पुर्ख्यौली पेसालाई आधुनिककीरण गरेर मासिक ३० हजार

लोप हुन लागेको पेसाको जर्गेना, तालिमको पर्खाइमा आरन व्यवसायी
निर्माण सञ्चार, काठमाडौँ | पछिल्लो समय लोप हुँदै गएको आरन पेशाबाट यहाँका एक व्यक्तिले मनग्य आम्दानी गरिरेहका छन् ।

परम्परागत रुपमा दलित समुदायले गर्दै आएको कृषि औजार तथा भाँडाकुँडा बनाउने आरन पेशा पछिल्लो समयमा लोप हुँदै गएको छ । तर, यसलाई व्यावसायिक रुपमै सञ्चालन गर्ने हो भने राम्रो आम्दानी हुने उदारहण प्रस्तुत गरेका छन् तातोपानी गाउँपालिक २ का विरभद्र कामी “लुहारले” ।

बाउबाजेको पालादेखि घरमै आरन व्यवसाय गर्दै आएका कामीलाई कृषि औजार र मूर्ति बनाउन कुनै तालीम लिनु परेन ।

घरमै आरन उद्योग सञ्चालन गरेका लुहारले कुटो, कोदालो, फरुवा, बन्चरो, हँसिया, खुकुरी, दावा, खुर्पालगायतका घरायसी कृषि औजार बनाउने गरेका छन् ।

साथै उनले फलाम, तामा र सिल्भरका विभिन्न डिजाइनका भाँडाकँुडा जस्तै गाग्री, लोटा, डाडु, पन्यु डेक्ची, कडाई, अम्खोरा, करुवालगायत पनि बनाउने गरेका छन् ।

यो व्यवसायबाट उनको मासिक २० हजारसम्म आम्दानी गर्ने गरेको छ । सीप र जागर भएमा गाउँमै स्वरोजगार बन्न सकिने आरन व्यवसायी कामीको भनाई छ ।

महिनाको २० हजारसम्म कमाइ हुन्छ, उनले भने, ‘मेहनत गर्नसके स्वरोजगार बन्न सकिँदो रहेछ ।’ विना तालिम सिपले पनि आफु आत्मनिर्भर बन्न सफल भएको उनको दाबी छ ।

कामीले पछिल्लो समय जिल्लामा कृषि व्यवसाय विस्तार हुँदै जाँदा कृषि औजारको पनि माग बढेकाले अहिले यो व्यवसायबाट राम्रो आम्दानी भइरहेको बताए ।

परम्परागत रुपमा आफ्नै बाउबाजेले गर्दै आएको पेशा, व्यवसायलाई आधुनिकीकरण गर्ने हो भने आफ्नै गाउँ ठाउँमा स्वरोजगार बन्न सकिने उनको तर्क छ ।

आरन पेशा व्यावसायिक बनेपछि अहिले घरखर्च चलाउन विरभद्र कामीलाई सहजभएको छ ।

सिजनअनुसार आरन पेसाको महत्व हुने भन्दै साउन भदौमा विभिन्न अन्नपात गोडमेल गर्नको लागि नयाँ कुटो कोदालो बनाउनेहरुको घुईचो लाग्ने गर्दछ ।

अर्का आरन व्यवसायी मान बहादुर सुनारले भने, ‘धेरै कमाउने मनसायले कोही विदेश कोही कालापहाड निष्केपछि हराउन थालेको छन् ।’

यो पेशालाई जोगाउन र आफ्नो घरखर्च चलाउन पनि आरन पेशालाई व्यवसायीकता दिने गरेको बताए ।

 खलो प्रथा छाडेर आर्थिकतिर आरन पेशा

जुम्लाका ग्रामीण क्षेत्रमा प्रायः दलित समुदायले मात्रै आरन पेशा अगाल्दै आएका छन् ।

लामो समयदेखि व्यावसायिक बन्न नसकेका लुहार समुदायहरु अहिले चेतनाको विकाससँगै परम्परागत पेशाबाटै मनग्य आम्दानी गर्ने गरेका छन् । धन कमाउन विदेशमा भौतारिनु पर्ने स्थिती छैन ।

यता आरन व्यवसयी मुन बहादुर कामी भने कुटो कदालो बनाएरै घर खर्च चल्ने बताउँछन् । अझ कुनै निकायले सहयोग दिएर आधुनिकरण गर्नसके आम्दानीको मुख्य स्रोत हुने उनको आशा छ ।

पहिले मालिकको घरबाट भाँडाकुँडा बनाइदिएबापत क्षेत्रि जातका मान्ेछबाट थोरै अन्न लिने गरिन्थ्यो । तर चेतना बृद्धि भएसंगै अन्नपात नलिई अहिले नगदमै कारोबार हुने गरेको मुन बहादुर कामीले सुनाए ।

अहिले तातोपानी गाउँपालिका २ मा आरन पेशा गर्ने ३/४ जना सिजनअनुसार मासिक २० देखि ३५ हजारसम्म कमाउने गरिरहेका छन् ।

औजार बनाएको तथा पुराना औजारमा धार लगाएबापत पहिले घरघरमा पुगेर अन्न लिने प्रचलनलाई खलो प्रथा पनि भन्ने गरिन्छ ।

पछिल्लो समय चेतनास्तरमा विकास हुँदै गएपछि दलित समुदाय खलो प्रथा छोडेर आर्थिक कारोबारले व्यावसायिक बन्दै गएका छन् ।

रोजगारी छैन भन्दै खाडीमुलुकमा पसिना बगाउन जाने युवाले यी व्यवसायीबाट पाठ सिक्न जरुरी रहेको जर्मी गाउँका अगुवा रण बुढाकोे भनाइ छ ।

तालिमको पर्खाइमा आरन व्यवसायी

पुर्खाैली पेशालाई व्यवसायिकता दिनको लागि नयाँ ज्ञान सिप आवश्यक पर्छ नै । तर, जुम्लाका आरन व्यवसयीहरु विना ज्ञान सिपको पुर्खाैली पेशाका संरक्षणसंगै आम्दानी पनि गरिरहेका छन् ।

पुरानै शैलीबाट भाडा कुँडा, बनाउँदा निकै समय लाग्ने धुलो धुवाँमा धेरै समय बिताउनुपर्ने हुँदा निकै समस्या भएको आरन व्यवसायीहरुको गुनासो छ ।

अब स्थानीय सरकाले पनि देशमा रोजगारी सिर्जना गर्नका लागि यस पेशाको व्यावसायिक तालीम सञ्चालन गरी साना व्यवसायीलाई प्रोत्साहन गर्न आवश्यक रहेको छ ।

लोहर समुदायले मात्रै गर्ने यो व्यवसायलाई सर्वव्यापक बनाई गाउँठाउँमै रोजगारी सृजना गर्न समयसपेक्ष तालिमको आबश्यक रहेको र त्यसतर्फ सबै सरोकारवाला निकायले ध्यान केन्द्रित गर्नुपर्ने स्थानीय बुद्धिजीवीको जोड छ ।

 

जुम्लाबाट सागर परियारको रिपोर्ट

...

बुधबार १७ माघ ०७४

 

 

प्रतिक्रिया

Related