कालिकोटमा भाइरल ज्वरोको महामारीः प्रभावित क्षेत्रमा विशेषज्ञ चिकित्सकको टोली जाने तयारी

औषधिको अभाव हुँदा विरामीको ज्यान जोखिममा, जुम्लामा उच्च सतर्कता
निर्माण सञ्चार, जुम्ला | कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको विशेषज्ञ चिकित्सक टोली कालिकोटको भाइरल प्रकोप प्रभावित क्षेत्रमा पुग्ने भएको छ ।

दुई सातादेखि फैलिएको भाइरल ज्वरोले ३ बालबालिकाको ज्यान लिनुका साथै सदरमुकामस्थित खाडाचक्र नगरपालिकाको २ र ४ नं वडामा मात्रै ८ सय १४ जना बढि बिरामी परेपछि आवश्यकता औषधि उपकरणसहित विशेषज्ञ चिकित्सक टोली त्यहाँ पुग्ने भएको हो ।

भाईरल प्रभावित क्षेत्रमा आवश्यक औषधी र स्वास्थ्यकर्मीहरु छैनन् । भाईरलले विकराल रुप नलियोस् भन्दै त्यस तर्फ जुम्ला प्रतिष्ठानबाट विशषज्ञ टोली जाने भएको हो ।

प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्लेले भने, ‘भाइरल प्रकोप प्रभावित क्षेत्र कालिकोटको कुन कुन ठाँउ हो, त्यहा के कस्तो समस्या छ, के के औषधि उपकरण चाहिनसक्छ र त्यहाँ कुन कुन डाक्टरहरुलाई खटाउने भन्ने बिषयमा छलफल भइरहेको छ ।’

उनले सोमबार साँझसम्म जसरी पनि विशेषज्ञ चिकित्सक टोली खटाउने बताए ।

रजिष्टार काफ्लेका अनुसार कालिकोटको कति क्षेत्रमा भाईरल फैलिएको त्यसको एकिन जानकारी लिन टोली भोली नै जाने छ ।

भाइरल प्रकोपले कालिकोटका बिरामीको अवस्था जटिल रहेको जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले जनाएको छ । जिल्लामा थप औषधि र स्वास्थ्यकर्मीको आवाश्यकता रहेको उनको भनाइ छ ।

बिरामीमा ज्वरो आउने, टाउको तथा मांसपेशी दुख्ने, खोकी लाग्ने लक्षण देखिएको छ । भाइरलबाट बालबालिका र वृद्धबृद्धाहरु बढि प्रभावित भएका छन् ।

जुम्लामा भाइरल फैलिन नदिन उच्च सतर्कता

दुई सातादेखि फैलिएको भाइरल ज्वरोले छिमेकि जिल्ला कालिकोटमा महामारीको रूप लिएपछि जुम्लामा उच्च सतर्कता अपनाइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयले कालिकोटसँग जोडिएको तिला गाँउपालीका र हिमा गाँउपालीकामा उच्च सतर्कता अपनाइएको बताएको छ ।

खुला सिमाना र सँगसँगै गाँसीएर/छरीएका बस्तीहरुका कारण दैनिकजसो हजारौँ मानिसहरु कालिकोटबाट जुम्ला आऊजाऊ गर्ने हुँदा जुम्लामा पनि भाइरलको प्रकोप भित्रिनसक्ने भन्दै उच्च सतर्कता अपनाइएको बताइएको छ ।

कार्यालयका हेल्थ असिस्टेन्ट किरण शर्माका अनुसार तिला र हिमा गाँउपालीका लगायत आवश्यकता अनुसार जिल्ला भरीकै स्वास्थ्य संस्थाहरुमा औषधि तथा स्वास्थ्यकर्मीको टोलि तयारी अवस्थामा रहेको छ ।

उनले भने, ‘जिल्लामा कुनै पनि औषधि अभाब छैन, सबै स्वास्थ्य संस्थाहरुमा माहामारीको समेत औषधि पठाएका छौँ, हालसम्म जिल्लामा भाइरल भित्रिएको छैन, यदि भाइरल भित्रिएको खण्डमा ठुलो क्षति हुन पाउने छैन ।’

यता प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पौडेलको अध्यक्षतामा बसेको जिल्ला दैविक प्रकोप उद्धार समितिको बैठकले समेत आवश्यक पूर्वतयारी थालेको छ ।

कुनै पनि प्रकोपजन्य माहामारी भित्रिए तत्काल रोक्नेगरी पूर्वतयारी थालीएको हो ।

...

आइतबार, ७ माघ ०७४

 

प्रतिक्रिया

Related