बेगनास तालमा मुलकको पहिलो पम्प स्टोरेज आयोजना सम्भाव्यता अध्ययन

‘आयोजना निर्माण भएमो ‘पिक आवर’को विद्युत माग पूरा गर्न ब्याट्रीका रुपमा काम गर्ने’
निर्माण सञ्चार, काठमाडौँ | नेपालमै पहिलोपटक कास्कीको पोखरा–लेखनाथ महानगरस्थित बेगनास तालमा पम्प स्टोरेजको सम्भाव्यता अध्ययन अगाडि बढाएको छ । उक्त अध्ययन जापानी सहयोग नियोग (जाइका)ले गर्न लागेको हो ।

कास्कीको पोखरा–लेखनाथ महानगरस्थित विद्युत प्राधिकरणले निर्माण गर्न लागेको उक्त आयोजनाको प्रारम्भिक अध्ययन प्रतिवेदन जनवरीसम्ममा प्रकाशित गर्ने जाइकाको योजना छ ।

प्राधिकरणको प्रारम्भिक अध्ययनमा बेगनासको पानी रुपा तालमा खसालेर एक सयदेखि तीन सय मेगावाट विद्युत उत्पादन गर्न सकिने देखिएको थियो ।

तनहुँ हाइड्रोपावर लिमिटेडका प्रवन्ध सञ्चालक प्रदीपकुमार थिकेका अनुसार सो अध्ययनबाट राष्ट्रिय प्रसारणमा कति विद्युत पठाउन सकिन्छ भनेर जाइकाले अध्ययन गर्न लागेको हो ।

बेगनास तालको पम्प स्टोरेजको अध्ययन बढाउन जाइकासँग समन्वय गर्ने जिम्मा प्रवन्धक थिकेले पाएका छन् ।

‘पिक आवर’मा भण्डै ४ घण्टा चलाउन प्राधिकरणले यस आयोजना निर्माण गर्न लागेको हो । ऊर्जा मन्त्रालयले गत कात्तिकमै विद्युत प्राधिकरणलाई आयोजनाको अध्ययन अनुमति दिएको थियो ।

अनुमति पाएलगत्तै जाइकाको टोलीले अध्ययन सुरु गरेको हो ।

विद्युतको अत्यधिक माग हुने समयमा बेगनासबाट रुपामा पानी खसाल्ने र अन्य समयमा त्यसलाई बेगनासमै पठाउने प्राधिकरणको योजना छ ।

आयोजना निर्माण भएमा यसले पिक आवरको विद्युत माग पूरा गर्न ब्याट्रीका रुपमा काम गर्नेछ । तामाकोशी जलविद्युत आयोजना निर्माणपछि पनि पिक आवरको विद्युत माग पूरा गर्न सकिँदैन ।

सुख्खा समयमा तामाकोशीबाट एक सय मेगावाट उत्पादन हुँदैन ।

हा कुलेखानी ड्याम मात्रै पिक समयमा चलाउन मिल्ने आयोजना हो ।

‘पिकिङ रन अफ दी रिभर’ आयोजना पनि धेरै नभएका कारण अहिले ठूलो परिमाणमा बिजुली आयात गर्नुपरिरहेको छ ।

त्यसको विकल्पमा पम्प स्टोरेज आयोजना निर्माण गर्न लागिएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारी बताउँछन् ।

बेगनास र रुपा तालबीचको ५७ मिटर प्राकृतिक हेडलाई प्रयोग गरी विद्युत उत्पादन गरिने उनको भनाइ छ ।

उक्त आयोजनाबाट उत्पादित बिजुली चार किलोमिटर टाढाको दुई सय २० केभीको लेखनाथ सब–स्टेसनमा जोडिने छ ।

आयोजनाको लागत १३ करोड डलर अर्थात् करिब १४ अर्ब रुपियाँ छ ।

....

शुक्रबार, २८ पुस ०७४ 

प्रतिक्रिया

Related