जुम्लाः गाउँमै कुटानीपिसानी मिलले घट्यो महिलाको कार्यबोझ

गाउँमा विद्युत नहुँदा जेनेरेटरबाटै चल्छ मिल
निर्माण सञ्चार, जुम्ला | केही बर्ष पहिले जुुम्लामा अन्नबाली कुटानीपिसानीका लागि २४ घण्टा समय लाग्ने गर्दथ्यो ।

परम्परागत घट्टमा अन्नबाली कुटानीपिसानीका लागि रातभरी आँखा चिम्म पनि गरी कुर्नपर्ने महिलालाई बाध्यता थियो ।

पुरुष प्रधान देशमा महिलाले नै घरधन्दामा बढी लागिपरेका छन् । यहाँ पुरुषहरुले घरायसी काम कमै मात्रमा गर्ने प्रचलनको हाबी छ ।

चन्दननाथ नगरपालिका ८ तलिउमकी हाँसा धरालाले भनिन् ‘पुरुषलाई घरभित्र खानपिन सकिएको थाहा हुँदैन र घरभित्रको बढी काम महिलाले नै गर्छन् ।’

उनले भनिन् ‘केही बर्ष पहिला कुटानीपिसानीका लागि घर छोडेर रातभरी कुर्नपर्ने बाध्यता थियो ।’

अहिले समय कालखण्ड परिवर्तनअनुसार गाउँमै कुटानीपिसानीका लागि आधुनिक मिल संचालन भएपछि महिलाको कार्यबोझ घटेको र सहज भएको उनले बताईन् ।

उहिले अन्नबाली कुटानीपिसानीका लागि रातभरी कष्ट गरेर विभिन्न अपराधिक घटनाबाट जोगिएर घर फर्किनु पर्ने अवस्था अहिले टरेको छ ।

महिलाहरुले नेतृत्व गरेको सामुदायिक संस्था मार्फत संचालित चन्दननाथ नगरपालिका ८ तलिउममा अन्नबाली कुटानीपिसानी आधुनिक मिल स्थापना गरिएको छ ।

लिवर्ड नेपालको आर्थिक सहयोगमा उक्त कुटानीपिसानी मिल स्थापना गरिएको हो ।

लिवर्ड नेपालको लगानीमा २/३ बर्ष अघि मिल संचालनका लागि जेनेरेटर, आधुनिक मिल ल्याएपनि प्राविधिक कठिनाईका कारण संचालनमा आएको थिएन ।

तीन महिनादेखि महिलाहरुको सक्रियतामा संचालनमा ल्याएको सामुदायिक संस्थाकी अध्यक्ष भानुमति विकले बताइन् । उनले भने मिल संचालनमा आएपछि महिलाको कार्यबोझ घटेको छ ।

पहिला अन्नबाली कुटानीपिसानीका लागि महिलालाई दिनरात नभनि १ दिन पैदल हिडेर जानुपर्ने बाध्यता थियो तर अहिले यो समस्या टरेको छ ।

कुटानीपिसानी गरेबापत पैसा नै दिनु पछै भन्ने छैन

मिलमा कुटानीपिसानी गरे बापत रुपियाँ नै दिनुपर्ने बाध्यता छैन ।

रुपियाँ पैसा बापत चामल कुटे चामल, पिठो पिसे बापत पिठे र तेल पेले बापत तेल दिएपनि हुने व्यवस्था गरिएको मिल प्राविधिक मक्कर सिह नेपाली बताए ।

उनले भने ‘गाउँघरका महिलाहरुसँग सधै रुपियाँ हुँदैन, त्यसको सट्टा जे कुटानीपिसानी ग¥यो त्यहि दिँदा हुने व्यवस्था गरिएको छ ।’

३० केजी चामल कुटानी गरेबापत रुपियाँको सट्टा १ केजी चामल नै दिनुपर्ने हुन्छ ।

रुपियाँ दिनेबाट भने ५० रुपियाँ लिने गरिएको उनको भनाइ छ । त्यसैगरी, तेल पेलेबापत प्रतिलिटर ६५ रुपियाँ लिने गरिएको छ ।

तेल नै दिनेबाट भने ५ लिटर पेलेबापत आधालिटर अर्थात एक माना लिने गरिएको उनले बताए ।

 गाउँमा विद्युत नहुँदा जेनेरेटरबाटै चल्छ मिल

चन्दननाथ नगरपालिका पर्ने ८ र ९ नम्बर वडा तलिउम गाउँमा न टेलिफोन छ न त विद्युत !

संघिय पुर्नसंरचनामा विस्तार हुनुभन्दा पहिला करिब दुई बर्ष पहिले साविकका तलिउम, कार्तिक स्वामी, महत चन्दननाथ गाविसलाई गाभेर एक नगरपालिका घोषणा गरिएको थियो ।

स्थानीय तहको निर्वाचन हुनु पुर्व घोषणा गरिएको चन्दननाथ नगरपालिकामा विभिन्न समस्या पुरानै अवस्थामा रहेपनि नगरपालिकाले पहिलेको भन्दा दोब्बर राजश्व असुल्ने गरेको स्थानीय विष्णुबहादुर रावलले बताए ।

उनले भने ‘नगरपालिकाले कर असुलगर्यो तर सुविधा नदिएका कारण जेनेरेटरबाटै कुटानी पिसानी मिल संचालन गर्नु परेको छ ।’

विद्युत लगायत सेवा सुविधा भएको भए अझै यहाँका नागरिकहरु कुटानीपिसानी बापतको रकम कम लाग्ने थियो ।

जनप्रतिनिधिहरुले स्थानीय तहको निर्वाचनमा जनतासँग भोट माग्दा स्मार्टसिटि र इलेक्ट्रीसिटिका भाषण गरे तर झण्डै बर्षदिनको नजिक पुग्दा समेत कुनै परिर्वतनको महशुस नभएको स्थानीयको गुनासो छ ।

जुम्लबाट सागर परियारको रिपोर्ट

...

शुक्रबार ४ फागुन, ०७४

 

प्रतिक्रिया

Related