आईसिआइडीकाे आठौं एशियाली क्षेत्रीय सम्मेलन काठमाडौँमा हुँदै

कृषि क्षेत्रमा सहयोग पुर्याउने हाम्रो मुख्य उद्देश्यः आइसिआइडी
निर्माण सञ्चार, काठमाडौँ । अन्तर्राष्ट्रिय सिंचाइ तथा जल विकास नियोग -International Commission on Irrigation and Drainage - ICID_ ले २०७५ वैशाख १९–२१ काठमाडौँमा क्षेत्रीय सम्मेलन आयोजना गर्ने भएको छ ।

आइसिआइडीको गठन भारतको नयाँ दिल्लीमा सन् १९५० मा भएको थियो भने यसको सदस्यता सन् १९७३ मा नेपालले पनि पाएको थियो ।

तर, हालसम्म नेपालमा आइसिआइडी सम्बन्धी कुनैपनि सम्मेलन तथा छलफल हुन सकिरहेको थिएन । नेपाल सरकार, सिंचाइ विभाग र नेपाल राष्ट्रिय पानी तथा जल निकास कमिटी -Nepal National Committee of Irrigation and Drainage_–NENCID (नेन्सिड) को संयुक्त आयोजनामा यो कार्यक्रम आयोजना हुन गइरहेको हो । नेन्सिडको अध्यक्षमा सिंचाइ विभागका महानिर्देशक रहने व्यवस्था रहेको छ ।

यो एउटा सिंचाइ, नदी नियन्त्रण एवं कृषि योग्य जमीनबाट पानी निकासका क्षेत्रमा वैज्ञानिक अनुसन्धान र प्राविधिक ज्ञानलाई अन्तर्राष्ट्रिय रुपमा आदान–प्रदान गर्न गठित अन्तराष्ट्रिय गैर सरकारी संस्था हो ।

सय सस्थाले सयभन्दा बढी देशमा रहेका प्राविधिकहरुको संजालको माध्यमबाट प्राविधिक क्षेत्रका अनुभव आदान प्रदान, क्षमता अभिवृद्धि, अनुसन्धान आदि कार्य मार्फत सदस्य राष्ट्रलाई सिंचित कृषिको विकासमा सहयोग पुर्याउने काम गरिरहेको छ ।

नेपालमा सिचित कृषिले अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउने हुँदा सिंचाइ तथा जल व्यवस्थापनलाई अन्तर्राष्ट्रिय स्तरमा विकास गर्ने र यस क्षेत्रमा कार्यरत जनशक्तिको अनुसन्धात्मक र प्राविधिक क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने उद्देश्यले आइसिआइडीको आठौं एशियाली क्षेत्रीय सम्मेलन गर्न लागिएको आइसिआइडीले बताएको छ ।

यस सम्मेलनको मुख्य नारा नै ‘सदा हरित क्रान्तिका लागि सिंचाइ’ रहेको छ । यस अन्तर्गत क्षेत्रका जल्दा बल्दा समस्यालाई सम्बोधन गर्ने गरी पाँच वटा विभिन्न उप विषय माथि छलफल गरिने छ ।

विभिन्न २२ वटा मुलुकका करिब १०० वटा अनुसंधान एवं अनुभव सम्बन्धी कार्यपत्रहरु प्रस्तुत हुने तथा उप विषयमा आधारित पाँच वटा सिम्पोसियमसमेत आयोजना गरिने छ ।

यस सम्मेलनमा करीब ३० वटा देशका २०० विदेशी वैज्ञानिक र प्राविधिकहरुको साथै नेपालबाट करीब ३५० प्राविधिक एवं वैज्ञानिकहरुको समेत सहभागिता हुने छ ।

सम्मेलनका लागि नेपाल सरकार, युएसएड, विश्व बैंक, एशियाली विकास बैंक, अन्तर्राष्ट्रिय जलस्रोत व्यवस्थापन संस्था, इसिमोड एवं कृषक व्यवस्थित सिंचाइ प्रणाली गुठीको आर्थिक एवं व्यवस्थापन सहयोग प्राप्त रहेको छ ।

...

आइतबार, २८ माघ ०७४

प्रतिक्रिया

Related