११ वर्षपछि १६ अर्ब नोक्सानी दिदै चमेलियाको १५ मेगावाट विद्युत् चढ्यो ग्रिडमा

प्रतिमेगावाट करिब २० करोड लगानीले ३ वर्ष भित्रै सुदूरपश्चिमबासीलाई विद्युत् उपहार दिने भनेको प्राधिकरणले प्रतिमेगावाट ५३ करोड लगानी गरिसकेको छ
निर्माण सञ्चार, काठमाडौं । २०६३ पुसदेखि निर्माण सुरु गरेर ०६८ मंसिरमा पूरा गर्ने लक्ष्य लिएको नेपाल विद्युत् प्राधिकरणको लगानीको चमेलियाबाट ११ वर्ष पछि बल्ल पहिलो युनिटको १५ मेगावाट विद्युत् केन्द्रीय प्रणालीमा जोडिएको छ ।

घाटा हुँदा राज्य र नाफा हुँदा प्राधिकरणका कर्मचारीले बोनस लिने मोडेल बन्दै आएका प्राधिकरणले उत्पादन गरिरहेका विभिन्न मोडेल मध्ये चमेलिया पनि एक हो ।

११ वर्षपछि उत्पादन हुँदा यसबाट राज्यलाई १५ देखि १६ अर्ब नोक्सान हुने देखिएको छ ।

शुक्रबार आयोजनाको एउटा युनिटबाट उत्पादित विद्युत् ग्रिडमा पठाइएको हो प्राधिकरण प्रवक्ता प्रवलराज अधिकारीले निर्माण सञ्चारलाई बताएका हुन् ।

केही दिन अघि मात्रै विद्युत् उत्पादन भएको युनिटको ‘लोड रिजेक्सन टेस्टिङ (प्रारम्भिक परीक्षण) गरिएको थियो ।

उक्त परीक्षण सफल भएपछि रिलायबिलिटी टेस्टिङ अर्थात् लामो समयसम्म परीक्षण गरिने आयोजना प्रमुख अजयकुमार दाहालको भनाइ छ ।

उक्त परीक्षण भने ७२ घन्टासम्म हुनेछ । पहिलो युनिटको रिलायबिलिटी टेस्टिङ भएको करिब २० दिन पछि अर्काे युनिटको पनि प्रक्रिया अघि बढ्ने छ ।

परीक्षण पछि अहिले ४ मेगावाट विद्युत् ग्रिडमा जोडिएको हो ।

आयोजना प्रमुख दाहालका अनुसार यो परीक्षण सफल भए माघ ५ गतेबाट रिलायबिलिटी टेस्टिङ सुरु हुने छ, यो युनिटको परीक्षण पूरा भएमा माघ पहिलो साताबाट दोस्रो युनिटको परीक्षण सुरु हुने छ ।

रिलायबिलिटी रेस्टिङपछि मात्र औपचारिकरूपमा ग्रिडमा विद्युत् पठाइन्छ । चमेलिया दार्चुलामा निर्माण भएको ३० मेगावाटको परियोजना हो । यसमा १५ मेगावाट क्षमताका दुई वटा युनिट रहेका छन् ।

यस अघि पटक पटक आयोजना पूरा हुने बताउँदै आएको प्राधिकरणमाथि चमेलियाका कारण जनसाधारणमा ढाँटुवाको छाप परेको थियो । यो परीक्षण सफल भए उत्पादन हुन लामो समय लागेको यो योजनाले सुदूरपश्चिमबासीलाई नै पहिलो केन्द्रीय प्रसारण लाइनको बिजुली दिनेमा दर्ज हुने छ । 

 

...

शुक्रबार, २८ पुस, ०७४

 

प्रतिक्रिया

Related