ओली र आशा: आकांक्षा पूरा गर्ने ‘प्रधानमन्त्री’का रुपमै रहिरहून् !

हार्दिक बधाई !
निर्माण सञ्चार, विशेष सम्पादकीय । लगभग १९ महिना पछि सरकारको दोस्रो पटक जिम्मेवारी सम्हाल्दै एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले दोस्रोपटक प्रधानमन्त्री बनेका छन् । बिहीबार उनी प्रधानमन्त्री बन्दै गर्दा दिनभरका घटनाक्रम छिटोछिटो बदलिए ।

बालुवाटारबाट बाहिरिदै गरेका प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्दै राजीनामा दिए ।

तर, त्यस अघि नै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रको समर्थन सहित संसद्को बहुमत पुग्ने दाबी सहित आफू प्रधानमन्त्री बन्न दाबी पेस गरेका थिए ।

सो दाबी अनुसार राष्ट्रपति कार्यालयले ओलीलाई प्रधानमन्त्रीका रुपमा तत्काल नियुक्त र शपथ ग्रहण गरायो ।

प्रधानमन्त्रीका रुपमा उनले दुईजना सदस्यसहित मन्त्रिपरिषद् गठन समेत गरे, र ५ महत्त्वपूर्णय निर्णयहरु पनि गरेका छन् ।

दोस्रो पटक प्रधानमन्त्री बनेका ओलीको यो पटक अघिल्लो भन्दा निकै बलशाली हैसियत रहेको छ ।

यतिबेला उनको दल संसद्मा सबैभन्दा ठूलो दल बनेको छ, उनी आफू अध्यक्ष रहेको सबैभन्दा उच्चतम उचाइमा उनी पुगेका छन् ।

यसमा वाम गठबन्धनका रुपमा आबद्ध माओवादी केन्द्रको समर्थन रहेको छ । दुवै दलको गरी १७४ सांसदको साथ सहित बहुमत पुगेको अवस्था छ ।

उनलाई संसद्मा तत्काल कुनै चुनौती देखिन्न ।

अघिल्लो ९ मिहना र यतिबेला धेरै कुरामा परिवर्तित परिस्थिति छ । प्रधानमन्त्री ओलीसामु अब पहिलेकोजस्तो चुनौती पनि छैन तथा पहिलेकोजस्तो शंकाको लाभ पाउने अवस्था पनि छैन ।

उनले पद बहाली गरेको दिनदेखि नै के–के काम गर्नेछन् र के–के परिणाम दिएका छन् भनेर सम्पूर्ण जनताले अभिलेख राख्न थाल्नेछन् ।

चुनौतीका तुलनामा प्रधानमन्त्री ओलीका लागि अवसर नै बलिया छन्, जसलाई व्यवस्थापन गर्ने कुशलता भने उनले देखाउनै पर्नेछ ।

यतिकि, नेपालको चीन सम्बन्ध भारत सहित युरोपियन मुलुकका नजरमा सन्तुलनमा राख्नु पर्ने चुनौती पनि सहजता साथ सम्पन्न गर्न सक्ने उचाइमा उनी देखिन्छन् ।

अघिल्लो कार्यकालमा आफ्नो सरकार ढाल्न काँग्रेस माओवादी गठबन्धन विदेशी इसारामा चलेको भन्ने अजेन्डा लगभग जनताले समेत अनुमोदन गरेको देखियो ।

सार्वभौम सत्ता रक्षाका लागि उनले लिएको अडानले ठूलो जनमत कमायो ।

उनले देशका लागि केही गर्ने चाहना राख्दाराख्दै पनि नाकाबन्दीका कारण काम गर्न नपाएको र काँग्रेस माओवादी गठबन्धनका कारण सरकारबाट बाहिरिनु परेको बलियो सन्देश दिन सक्नुले नै उनको दलले चुनावमा यो हैसियत कमाएको देखिन्छ ।

त्यसैले उनले लोकप्रिय समर्थन गुमाएका थिएनन् ।

यतिबेला उनले स्थिर सरकार र आर्थिक समृद्धिको नारा दिएर निर्वाचनबाट जित हासिल गरे । नेपाली जनताले पनि वास्तवमै त्यही चाहेको निर्वाचन परिणामले देखायो ।

विकास र समृद्धिका लागि स्थिर सरकार भन्ने सबैले बुझेको सत्य हो पनि । उनका अगाडि संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सिंगो नयाँ संरचना छ ।

स्थानीय तहदेखि प्रदेश सरकारसम्म एमालेसहित वाम गठबन्धनको अधिकांश स्थानमा सरकार बनिसकेको अवस्था छ ।

यी तीनै तहका सरकारको सफलता असफलतासँग ओलीको भविष्य गाँसिएको छ । यसले नेपालमा कम्युनिस्ट पार्टीको भविष्य समेत कति दिन वा कति वर्ष भन्ने निर्धारण गर्नेवाला छ ।

उनका चुनावी नारा ‘समृद्ध नेपाल र सुखी जनता’को सपना साकार पार्न के गर्नेछन् भन्ने पनि परीक्षा अब सुरु हुनेछ ।

आर्थिक सूचक राम्रा नभएको तथा भ्रष्टाचारले सम्पूर्ण राज्यसंयन्त्र सुशासनका सूचकका दृष्टिले पंगु भएको सन्दर्भमा उनले सुशासन कायम गर्न र जनतामा परिवर्तनको आभास दिन के–के गरे भनेर हिसाब जनताले राख्ने छन् ।

विदेश नीतिका हकमा पनि उनको उचाइ र जनअनुमोदनको मनोविज्ञानलाई सदुपयोग गर्न सके नेपालमा भारतका प्रधानमन्त्री मोदी र चीनका राष्ट्रपति सी भ्रमण गर्ने छन् ।

यसका लागि विगतका प्रधानमन्त्रीहरुले झुके जस्तै लम्पसार पर्नु पर्ने पनि देखिदैन, उनीहरुकै स्वार्थलाई नेपालले सन्तुलनमा प्रयोग गर्न सकेमा नेपाल समृद्ध त बन्ने नै छ, भने दक्षिण एसियामै भारत र चीन बीचमा सन्तुलनकारी भूमिका खेल्न सक्ने नेताका रुपमा पनि ओली नै उभिन सक्ने छन् ।

सुरुकै दिन ओलीले माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन नसक्ता गठबन्धनमा केही न केही दरार रहेछ भन्ने सन्देश गएको छ ।

यसलाई व्यवस्थापन गर्न र दलभित्रको अन्तरविरोध सहज ढंगले हल गर्न सकेनन् भने उनलाई आफ्नो कार्यकाल स्थिर राख्न सहज हुने छैन ।

तर, यी चुनौतीका तुलनामा उनका लागि अवसर नै बलिया छन्, जसलाई व्यवस्थापन गर्ने कुशलता भने उनले देखाउनै पर्नेछ ।

त्यसका लागि आशंका नभई भविष्य हेरेर चल्न ओलीलाई सुझाव दिनेहरु सजग हुनु पर्ने छ ।

यस कार्यकालले मुलुकलाई साँच्चिकै स्वाभिमान र समृद्ध नेपाल बनोस् भन्ने शुभकामना प्रधानमन्त्री ओलीलाई !

 

 

...

शुक्रबार, ४ फागुन, ०७४

 

प्रतिक्रिया

Related