होटेल व्यवसायः कस्तो बन्ला त ‘नेपालीरिका’को फ्युजन ब्रान्ड ?

एउटा फरक उद्यमीः मेगा लुब्रिकेन्ट्सका प्रबन्ध निर्देशक केपी दुलालको प्रेरक कथा
निर्माण सञ्चार, बहसःः उद्यम र उद्यमशीलताराजनीतिक संक्रमण टुंगिएसँगै नेपालमा अब पर्यटकीय गन्तव्य बन्ने सम्भावना बढिरहेको व्यवसायीहरुको बुझाइ छ ।

स्तै सम्भावना देखेर अस्ट्रेलियाको सिल्भर हेरिटेज ग्रुप जस्तो अन्तर्राष्ट्रिय होटेल चेन कम्पनीहरुले नेपालमा धमाधम पाँच तारे रिसोर्ट र होटेलहरु खोल्न थालेका छन् ।

टाइगर प्यालेस ब्रान्डबाट दर्जन बढी होटेल चलाउने सपना बोकेर विदेशीहरु नेपाल भित्रिएको अवस्थामा स्वदेशी होटेल व्यवसायीको अवस्था चाहिँ कस्तो होला ?

पक्कै पनि राम्रो नहोला । होटल तथा पर्यटन क्षेत्रमा प्रतिस्पर्धा बढ्नु राम्रो हो तर अन्तर्राष्ट्रिय चेन होटेलहरुले स्वदेशी उद्यमीहरुलाई मिच्ने र थिच्ने सम्भावना पनि त्यतिकै देख्छन् उद्यमीहरु ।

कृष्णप्रसाद दुलाल यही क्षेत्रमा होमिएका एक सफल उद्यमी हुन् । मेगा लुब्रिकेन्ट्सका प्रबन्ध निर्देशक दुलाल यतिबेला यस्तै अन्तर्राष्ट्रिय स्तरको होटेल व्यवसाय भित्राउने तरखरमा छन् । नेपाल र अमेरिका दुई शब्द जोडेर ‘नेपालीरिका’ नामको नयाँ ब्रान्ड भित्राउँदै छन् उनी । यो होटेल स्वदेशमा पनि विदेशीलाई जोड्ने माध्यम बन्ने छ, तर नेपालकै माटोको ब्रान्ड हुने छ ।

मोरङको राजघाट–२ जन्मेका दुलाल ०५८ सालमा पूर्वाञ्चल ल्युब प्रालिका नाउँबाट व्यावसायिक यात्रा गरेका हुन् ।

नाडाको महासचिव, फेडोरेसन अफ नेप्लिज चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिजका सदस्य, राजस्व समिति उपसभापतिको समेत जिम्मेवारीमा रहेका उनको जीवनको आरोह अवरोह साँच्चिकै घतलाग्दो छ । नेपालमा युवा उद्यमी कस्ता सपना देख्छन्, कसरी अघि बढ्न खोजिरहेका छन् भन्नेबारे दुलालसँग निर्माण सञ्चारले गरेको छलफलको अंशः

तपाई आफैंबारे केही बताइदिनु हुन्छ कि !

आफ्नो विगतबारे धेरै बोल्न त म चाहन्नँ । तर, पनि केही घटनाहरु नभनी रहन पनि सकिन्न । म ५ वर्ष र भाइ २ वर्षको थियौं, बुबाले हामीलाई छाडेर स्वर्गे हुनुभयो ।

त्योसँगै मेरो जिन्दगीको संघर्षपूर्ण यात्रा सुरु भयो । उर्लाबारीबाट एसएलसी गरेर महेन्द्र मोरङ र दमक क्याम्पसबाट कमर्समा ब्याचेलरसम्मको शिक्षा हासिल गरेँ । आजको अवस्थामा आइपुग्नुमा विगतको संघर्ष नै प्यारो छ मेरा लागि ।

जीवनमा पहिलो पटक जागिर खाएको कुनै उदाहरण छ ?

छ नि, रोचक पो छ त । एसएलसी लगत्तै आम्दानी कसरी हुन्छ होला भन्ने सोचले लखेटिरहेको थियो । किनकि घरको जिम्मेवारी सम्हाल्ने म आफैं भएकाले बुबाको अन्त्यपछि व्यावहारिक हुनु मेरो बाध्यता थियो ।

एसएलसी लगत्तै ०४५ साल भदौमा मैले दमकको मेसेनरी पसलमा काम सुरु गरें । माहिनाको २ सय रुपियाँ तलब थियो । यो मेसेनरी पसलमा २ वर्ष काम गरें ।

त्यसपछि महेन्द्रनगरमा ‘वाटर पम्पिङ’ मेसिनको पसलमा काम गरें । यो मेरा लागि व्यावसायकि दुनियाँमा अघि बढ्ने पाइला थियो कि जस्तो यतिबेला लाग्छ ।

त्यसपछि ... ?

