अब जुम्लामा पनि सुरक्षित पशुः गाउँमै शिविर संचालन

किसानको राहातका लागि प्रत्येक ३/३ महिनामा शिविर चलाउने परियोजनाको योजना
निर्माण सञ्चार, काठमाडौँ | जुम्लामा रहेका झण्डै १८ हजार घरधुरीमा पशुपालनबाट कोही पनि विमुख छैनन् । गाई, भैँसी, भेडाबाख्रा, खच्चड र घोडीपालन लगायत अन्य पशुपालन व्यवसाय सबैले गरिररहेका छन् ।

जुम्लामा आहारको कमी भन्दा पनि प्राकृतिक प्रकोप र विभिन्न रोग लागेर पशुचौपाय मर्ने समस्या विद्यमान छ ।

स्थानीय सरकार आउनु पहिले पशुसेवा कार्यालयबाट प्रवाह हुने सेवा लक्षित वर्गभन्दा हालीमुहाली गर्नेहरुको पोल्टोमा पर्ने प्रवृत्तिले समस्या थियो ।

तर, अहिले स्थानीय सरकार आएपछि पनि स्पष्ट कार्यदिशा नीति निर्देशन नभएको भन्दै कुनै प्रभावकारी काम भएका छैनन् ।

पशुचौपायको स्वास्थ्य चेकजाँच लगायत अन्य कुरा त टाढाको रहेको स्थानीयको भनाइ छ । गतवर्ष मात्रै चरचरे रोग लागेर जुम्लामा झण्डै १० हजार बढि भेडाबाख्राको मृत्यु भयो ।

भेडाबाख्रा व्यवसायीहरुले राहातको माग गरेपनि पाउन सकेनन् । त्यस्तै, २०७२ सालमा आएको भूकम्पले झण्डै १५ हजार बढि पशुचौपाय पाटनमै मरेको तथ्यांकमा उल्लेख छ ।

यस्तै, विभिन्न समस्यालाई मध्यनजर गर्दै किसानहरुको राहातका लागि विकास परियोजनाले गत आइतबार जुम्लाको कुडारीमा पशुस्वास्थ्य शिविर संचालन गरेको छ ।

कर्णालीमा अहिलेसम्म पनि हिमपात नभएको कुनै पनि बेला पशुचौपायमा कुनै रोगले संक्रमण नगरोस् भन्ने सोचाइले शिविर संचालन गरेको विकास परियोजना संयोजक दसरथ उपाध्यायले बताए ।

तिला गाउँपालिकाको सबै वडा समेटीने गरी शिविर संचालन गरिएको थियो ।

उनले भने ‘शिविरमा बढीमा १५ सय पशुचौपायको चेकजाँच गर्नेे लक्ष्य राखिए पनि झण्डै ५ हजार पशुचौपाय चेकजाँचका लागि ल्याएपछि किसानहरु धेरै जानकार भइसकेको पाइएको उनको भनाई छ ।’

शिविरमा ४ हजार बढि भेडाबाख्रा, ४ सय बढि गाईगोेरु, १ सय २६ घोडाघोडी, ५४ भैँसी र २२ खच्चडको चेकजाँच गरिएको शिविरमा संलग्न डाक्टर रक्सन कर्मचार्याले बताए ।

उनका अनुसार अधिकांश पशुलाई लुतोको सुई लगाइएको छ । साथै चरचरे रोग, पखला लागेको लगायत अन्य समस्याको औषधी निशुल्क वितरण गरिएको छ ।

बेला बेला पशुहरुको स्वास्थ्य चेकजाँचका लागि शिविर चलाउनु उत्तम हुने डाक्टर कर्मचार्याको भनाई छ ।

 गाउँमै पशुस्वास्थ्य शिविर सयौँ किसानलाई राहात

तिला गाउँपालिका ३ निवासी भैर बुढाका १ सय ५० भेडाबाख्रा छन् । भेडाबाख्रापालन उनको पुर्खैली व्यवसाय हो । गाउँमै पशु स्वास्थ्य शिविर संचालन गरेपनि निकै राहात पुगेको उनको भनाई छ ।

अहिले पनि उनका भेडाबाख्रामा पातलो दिशा गर्ने, र्याल चुवाउने समस्या छ । ‘कति बेला के हुने हो भनी डर लागेको थियो’ उनले भने ‘ठयाक्कै गाउँमा नै विकास परियोजनाले पशुस्वास्थ्य शिविर चलाएपछि ढुंगा खोज्दा देवता भेटिए झै लागेको छ ।’

गत वर्ष चरचरे रोग लागेर झण्डै १ सय १६ भेडाबाख्रा पाटनमै मरे, कुनै निकायबाट राहात पाइएन ।

साथै त्यसबेला पशुस्वास्थ्य शिविर चलाएपनि गाउँका किसानका भेडाबाख्राले अबसर नपाएपछि सबै भडाबाख्रा मरेको उनको गुनासो छ ।

त्यस घटनाबाट प्रत्येक किसानले झण्डै ३ देखि ५ लाखको हाराहारीमा नोक्सान व्यवहोेर्रनु परेको उनको दाबी छ ।

तर, यसरी गाउँमै डाक्टरसहितको टोली ल्याई पशुचौपाय चेकजाँच गरी निशुल्क औषधी दिने व्यवस्था गरेकोमा विकास परियोजनालाई कुडारीका एकसय बढि भेडापालन किसानले धन्यबाद दिएका छन् ।

गाउमै आफ्ना ५० बढि भेडा बाख्राको चेकजाँच गर्न पाएपछि कुडारीकै कल्या रावत मख्ख छन् ।

उनका २ सय भेडाबाख्रा थिए । तर, गत वर्ष चरचरे रोग लागेर उपचार गराउन नपाई सबै मेर । आफुले मात्रै भण्डै ७ लाखको घाटा खाएको उनले बताए ।

उनले भने ‘पछि कुनै समस्या नहोस् भन्नका लागि शिविर चल्ने थाहा पाएपछि आफ्ना भेडाबाख्रा चेकजाँचका लागि लेराएको हुँ ।’

गाउँमा नै शिविर चलेपछि तिला गाउँपालिकाका सयौ किसानलाई राहात महसुस भएको छ ।

जुम्लामा हुने पशुचौपायको समस्यालाई मध्यनजर गर्दै प्रत्यक ३/३ महिनामा जिल्लाभरि शिविर संचालन गर्ने विकास परियोजनाको योजना छ ।

तिला गाउँपालिका ३ कुडारीमा संचालन भएको शिविरमा खर्च भने १० लाख बढी भएको जनाइएको छ । विकास परियोजना कृषि क्षेत्रको समृद्धिका लागि काम गर्ने परियोजना हो ।

यूरोपियन युनियनको आर्थिक सहयोग तथा प्राईटिकल एक्सनको समन्वय र सेडा नेपाल जुम्लाद्धारा संचालित विकास परियोजना हो ।

जुम्लाबाट सागर परियारको रिपोर्ट

...

मंगलबार १६ माघ ०७४ 

प्रतिक्रिया

Related