जुम्लाः अनुदानको चामल बाट घरेलु मदिरा

हरेक घरघरमा घरेलु मदिराका भट्टी: निम्त्यो घरेलु हिंसा
निर्माण सञ्चार, जुम्ला | नेपाल खाद्य संस्थान शाखा कार्यालय जुम्लाले अनुदानमा विक्री वितरण गर्दै आएको चामल खाना भन्दा घरेलु मदिरा उत्पादनमा प्रयोग हुने गरेको छ ।

संस्थानले अनुदानमा विक्री वितरण गर्दै आएको मोटो चामल स्वादिलो नहुने र घरेलु मदिरा उत्पादनका लागि मात्रै उपयुक्त हुने उपभोक्ताहरुको भनाई रहेको छ ।

‘यो चामलको घरेलु मदिरा निकै राम्रो मानिन्छ,’ पातारासी गाउँपालिकाका स्थानीय धनराज बुढाले भने ।

खाद्य संस्थानबाट चामल भात खानको लागि भनेर ल्याउने तर गाउँघरमा भट्टीबाट मदिरा उत्पादन गरेको पाइएको छ । खानको लागि भनेर संस्थानबाट लिएको चामलको गलत प्रयोग भएको बताइएको छ ।

मदिरा बनाउनका लागि किनेको चामलको मूल्यको दोब्बर फाइदा हुने गरेको स्थानीयको अनुभव छ ।

धनराजले भने, ‘मोटो चामलको कुहाएर रक्सी बनाउँदा नसा दिनुका साथै स्वादिलो पनि हुन्छ ।’

बजारमा पाइने महंगो चामलको विहान बेलुका भात खादै आएपनि संस्थानको मोटो चामल मदिरा उत्पादनकै लागि ल्याउने गरेका छन् स्थानीय ।

‘संस्थानले प्रति व्यक्ति दुई बोरा अर्थात् ६० केजी दिन्छ, एकमुष्ट १५–२० बोरा एकै जनाले लिएर गाउँमा मदिरा उत्पादन गर्दछन्,’ स्थानीय मानबहादुर बुढाले भने, ‘महंगोमा मदिरा विक्री गर्छन ।’ हिउँदमा बनाएको जाड रक्सी यार्सा सिजनमा विक्री गर्छन यहाँका स्थानीय ।

उनीहरु पाटनमा मदिरा लगेर यासासँग साट्दै आउँछन् ।

बूढाले भने, ‘संस्थानको चामल मात्रै पकाउँदा भात स्वादिलो हुँदैन, घरेलु चामलसँग मिसाएर प्रयोग गर्ने गरीन्छ ।’ तर, घरेलु चामल नहुनेले भने मदिराकै लागि यो चामल किनेर ल्याउँछन् ।’

सदरमुकामका भोटे, पातारासी र गोठिचौर गाउँपालिकाका किसानहरु पनि यो चामल लिएर मदिरा बनाउने गरेका छन् ।

‘संस्थानमा आएर विहे, भोज भतेरका लागि भन्दै चामल लिन्छन्, स्थानीय मानवहादुरले भने ‘गाउँमा चामलको दुरुपयोग गर्छन् ।’ तर, संस्थानको चामल दूरुपयोगबारे हालसम्म कसैले अनुसन्धान नगरेको उनको गुनासो छ ।

मदिरा बनाउनको लागि यो चामल प्रयोग नभएमा संस्थानमा चामल किन्ने संख्यामा निकै कमी आउने जानकारहरु बताउँछन् । संस्थानको चामलले गाउँमा मदिराको सँस्कृति मौलाउँदो अवस्थामा छ ।

‘संस्थानलाई जसरी पनि चामल बेच्नु छ, स्थानीयलाई मदिरा बनाउनु छ, कसले निगरानी राख्ने ?’ पातारासीका मणिकृष्ण बुढाले भने, ‘यो चामलको गाउँमा सदुपयोग हुन सकेको छैन ।’

पातारासी गाउँपालिका, छुमचौर, डिल्लीचौर, पट्मारा, गोठिचौर र चन्दननाथ नगरपालिका क्षेत्रमा संस्थानको चामल घरेलु मदिरा उत्पादनमा प्रयोग हुने गरेको छ ।

संस्थानको चामल सस्तो हुने भएकोले गाउँमा चामलको गलत प्रयोग हुने गरेको स्थानीयले बताए । गाउँमा स्थापित सानातिना पसलदेखि घरघरमा चामलको मदिरा पाउने गरेको छ ।

अहिले संस्थानको चामल किन्न आउनेको संख्यामा कमी आउँदै गरेको छ । खलंगा लगायतका स्थानीय वजारमा खोजेकै चामल पाउन थालेपछि संस्थानको चामल मदिरा बनाउका लागि मात्रै किन्ने गरेका हुन् ।

खाद्य संस्थानमा अरुवा मोटो चामल प्रतिकेजी ४०, अरुवा मकवानपुर ३९ रुपियाँ ९० पैसा, उसिना चामल ३४ रुपियाँ, मध्यम ४५ र सोना मन्सुली ४९ रुपियाँ प्रतिकेजीमा विक्री भइरहेको छ ।

