यसरी जान्छ कर्णालीबासीको ज्यान, हवाइ पर्खाइमै गयो ज्यान, प्रतिष्ठानमा सिटि–स्क्यान नहुदा मृत्युको सिकार बनिन् गिरी

निर्माण सञ्चार, कर्णाली । मोटरसाइकल दुर्घटनामा परी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार गराइरहेकी एक महिलाको मृत्यु भएको छ ।

बुधबार दिउसो जुम्लाबजारमा क १ प ४९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते बनेकी चन्दननाथ नगरपालिका ९ की ४० वर्षीया नरकला गिरीको शुक्रबार दिउसो मृत्यु भएको हो ।

दुर्घटनामा परी मृतकको खुट्टा, छाती र टाउकोमा ठुलो चोट लागेको थियो ।

उपचारका क्रममा मृतकको अन्य सबै समस्याको उपचार भैरहे पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा सिटी स्क्यान नहुदा टाउकोको समस्या पत्ता लगाउन नसकिएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानले रेफर गरिसकेपछि गिरीलाई उपचारका लागि जिल्ला बाहिर लैजान हवाइजहाजको पर्खाइमा बस्दा बस्दै बाटोमै मृत्यु भएको आफन्तहरुले बताएका छन् ।

मोटरसाइकल चालक चन्दननाथ नगरपालिका ६ का १९ वर्र्षीय टेकेन्द्र रोकायालाई प्रहरीले नियन्त्रणमा राखेको छ ।

उपचारमा संलग्न हाडजोर्नी विशेषज्ञ डाक्टर देउमान लिम्बुले भने, ‘बिरामीको लक्षण हेर्दा सिटि स्क्यान गर्नुपर्ने अवस्था थिएन, बिरामीले कतिखेर बोल्ने, कतिखेर चल्न खोच्ने गरी रहेकी थिइन्, औषधि पनि दिइरहेका थियौ, तर एक्कासी बिहान बिरामीको अवस्था जटिल देखिएपछि हामीले रेफर गरेका हौँ । प्रतिष्ठानमा सिटि स्क्यान नहुँदा टाउकोमा समस्या भएका बिरामी आएमा लक्षणका आधारमा उपचार गर्दा समस्या हुन्छ’ ।

प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेका अनुसार प्रतिष्ठानमा सिटि स्क्यान मेसिन जडानका लागि स्वास्थ्य मन्त्रालयदेखि विभागसम्म पहल भैरहेको छ ।

‘सिटिस्क्यान मेसिन खरिदका लागि आवश्यक बजेट छैन । एउटा मेसिन झण्डै ३ करोड बढि रकम पर्छ, बारम्बार पहल गर्दा पनि मन्त्रालयमा सुनुवाई हुदैन, फेरि सिटिस्क्यान मेसिन संचालनका लागि विद्युतको पनि ठुलो समस्या छ,’ उनले भने, ‘प्रतिष्ठानमा भ्यान्टिलेर र आइसियु समेत नहुँदा बिरामीलाई ठुलो समस्या परेको छ ।’

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान आगलागी प्रकरणपछि सेवा प्रवाहमा देखिएको समस्या अझै सुल्झिएको छैन ।

आगलागीले अन्तरंग भवन भित्र रहेको ल्याव, टेन्टल, रेडियोलोजी, एक्सरे, अल्ट्रासाउन्ड, लगायत करोडौ मूल्यका महत्वपूर्ण उपकरणहरु सबै जलेर नष्ट भएपछि अझैसम्म उपकरण व्यवस्थापन नहुँदा समस्या जस्ताको त्यस्तै देखिन्छ ।

जलेर नष्ट भएका सबै उपकरण छिट्टै खरिद गरी पहिले भन्दा अझ प्रभावकारी सेवा दिने प्रतिष्ठान प्रशासन शाखाले जनाए पनि यो कुरामै सीमित भएको छ ।

उपकरण र पूर्वाधार सम्पन्न नभएकै कारण कर्णालीबासीको ज्यान बचाउन खोलिएको स्वास्थ्य प्रतिष्ठानमा समयमै उपचार नपाउँदा बिरामीको ज्यानै खतरामा पर्ने गरेको छ ।

तर मेडिकल डाइरेक्टर पुजन रोकायाका अनुसार महत्वपूर्ण उपकरण नभएपछि विषेशज्ञ सेवा दिन कठिनाई परेको हो । ३०० सैयाको सेवा प्रवाह हुदै गरेको प्रतिष्ठानमा आवश्यक उपकरणको कमी छ ।

कर्णाली क्षेत्रको एउटै मात्र यसखाले अस्पतालमा हालसम्म पनि १३ जना मात्रै विषेशज्ञ फिजिसिएन डाक्टर छन् ।

___
जुम्लाबाट सागर परियारको रिपोर्ट

 

 

...

शुक्रबार, २८ पुस, ०७४

 

प्रतिक्रिया

Related