‘इन्टरनेट ब्याण्डविथमा भारतको एकाधिकार अन्त्य

१४ वर्षपछि नेपाल–चीन जोडिए, १.५ जिबिपिएस क्षमताको इन्टरनेट
निर्माण सञ्चार, काठमाडौँ | पेट्रोलियम, विद्युत् तथा खाद्यवस्तुसहित ‘इन्टरनेट ब्याण्डविथ’ (इन्टरनेट प्रयोग) मा समेत वर्षौंदेखि भारतमा भर पर्नुपर्ने अवस्था अब अन्त्य हुने भएको छ ।

चिनियाँ इन्टरनेट प्रयोगमा आएसँगै नेपालमा भारतको एकाधिकार अन्त्य हुने भएको हो । चिनियाँ इन्टरनेट प्रयोग गर्नेबारे प्रक्रिया सुरू भएको करिब १४ वर्षपछि शुक्रबार नेपाल–चीन जोडिएका छन् ।

‘इन्टरनेट ब्याण्डविथ’ का लागि भारतमै निर्भर नेपालले शुक्रबार (पुष २८) देखि चिनियाँ इन्टरनेट पनि प्रयोगमा ल्याएको छ । सोबारे दुवै देशबीच सन् २००३ मै आर्थिक तथा प्राविधिक सहकार्य सम्झौता भएको थियो ।

सन् २००५ डिसेम्बर ७ मा भने अध्ययन पूरा भएको थियो ।

त्यसैगरी, सन् २०१६ डिसेम्बर ६ मा ब्याण्डविथ प्रयोग गर्ने सम्बन्धमा टेलिकम र चिनियाँ कम्पनीबीच व्यापारिक सम्झौता भएको थियो ।

नेपाल टेलिकमले रसुवागढी ‘गेट वे’ बाट यस ब्याण्डविथ प्रयोगमा ल्याएको हो ।

सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेत र नेपालका लागि चिनियाँ राजदूत यु होङले ब्याण्डविथको संयुक्तरूपमा शुभारम्भ गरेका थिए ।

१.५ जिबिपिएस क्षमताको चिनियाँ इन्टरनेट प्रयोगमा आएपछि गुणस्तरमा सुधार हुने अपेक्षा गरिएको छ ।

नेपाल–चीनबीच जोडिएको यस सूचना प्रविधि पूर्वाधारले विकास निर्माणमा नयाँ आयाम थपिने कार्यक्रममा मन्त्री बस्नेतले बताए ।

‘जलविद्युत् विकासमा चिनियाँ लगानी बढिरहेको छ, योसँगै भविष्यमा चिनियाँ रेल नेपालसम्म आउने आधार पनि तय हुँदैछ,’ उनले भने ।

यता राजदूत होङले भने इन्टरनेट प्रयोगले दुई देशबीचको सम्बन्ध थप दरिलो भएको बताइन् । ‘ नेपालमा ब्यापार तथा लगानी गर्ने र पर्यटक बढाउने चीन दोस्रो ठूलो देश हो,’ उनले भनिन्, ‘इन्टरनेटले व्यापार विस्तारमा थप टेवा पुर्याउनेछ ।’

त्यस्तै, टेलिकमकी महाप्रबन्धक कामिनी राजभण्डारीले विश्व इन्टरनेट सञ्जालमा जोडिन चिनियाँ ब्याण्डविथले महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।

‘इन्टरनेट प्रयोग गर्न भारतमै निर्भर हुनुपरेको थियो, आज टेलिकमले व्यवसायमा विविधिकरण गरेको छ,’ उनले भनिन्, ‘यो हाम्रा लागि महत्त्वपूर्ण अवसर हो ।’

इन्टरनेटलगायत सेवा विस्तार गर्दै टेलिकम नयाँ पुस्तामा रूपान्तर हुँदै गएको पनि उनले बताइन् । यो रसुवागढी गेट वे हुँदै चीनको केरुङबाट नेपाल जोडिनेछ ।

उक्त हिमाली क्षेत्रका कारण सेवा विस्तारमा केही चुनौती रहेको उनको भनाइ छ ।

यसअघि नेपाल भारतका विभिन्न टेलिकम अपरेटरमार्फत विराटनगर, भैरहवा, वीरगन्जलगायत गेट वे बाट विश्व इन्टरनेटसँग जोडिएको थियो ।

भारतसँग नेपालले २५ जिबिपिएस इन्टरनेट प्रयोग गरिरहेको छ ।

....

शुक्रबार, २८ पुस ०७४

 

प्रतिक्रिया

Related