संस्थान प्रमुख रणवहादुर ऐरले भात खाने मनसायले संस्थानवाट उपभोक्ताले चामल लिने गरेको बताए । उनले भने, ‘प्रतिव्यक्ति दुई बोरा चामल उपलव्ध गराउँछौ, गाउँमा केमा प्रयोग भईरहेको छ, हेर्न सकेका छैनौ ।’

 खाद्य संस्थान हुदैन सचेत

निम्न आयस्तर भएका नागरिकहरुका लागि सरकारले सहुलियतमा खाद्य संस्थानबाट वितरण गर्दै आएको चामल खाने भनी लिएर घरमा मदिरा बनाउँदा समेत नेपाल खाद्यसंस्थान शाखा जुम्ला आँखा चिम्ली बसेको छ ।

चामल लिनेहरु सबै खाने भन्दा मदिरा उत्पादन गर्ने उद्देश्यले आउँदा समेत अब कस्ता व्यक्तिलाई चामल दिने भन्ने बारे संस्थान सचेत छैन । संस्थानको चामल बढी प्रयोग गर्नेमा पनि उनिहरु नै पर्छन् ।

जो सधै संस्थानबाट क्वीन्टलका दरले चामल लिन्छन् । आगामी दिनमा पातारासीका स्थानीयलाई चामल दिदाँ विशेष सजकता अपनाउने संस्थानका प्रमुख रण बहादुर ऐरेले प्रतिबद्धता गरे ।

प्रयोजनभन्दा चामलको गलत प्रयोग गरे जोसुकैलाई पनि वितरणमा रोक लगाउने उनको भनाई छ ।

 घरेलु मदिरा उत्पादक छैनन् करको दायरामा 

जुम्लामा अत्यधिक मात्रा घरेलु मदिरा उत्पादन हुने गर्दछ । यस जिल्लाका १८ हजार घरधुरिमध्ये बहु संख्यक घरधुरीमा घरेलु मदिरा उत्पादन गर्ने गर्दछन् ।

घरेलु मदिरा खुला रुपमा विक्री वितरण भईरहेको छ । जिल्ला करदाता सेवा कार्यालय जुम्लाका कर अधिकृत खडानन्द खत्रीले जुम्लामा जति पनि घरेलु मदिरा उत्पादन हुन्छन् ति सबै अबैधानिक रुपमा उत्पादन र विक्री वितरण भईरहेको बताए ।

उनले भने ‘घरेलु मदिरा उत्पादक कुनै पनि कर दायरामा आएका छैनन् ।’ गैर कानुनी रुपमा उत्पादन गरिएका घरेलु मदिरा राज्यले बन्देज गर्नुपर्ने उनको भनाइ छ ।

यसका लािग सवैको साथ र सहयोगको आवश्यकता रहेको कर अधिकृत खत्रीले बताए । प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जुम्लामा गैर कानुनी रुपमा घरेलु मदिरा उत्पादन भईरहेको विषयलाई स्वीकार्दै यसको रोकथाम र नियन्त्रणमा प्रहरी प्रशासन लागी परेको बताए ।

उनले भने ‘घरेलु मदिरा उत्पादन तथा विक्री वितरणमा प्रहरी प्रशासन लगायत अन्य राजनीतिक दल स्थानीय सरकार सवैको हातेमालो हुनु पर्दछ ।’ घरेलु मदिरा उत्पादकले बैधानिक रुपमा कर को दायरामा आएर उत्पादन र विक्री वितरण गर्नुपर्छ होइन भने बन्द गर्नुपर्छ ।

अनुदानको चामल मदिरा उत्पादनमा प्रयोग भएको भन्ने खबर प्राप्त भएको छ त्यस विषयमा खाद्य संस्थानलाई आवश्यक निर्देशन गर्ने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

उनले भने ‘भोकमरी नहोस् र छाक टार्नका लागि राज्यले अनुदानमा दिएको चामल दुरुपयोग गर्न मिल्दैन ।’

 मदिराले निम्त्यो घरेलु हिंसा

जुम्लामा अत्याधिक रुपमा पुरुषले मदिरा सेवन गर्ने र श्रीमतिलाई कुटपिट गर्ने गरेको उजुरी प्रहरीमा आउने गरेको महिला तथा बालबालिका सेवा केन्द्रकी प्रहरी जवान शान्त चौधरीले बताईन् ।

उनले भनिन् ‘घरेलु हिंसाको मुख्य कारण नै मदिरा सेवन भएको छ ।’

घरेलु हिंसा पीडित महिलालाई अल्पकालिन आश्रय दिदै आएका महिला सेवा केन्द्र जुम्लाका अध्यक्ष भगवति श्रेष्ठले जुम्लामा छाडा मदिरा सेवन घरेलुहिंसाको मुख्य कारण बन्दै गएको बताउँछिन् ।

उनले भनिन् ‘अल्पकालिन आश्रयका लागि आउने अधिकांश महिलाले श्रीमानले मदिरा सेवन गरी कुटपिट गर्ने, पालनपोषण नगर्ने भन्ने गरेका छन् ।’

जुम्लामा हरेक घरघरमा घरेलु मदिराका भट्टी रहको त्यसको मारमा महिला पर्ने गरेको उनको दाबी छ ।

जुम्लाबाट सागर परियारको रिपोर्ट

...

सोमबार १५ माघ ०७४ 

प्रतिक्रिया

Related