टिबिएमको प्रयोगले भेरी–बबई डाइभर्सन टनेलको काम तीव्र गतिमा हुँदै, दुई महिनामै खनियो १७ सय मिटर

परम्परागत अत्याधुनिक टनेलिङमा फरकः मेलम्चि १८ वर्षसम्म छैन अझै आएको, भेरी–बबई सम्पन्न हुँन्छ तोकिएको अवधिभन्दा अगाडी नै !
निर्माण सञ्चार, काठमाडौँ | अत्याधुनिक प्रविधिको प्रयोग गरिएको भेरी डइर्भसन आयोजनाको निर्माणकार्य तीव्ररुपमा अगाडी बढेको छ ।

नेपालमै पहिलोपटक प्रयोग भएको चीनबाट ल्याइएको टनेल बोरिङ मेसिन (टीबीएम) मार्फत सफलताका साथ दु्रतगतिमा सुरुङ निर्माणले तीव्रता पाएको हो ।

दुई वर्षभित्र १२ किलोमिटर सुरुङ खन्ने लक्ष्यका साथ २ महिनाअघि टीबीएममार्फत खन्न सुरु गरेकोमा हालसम्म भण्डै १७ सय मिटर सुरुङ खनिसकिएको छ ।

भेरी–बबई सिंचाइ आयोजना यस्तो उदाहरण हो, जसले परम्परागत टनेललाई स्थानान्तरित गर्दै नेपालको पूर्वाधार विकासलाई नयाँ युगमा पुगेको सन्देश दिएको छ ।

यो टेक्नोलोजी सफल भयो भने नेपालको विकासमा टनेल बहूद्देश्यीय कामका लागि प्रयोग गर्न सकिने रहेछ भन्ने सन्देश यसले दिने छ ।

आर्थिक वर्ष ०६८/६९ मा सुरु भएको आयोजनाअन्तर्गत ऊर्जा, सिँचाइ, ग्रामीण विकास र जलाधार संरक्षणजस्ता वहुउद्देश्यीय विकासलाई एकसाथ योगदान दिने उद्देश्य राखिएको छ ।

नेपालले नै सबै टेक्नोलोजी बनाउनै पर्छ भन्ने हैन, तर यसको प्रयोगबाट सिक्ने कुरा धेरै छन् भन्छन् सिँचाइ विभाग अन्तर्गत सञ्चालित भेरी–बबई डाइभर्सन बहूद्देश्यीय परियोजनाका परियोजना निर्देशक शिवकुमार बस्नेत ।

‘यसको प्रयोगले नेपालको हाइड्रो विकासको इतिहासमा मात्रै हैन कि, पूर्वाधार विकासको क्षेत्रमा नै हामीलाई नयाँ युगमा धकेलिदिएको छ’, उनले भने ।

निर्देशक बस्नेत भन्छन् ‘टनेलमा टि.बि.एम.को प्रयोगले हिजोका विकासे शैली माथि प्रश्न चिह्न उठाएको त छ नै, एकै साथ अबका दिनमा कसरी तीव्र विकास हासिल गर्न सकिन्छ भन्ने प्रश्नको पनि जवाफ दिएको छ ।’

यता २८ वर्षदेखि सुरु भएको मेलम्चि खानेपानी आयोजना परम्परागत प्रविधिको प्रयोगले आजसम्म सम्पन्न हुनसकेको छैन ।

जसकारण समय बढी खपत त छँदैछ, जनशक्तिदेखि लागत खर्च पनि उत्तिकै बढेको छ । यसले गर्दा राज्यका धेरै पक्षमा हानी पुगेको छ । तर, यस टीबीएम मेसिन भने देशका पूर्वाधार विकासमा साँच्चै एउटा उदारणीय प्रविधि बनेको छ ।

आयोजनाको कुल लागत कति ?

आयोजनाको कुल लागत १७ अर्ब अनुमान गरिए पनि सुरुङ निर्माण भने १० अर्ब ५६ करोडको लागतमा सम्पन्न हुनेछ ।

आयोजना सुरु भएयता सवा २ अर्ब रपियाँ खर्च भइसकेको छ भने बजेटको अभाव नरहेको आयोजनाले जनाएको छ । हालको कामको गतिअनुसार मासिक करिव ४० देखि ५० करोड खर्च हुने गरेको बताइएको छ ।

 निर्माणकार्यले कति पायो तीव्रता ?

हालसम्म आयोजनाको समग्र कामको २५ प्रतिशत प्रगति भएको छ । समयमै नमूनाको रूपमा आयोजना सम्पन्न हुनेमा आशावादी रहेको न आयोजनाका निर्देशक शिवकुमार बस्नेतले जानकारी दिए ।

आयोजना अन्तर्गत हेडवक्र्स, टनेल र पावर हाउस तीनवटा मुख्य संरचना निर्माण हुने भएपनि हालसम्म टनेल र यससँग सम्बन्धित संरचनाहरू निर्माण भइरहेको आयोजनाले जनाएको छ ।

बबईको छेउवाट सुरुङ खन्दै जाँदा सुरुङको ६ किलोमिटर सम्भावित जोखिम क्षेत्र रहेको र सो पार भइसकेपछि बाँकी ६ किलोमिटरमा जोखिम न्यूनमात्र हुने भएकोले हेडवक्र्स निर्माणको काम सुरु गर्ने रणनीतिक योजना रहेको उनको भनाइ छ ।

