ग्रिल तथा स्टिल व्यवसायी संघ बालाजु क्षेत्रको साधारण सभा सम्पन्न, अध्यक्ष बने शैलेश ठकुरी

नयाँ जोशका साथ काम गर्ने ठकुरीको घोषणा
निर्माण सञ्चार, काठमाडौं । ग्रिल तथा स्टिल व्यवसायी संघ काठमाडौं जिल्ला अन्तर्गत बालाजु क्षेत्रको ठुलो भर्याङ–सानो भर्याङ इकाइको अध्यक्षमा शैलेश ठकुरी निर्वाचित भएका छन् ।

इकाइको तेस्रो साधारण सभाबाट १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।

ठकुरीले नेतृत्व गरेपछि विशेष सक्रिय देखिएको बालाजु क्षेत्रको ठुलो भर्याङ–सानो भर्याङ इकाइको दोस्रो कार्यकालका लागि पनि ठकुरी नै सर्वसहमतिले अध्यक्षमा चयन भएका हुन् ।

निर्वाचनबाट १२ सदस्य छानिएका छन् । जोर संख्याको कार्यसमिति नहुने भएकाले बाँकी सदस्य मनोनित गर्ने आयोजकको भनाइ छ ।
 
निर्वाचित हुनेहरुमा उत्तम श्रेष्ठ उपाध्यक्ष, नवीनकुमार मिङचिङ सचिव, टासी लामा सहसचिव, तेजकुमार थापामगर कोषाध्यक्ष र रामचन्द्र नगरकोटी सहकोषाध्यक्ष रहेका छन् । 

त्यस्तै, निर्वाचति सदस्यहरुमा रामकुमार गिरी, लक्ष्मण श्रेष्ठ, दीलिप लामा, अर्जुन सुनार, खेमप्रसाद न्यौपाने र शिवकुमार थापामगर रहेका छन् ।

अध्यक्षमा निर्वाचित ठकुरीले आफ्नो दोस्रो कार्यकाल अझै योजनाबद्ध र क्रियाशील रहने बताएका छन् ।

निर्माण सञ्चारसँग बोल्दै अध्यक्ष ठकुरीले भने, ‘अबको कार्यकालमा यस क्षेत्रका ग्रिल तथा स्टिल व्यवसायीहरु बीचमा नयाँ कार्यक्रमहरु ल्याउने छु । अघिल्लो भन्दा अझै सक्रिय रहने छ भने यसले सहकारी भावनामा आधारित भई अर्थ उपार्जन गर्ने, संघका साथीभाइलाई पीरमर्का पर्दा सहयोग गर्ने, व्यवसायको उत्थान र संवद्र्धन गर्ने काम गर्ने छ ।’

अबका दिनमा विभिन्न सामाजिक कामहरु पनि गर्ने उनको भनाइ छ ।

ग्रिल तथा स्टिल व्यवसायमा आइपर्ने समस्या हटाउन आवश्यक सीप र तालिम पनि दिने उनको योजना रहेको छ । सो क्षेत्रका मेयर रहेको रामवीर मानन्धर कार्यक्रमका प्रमुख अतिथि रहेका थिए ।

मानन्धरले ग्रिल तथा स्टिल व्यवसायलाई पनि उद्योगका रुपमा विकास गर्न उद्यमीहरुलाई सल्लाह दिएका छन् ।

कार्यक्रममा महासंघका तर्फबाट वरिष्ठ उपाध्यक्ष ठुलोबाबु श्रेष्ठ तथा महासचिव लीला खड्काले साधारण सभाको सफलताको शुभकामना दिएका थिए ।

झन्डै साँढे २ दशक अघि स्थापना भएको ग्रिल तथा स्टिल व्यवसायीहरुको महासंघ अन्तर्गत रही आफ्नो पेसा र व्यावसायिक हितका लागि संगठित उद्यमीहरुको यो संस्था यतिबेला देशैभर सक्रिय छ ।

महासंघ केन्द्रको अध्यक्षमा मोहन कटुवालको नेतृत्वसँगै ग्रिल तथा स्टिल व्यवसायी महासंघको सक्रियता बढेको र यसले देशका प्रमुख सहरहरुमा रही ग्रिल तथा स्टिल व्यवसाय गर्ने व्यवसायीहरुलाई विभिन्न तालिम दिने, आपसी सुख दुखमा साथी हुने, भन्सार तथा कालोबजारी विरुद्ध जागरुक भएर आवाज दिने, संगठित प्रयत्नमा एकले अर्काे व्यवसायलाई प्रवद्र्धन गर्ने गरेका छन् ।

संघको सक्रियताले यसमा आबद्ध साना तथा मझौला व्यवसायलाई साना तथा मझौला घरेलु उद्यमीहरुको साझा संस्था एफएन सिएसआईमा समेत प्रतिनिधित्व गराउने गरेको छ ।

सपोटर व्यवसायी तथा निर्माण सञ्चारलाई सम्मान

आयोजक इकाइले आफ्नो कार्यक्रमका लागि सहयोग पुर्याउने विभिन्न व्यवसायी, व्यावसायिक संस्था तथा सहयोगीहरुलाई सम्मान दिदै ‘सम्मान पत्र’ प्रदान गरेको थियो ।
 
सोही क्रममा मिडिया क्षेत्रबाट निर्माण क्षेत्रको समाचार सम्प्रेषणमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको देशकै पहिलो निर्माण क्षेत्रको मिडिया निर्माण सञ्चारालाई  पनि सम्मान गरिएको थियो ।

 

 

 

...

सोमबार, १ माघ, ०७४

 

प्रतिक्रिया

Related