त्यसले नै हामीलाई दुई भाइलाई व्यावसायिक दुनियाँमा धकेलिदियो । ०४९ सालबाट हामी दाजुभाइ मिलेर विराटचोकमा ‘सत्कार मेसिनरिङ’ कम्पनी खोल्यौं जहाँबाट हाम्रो व्यावसायिक यात्रा सुरु भएको थियो ।

हामी फैलदै गयौं । त्यसले ०५८ सालमा पूर्वाञ्चल ल्युव प्रालिको रुप लिएको हो । यसैले नै मेगा लुब्रिकेन्ट्ससम्मको यात्रा तय गर्यो ।

तपाईं लुब्रिकेन्ट क्षेत्रमा चाहिँ कसरी आउनुभयो त ?

आर्थिक अभावले गर्दा कमाइ धमाइ खोज्न होमिएको एउटा किशोरले कमाइ गर्ने सिलसिलामै जे जस्तो काम आइपर्यो, त्यही गर्दा गर्दा यहाँ आइपुगियो जस्तो मलाई लाग्छ ।

आफैँले काम गर्दै पढ्दै गर्नुको विकल्प पनि थिएन मलाई । २ सयको जागिर परित्याग गर्दा हामीमा हिम्मत जन्मिसकेको रहेछ ।

२५ लाखमा जग्गा बेचेर थपथाप गरेर १ करोड जति बनाएर हामीले आफ्नै कम्पनी सुरु गरेका थियौं । पहिला हामीले चौधरी ग्रुपको पम्प सेट सप्लाइ गर्याैं ।

हरेक कृषकको घरमा गएर पम्प सेट बिक्री पनि र सेवा पनि दुवै दिन्थ्यौं । झन्डै एक हजार जति पम्प हामीले सेट गरेका थियौँ ।

त्यसपछि कसरी अघि बढ्यो पाइला जब चौधरी ग्रुपले भेटै दिएन ?

त्यसताका हामीले बजारमा धेरै ‘गुडविल’ पाइसकेका थियौं । यसका आधारमा हामीलाई के लाग्यो भने, चौधरी ग्रुपकै सामान सप्लाइ गरेकाले हामीले चौधरी ग्रुपका मेनेजरसँग भेट गर्न चाह्यौं ।

तर, चौधरी ग्रुपको मेनेजरले कहिल्यै समय दिएन । त्यसपश्चात हामीले चौधरी ग्रुपको प्रोडक्ट सेल नगर्ने निर्णय लियौं । किनकि हामीलाई चौधरी ग्रुपले उँभो लाग्ने विश्वासै हुन छाडिसकेको थियो ।

हामी अझै अघि बढ्न चाहन्थ्यौं चौधरी ग्रुप सहयोगी नहुने हामीलाई लाग्यो । त्यसपछि आफैँले कम्पनी खोलेर अघि बढ्ने विचार गरेका हौं ।

के हो त यो पूर्वाञ्चल ल्युब प्रालि ?

पूर्वाञ्चल ल्युव प्रालि एउटा व्यावसायिक ग्रुप हो । यसमा हामी ११ जना सदस्य छौँ । हामीले अहिलेसम्म जति व्यवसाय गरेका छौँ यो सबै पूर्वाञ्चल ल्युब प्रालिकै मातहतबाट अगाडि बढिरहेको छ ।

यस प्रालिले मेगा लुब्रिकेन्टस, स्टार लुब्रिकेन्टस ब्रान्डका रुपमा उत्पादनहरु बजार लग्ने गर्छ ।

पूर्वाञ्चल ल्युब प्रालि ग्रुपले नै ब्राइटफ्युचर स्कुल, हिमशिखर टेलिभिजन (दमक), हिमशिखर एफ एम (दमक), पेट्रोलपम्प, पूर्वाञ्चल पोलिमर सञ्चालन गरिरहेको छ ।

यसैगरी, माेरङकाे विराटचाेकमा ‘नेपालीरिका’ नामको होटल पनि सञ्चालन गर्ने सोच अघि सारेको हो । यसको निर्माण सुरु भइसकेको छ ।

अचम्मको फ्युजन गर्नु भएको रहेछ, नेपालीरिका कसरी जन्मियो ?

