भारतीय राजदूतावासद्वारा पातारासी गाउँपालिकालाई एम्बुलेन्स उपहार

विरामीलाई सदरमुकाम खलंगा ल्याउन एउटा स्वास्थ्यचौकीबाट न्युनतम ३ देखि ६ घण्टा सम्म समय लाग्छ ।
निर्माण सञ्चार, जुम्ला | भारतीय राजदूतावासले गणतन्त्र दिवसका अवसरमा जुम्लाको पातारासी गाउँपालिकालाई एम्बुलेन्स उपहार सहयोग गरेको छ ।

दूतावासले गाउँपालिकाका अध्यक्ष लछिमान बोहोरालाई काठमाडौं बोलाएर शुक्रबार एम्बुलेन्स हस्तान्तरण गरेको हो ।

गत असार महिनामा भारतीय दूतावासमा पातारासी गाउँपालिकाका बासिन्दाले स्वास्थ्य क्षेत्रमा भोग्दै आएको समस्या बारेमा निवेदन दिएको जानकारी दिँदै अध्यक्ष बोहोराले भने, ‘एम्बुलेन्स पाउँदा निकै खुशी छु ।’

एम्बुलेन्सले यहाँका विरामीलाई समयमै अस्पताल पुर्याएर मृत्युबाट बचाउने उनको भनाइ छ । पातारासी गाउँपालिकामा ४ वटा स्वास्थ्यचौकी छन् ।

विरामीलाई सदरमुकाम खलंगा ल्याउन एउटा स्वास्थ्यचौकीबाट न्युनतम ३ देखि ६ घण्टा सम्म समय लाग्छ । एम्बुलेन्स पाएपछि अब सहज हुने भएको स्थानीयबासीले बताएका छन् ।

विरामीलाई सुविधा सम्पन्न अस्पताल पुर्याउन सहज जिल्ला सदरमुकाम खलंगादेखि पुर्वी भेगमा पर्ने पातारासी गाउँपालिकाका विरामीहरुलाई सुविधा सम्पन्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पुर्याउन सहज भएको छ ।

पातारासी स्वास्थ्य चौकीका इन्र्चाज कृष्ण बुढाले भने ‘गाउँपालिकामा एम्बुलेन्सको व्यवस्था भयो, अब विरामीलाई सहजै सुविधा सम्पन्न अस्पताल पुर्याउन सकिन्छ ।’

उनले भने ‘यहाँ विशेषगरी मातृशिशु मृत्युदर बढी नै छ । स्थानीय तहमा सुविधा सम्पन्न स्वास्थ्य संस्था छैनन्, महिलाहरु असुरक्षित घरमै सुत्केरी हुन्छन् र त्यसले गर्दा मातृशिशु मृत्युदर वृद्धि भएको हो ।’

एम्बुलेन्स व्यवस्थापनमा चुनौति

सार्वजनिक अर्थात सरकारी सवारी साधनको पछिल्लो समयमा व्यवस्थापन चुनौति देखिएको छ ।

सरकारी साधन दुरुपयोग र जथाभावी संचालन गर्ने भएकोले यसको मर्मत सम्भार नहुने र एक डेढ बर्षमै थन्काउनुपर्ने अवस्था आउने गरेको छ ।

यसभन्दा पहिला तत्कालिन मालिकाबोता गाविस र नेपाल रेडक्रस सोसाईटी शाखा जुम्लाले २ वटा एम्बुलेन्स संचालन ल्याएका थिए तर मर्मत सम्भारका अभावले थन्किएका छन् ।

जुम्लाबाट सागर परियारको रिपोर्ट

...

सोमबार १५ माघ ०७४ 

प्रतिक्रिया

Related