भूकम्प सुरक्षा दिवस मनाउँदा अझै पनि ‘खाट मुनि लुक्न जाने’ पाठै सिकाउने हो एनजिओ र सरकारले ?

भूकम्प सुरक्षा दिवस मात्रै मनाउने कि भूकम्प पीडितलाई पनि टहरोबाट घरमा लैजाने हो सरकार ?
निर्माण सञ्चार, काठमाडौं । हरेक वर्ष माघ २ लाई भूकम्प सुरक्षा दिवस मनाउँदै आएको नेपाल सरकार र केही एनजिओमाथि एउटा व्यङ्ग्य थियो ‘भूकम्प आएपछि खाट मुनि लुक्नु पर्छ’ भन्ने उनीहरुले सिकाउने गरेको पाठ ।

जब ०७२ वैशाख १२ गते भूकम्प गयो, त्यतिबेला घर बाहिर रहेका धेरै बालबालिकाहरु घर भित्र पसे र खाट मुनि लुक्न गए । जसले गर्दा उनीहरुको अनाहकमै ज्यान गयो ।

वैशाख १२ गते, ०७४ को ठिक ३ महिना अघि पनि तत्कालीन सरकार र केही एनजिओहरुले यसै गरी भूकम्प सुरक्षा दिवसको कार्यक्रम मनाएका थिए ।

तत्कालीन सरकारका मन्त्रीहरु गएर आजकै जसरी ज्यानमाथि सेफ्टी ज्याकेट र टाउको माथि हेलमेट लगाएर घोप्टो परेका थिए । कार्यक्रम आयोजना स्थलमा नपुगेका कयौं जनताले टेलिभिजनमार्फत् हेरिरहेको दृश्य थियो, ‘भूकम्प आयो भने यसरी जोगिनु पर्छ, उसरी जोगिनु पर्छ...’ इत्यादि ।

जोगिनका लागि सिकाइएको फर्मुला थियो, ‘भूकम्प आयो भने खाट मुनि पस्नु पर्छ,’ जुन चाहिँ आम मानिसले खिसिटिउरी गर्ने विषय बन्यो ।

अहिले पनि उही पुरानै रटान, पुरानै बाँसुरी, किन ?

यद्यपि, भूकम्प गएको बेला घर भित्र रहेको अवस्थामा कुनै उपाय भएन भने बाँच्ने अन्तिम विकल्पका रुपमा खाटमुनि लुक्ने विधि बताइन्छ ।

तर, सकेसम्म घरदेखि बाहिर तथा खुल्ला जमिनतिर जानु पर्छ भन्ने कुरालाई जोड नदिनु सिकाइको कमजोर पक्ष थियो ।

आज बसन्तपुरमा आयोेजना गरिएको २० औ भूकम्प दिवसमा पनि सरकार र केही एनजिओहरुले उही पुरानै सूत्र सिकाए र देखाए ।

समय फेरिए पनि नफेरिएको र जनताले सिके पनि सिकाउने निकायले पुरानो तर असफल प्रायः यस्ता सूत्र सिकाइरहन्छ भने त्यो निकायमाथि कसले विश्वास गर्ने ?

‘सबल समुदाय र स्थानीय सरकार भूकम्पीय सुरक्षायाको बलियो आधार’ भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रममा प्रधानमन्त्री शेरवहादुर देउवाले उद्घाटन गरेका थिए ।

विगत २० वर्षदेखि मनाउँदै आइएको भूकम्प सुरक्षा दिवस काठमाडौको बसन्तपुरमा नाटकीया कार्यक्रम समेत गरेर मनाइयो ।

नाटकीय प्रस्तुतिमा भूकम्पीय जोखिमबाट जोगिन कस्तो विधि अपनाउने भन्ने नै थियो ।

नेपालमा विसं २०९० सालमा गएको विनाशकारी भूकम्पको सम्झनामा यो दिनलाई भूकम्प सुरक्षा दिवसका रुपमा सरकारले मनाउने गरेको छ ।

यही कार्यक्रममा आयोजकहरुले गत ०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पको चर्चा पनि गरिरहेका थिए । कार्यक्रममा काठमाडौ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, नेपाली सेना, नेपाल प्रहरीका वरिष्ठ अधिकृतहरु समेत सहभागी थिए ।

अझै १ लाखले पाएनन् पहिलो किस्ता रकम, हजारौं टहरोमै
 
सरकारले यति र उति काम गरें भनेर डिङ हाँक्न छाड्दैन । तर वास्तविकता भने ठिक उल्टो छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले लगभग ६० प्रतिशत भन्दा बढी काम सकेको बताइरहेको छ ।
 
तर, भूकम्प गएको पौने ३ वर्षमा ९० अर्ब रुपियाँ सकिसकेको प्राधिकरण अझै साँढे ३ खर्ब बजेट अपुग रकम अपुग भयो भन्दै दाता सम्मेलन गर्नेबारे बताइरहेको छ ।
 
घर बनाउने उपलब्धि हेर्दा ९० अर्ब सकिदा, काम १० प्रतिशत मात्रै भएको देखिन्छ ।
 
यतिबेलासम्म ७९ हजार चार सय ४२ निर्माण सकिएका छन् भने १ लाख ९३ हजार ६ सय ४१ निजी घर निर्माणको चरणमा छन् ।
 
६ लाख ५३ हजार ७ सय ४४ ले पहिलो किस्ता पाउँदा अझै १ लाख भूकम्प पीडितले पहिलो किस्ताबापतकै रकम समेत पाउन सकेका छैनन् ।
 
यतिबेला माघको चिसो सिरेटो बढिरहेको छ । चिसो माइनस ७–८ डिग्रीसम्म झरेको छ । कतिपय स्थानमा भूकम्प पीडितहरुको पनि मृत्यु भइरहेको समाचारहरु प्राप्त भएका छन् । 
 
भूकम्प सुरक्षा दिवस मात्रै मनाउने कि भूकम्प पीडितलाई पनि टहरोबाट घरमा लैजाने हो सरकार ? भनी सोध्न मन लागेको छ ।

 

 

 

 

 ___

प्रशिक्षार्थी पत्रकारः चक्र शेर राई

...

मंगलबार, २ माघ, ०७४

 

प्रतिक्रिया

Related