पाको तिन्जे डिपोमा चार हजार पाँच सय क्विन्टल स्वीकृत भएको छ ।

हालसम्म दुनै र जुफाल डिपोमा जम्मा हजार क्विन्टल मात्र ढुवानी भएको छ । अघिल्लो आर्थिक वर्ष २० हजार क्विन्टल चामल ढुवानी भएको थियो ।

कम रेटमा ठेक्का लिने, बीचमै छाडिदिने

सरोकारवाला निकायले व्यवसायीलाई ताकेता नगर्दा हरेक वर्ष डोल्पामा आउनुपर्ने सबै चामल ढुवानी हुन सक्दैन ।

अघिल्लो वर्षको करिब एक हजार नौ सय क्विन्टल चामल यस वर्ष मात्रै जिल्ला आइपुगेको खाद्य संस्थान डोल्पाका प्रमुख हरिप्रसाद जोशीले जानकारी दिए ।

ठेकेदारले कम दररेटमा ठेक्का लिने र विभिन्न बहाना बनाई बीचमा नै छाडिदिने गर्दा प्रत्येक वर्ष समस्या हुने गरेको छ ।

माथिल्लो डोल्पामा दुई वर्षदेखि पुगेन खाद्यान्न ?

माथिल्लो डोल्पाका साबिकका दुई गाविस छार्का र मुकोटमा दुई वर्षदेखि खाद्यान्न ढुवानी भएको छैन । आर्थिक वर्ष ०७२÷०७३ यता त्यहाँ चामल नपुगेको खाद्य संस्थान डोल्पाले जनाएको छ ।

त्यहाँ तिब्बतको बाटो भएर खाद्यान्न ढुवानी गर्नुपर्छ । रसुवागढीबाट तिब्बतको बाटो हुँदै डोल्पाको सिमानासम्म चामल लगिन्छ ।

त्यहाँबाट तिन्जेको मरिम क्याटोसम्म खच्चडले चामल लैजान्छन् । ठेकेदारले त्यहाँबाट तल चामल लैजाँदैनन् । तर, छार्का र मुकोटका स्थानीय मरिमसम्म गएर ढुवानी गर्न नसक्ने हुनाले दुई वर्षदेखि चामल नगएको हो ।

प्रतिपरिवार प्रतिमहिना तीन केजी

चामल सरकारले प्रतिपरिवार प्रतिमहिना तीन केजी चामल दिने गरेको छ । तर, चामल ढुवानी नहुँदा डोल्पालीले ढिला गरी मात्र चामल पाउँछन्, त्यो पनि कोटाअनुसार पाउँदैनन् ।

जसले गर्दा ४० हजार स्थानीय वर्षभरि नै चामलको आसमा हुन्छन् ।

....

बिहीबार, पुस ०७४ 

प्रतिक्रिया

Related