हेडवक्र्स र पावरहाउसवाहेक सुरुङ निर्माणका साथै यसको लागि चाहिने अढाई किलोमिटर बाटो, टीबीएम मेसिनलगायत सवै कार्य गर्न चाइना ओभरसिज कम्पनीसँग सम्झौता भइरहेको आयोजनाले जनाएको छ ।

स्थानीयलाई रोजगारीआयोजनाको सुरुङ खन्ने कार्यले गति लिएसँगै सयौं स्थानीय युवाले रोजगारी पाएका छन् । आयोजनाअन्तर्गत करिव ६ सय जना कामदार रहेकोमा करिव ५ सय नेपाली छन् ।

अध्ययन क्षेत्रको रूपमा लिइँदै टनेल बोरिङ मेसिन (टीबीएम) मार्फत सुरुङ खन्नु नेपालका लागि नयाँ प्रयोग भएकोले यो आयोजना अध्ययन क्षेत्रको रूपमा विकास हुदै गएको छ ।

मेसीनले कसरी सुरुङ खन्ने गरेको छ भनेर हाल यो मेसिन हेर्न दैनिक सयौं व्यक्ति आयोजनास्थल हात्तीखाल पुग्ने गरेका छन् । आयोजनाको स्थलगत अध्ययनका लागि दैनिक भीड लाग्न थालेपछि एकजनालाई भिजिटर गाइडको रूपमा जिम्मेवारी दिइएको छ ।

‘नेपाल अब टनेल युगमा प्रवेश गर्यो भन्दा फरक पर्दैन, टनेल बिना अबको सडक र हाइड्रो उत्पादन अपांग हुन्छ, अपूर्ण रहन्छ’, स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) का अध्यक्ष शैलेन्द्र गुरागाईले निर्माण सञ्चारलाई बताए ।

उनी भन्छन् ‘एमाले अध्यक्ष ओलीले भनेझैँ हामीलाई विकास मात्रै हैन तीव्र विकास चाहिएको छ, हो त्यही तीव्र विकासबाट आर्थिक समृद्धिमा फड्को मार्नुछ ।’ अबको पूर्वाधार विकासमा टनेल चाहेर पनि पन्छाउन नसकिने उनको दाबी छ ।

काठमाडौंको भृकुटीमण्डपमा गत पुस २१–२३ गते ‘हिमालयन हाइड्रो एक्स्पो–२०१८’ सम्पन्न भएको थियो । आयोजक थियो इप्पान । जहाँ अत्याधुनिक टनेल प्रविधिले विशेष चर्चा पाएको थियो ।

एक सिनयिर कन्सल्टेन्ट तथा ऊर्जा उत्पादकले भने, ‘उक्त प्रस्तुतिले नेपालमा टनेल बिनाको विकास अब कस्तो होला भन्ने आँखा देखाइदियो । सरकार भन्ने जातले हाम्रै जसरी यो कुरा बुझिदेला कि नदेला ?’

सहभागी धेरै इन्जिनियरहरुको लगभग एउटै निचोड रह्यो– यस खाले अत्याधुनिक टनेलको प्रयोग बिना आजको तीव्र विकासको नेपालको लक्ष्य हासिल हुन सक्तैन ।

यस खाले प्रविधिको प्रयोग नगरिदा हिजोका दिनमा भएका सडक पूर्वाधार विकासका कमजोरीबाट आजको पुस्ता पीडित बनिरहनु परेको रहेछ भन्ने आँखा खुलेको पनि उनीहरुको प्रतिक्रिया थियो ।

डाइभर्सनका लक्ष्य:यसरी सहायक हुँदैछ ‘टनेल टेक्नोलोजी’

यस परियोजनाको सिँचाइ र विद्युत् उत्पादन दुइटा लक्ष्य छन् ।

सिँचाइ तर्फ सुर्खेतको छिन्चुबाट १२ किमी लामो सुरुङ बनाएर भेरी नदीको पानी बबईमा खसाउने योजना अनुरुप परियोजनाको टेन्डर पछि निर्माण कार्य जारी छ ।

पाँच वर्षमा सक्ने लक्ष्य राखिएको यो आयोजनाबाट ४८ मेगावाट विद्युत् उत्पादन हुने छ ।

बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ भइरहने छ । त्यस्तै, कालीगण्डकी–तिनाउ, राप्ती–सुराई र सुनसरी–वाग्मती डाइभर्सनको सम्भाव्यता अध्ययन सुरू भएको छ ।

कालीगण्डकीको पानी तिनाउमा ल्याएर रूपन्देहीको ६० हजार हेक्टर जमिनमा बाह्रै महिना सिंचाइ उपलब्ध गराउने कालीगण्डकी–तिनाउ डाइभर्सनको लक्ष्य भने राप्तीको पानीलाई ९ किमी सुरुङबाट सुराई खोलामा ल्याएर कपिलवस्तुमा सिँचाइ गर्ने योजना छ ।

त्यस्तै, सुनकोशीको पानी १३ किमी लामो सुरुङ बनाएर वाग्मती सिँचाइ आयोजनामा पुर्याउने सुनकोशी–वाग्मती डाइभर्सनको लक्ष्य रहेको छ ।

...

शुक्रबार १२ माघ ०७४  

प्रतिक्रिया

Related