हो सुरु सुरुमा नाम जुरेपछि हामीलाई पनि नौलो नै लागेको थियो । स्वदेश र अमेरिकी ब्रान्डका रुपमा यसलाई अघि बढाउने भएपछि यस्तो अपूर्व नाम छनोट गरिएको हो ।

विशेष गरी पर्यटन उद्योग कसरी अघि बढाउने भन्ने सोचले होटेल खोल्ने र होटेल पनि कस्तो भन्दा ‘युनिक’ त हुनु पर्याे नि हैन र ?

हाम्रो कम्पनीको बजार हिस्सा कस्तो छ त ?

अत्यन्त राम्रो प्रश्न गर्नुभो, यतिबेला नेपाली लुब्रिकेन्ट्सको बजार हिस्सा भनेको ३५ प्रतिशत छ, जुन नेपाली उत्पादनले नै लिएको छ ।

६५ प्रतिशत विदेशी ब्रान्डका उत्पादनले बजार ओगटेको छ ।

तर, नेपाली बजारमा मेगा लुब्रिकेन्ट्स एक्लैको बजार हिस्सा भनेको १० प्रतिशत छ । नेपालका ७ वटै प्रदेशमा हाम्रो बजार विस्तार भइसकेको छ ।

लुब्रिकेन्ट्स उत्पादन र बिक्रीवितरणमा के कस्तो छ त ?

नेपालमा खुला सीमाका कारण बजार निकै नै अनियन्त्रित छ । गुणस्तरहीन लुब्रिकेन्ट्स बनाएर सस्तोमा बजारमा लैजानेहरु छन् । यसमा सरकारले ध्यानै दिएको पाइन्न ।

भारतबाट कमसल लुब्रिकेन्ट्स भित्रिने भन्सार छली हुने काम ज्यादै नै छ । यसले गर्दा हामीजस्ता नेपाली उत्पादकहरु भने सारै मार्कामा छौँ ।

सरकारसँग केही कुरा गरेनौं हामीले यस बारेमा ?

पटक पटक प्रयत्न गरियो । कस्टम व्यवस्थित गर, हामी कर तिरेर राज्यलाई पनि बनाउनु पर्छ भन्नेहरु चाहिँ कर छल्ने र कालोबजारी गर्नेहरुबाटै पीडित छौं ।

अब चाहिँ एफएनसिसिआइ वा अन्य औद्योगिक संगठित प्रयत्नबाटै सरकारसम्म पुग्ने सोचमा छौं । लुब्रिकेन्ट्सको उत्पादनका लागि चाहिने कच्चा पदार्थमा १५ प्रतिशत कर सरकारले लिइरहेको छ ।

तर नेपालमै उत्पादन गरी आत्मनिर्भर गर्न चाहने हो भने त सरकारले यहाँभित्रै कम्पनी सञ्चालन गर्न प्रोत्साहन दिनु पर्ने हो नि ।

त्यसका लागि भन्सार कर १० प्रतिशतमा झार्नु पर्ने हाम्रो माग छ । तर, सरकारले सुनिरहेको छैन ।

एकाएक होटेलतिर किन लाग्नु भएको त ? कतै लुब्रिकेन्ट्सबाट सन्तुष्टि मिलेन कि !

त्यस्तो केही हैन । लुब्रिकेन्ट्स त निरन्तर अगाडि बढिनै रहन्छ । होटेल खोल्नुमा हाम्रो फरक भिजन रहेको छ । अबको प्रदेश १ मा मोरङको क्षेत्रमा जनसङ्ख्या पनि लाख बढी पुग्नेवाला छ ।

यो क्षेत्रमा पर्यटनको विकास पनि फस्टाउनेवाला छ । त्यसैले यहाँ राम्रो स्तरको होटलको आवश्यकता भइसकेको छ ।

कस्तो हुने छ ‘नेपालीरिका’ ?

‘नेपारिका’ उच्च स्तरीय होटेल हुने छ । २ वर्षमा बनाइसक्ने योजना छ । होटलमा ५० कोठा, २ वटा मिटिङ रुम, स्विमिङ पुल, चिल्ड्रेन पार्कसहितको भव्य निर्माण हुँदैछ ।

तपाईंकै उद्योगबाट काम सिकेका युवाहरु कस्तो कस्तो काम गर्दै छन् त ?

धेरै युवाहरु हामीबाट पनि राम्रो पाठ सिकेर अघि बढिरहेका छन् । मेरै कम्पनीमा ४५ हजार तलबमा काम गर्ने एक भाइले अहिले हामीले जस्तै लुब्रिकेन्ट्स कम्पनी खोल्नुभएको छ ।

यस्तै, धेरै उदाहरण छन् । हामीसँगै जोडिएर डिस्टुब्युट्रको काम गर्ने ४ जनाले कम्पनी खोलिसक्नु भएको छ । यसले आफूलाई पनि खुसी लाग्छ ।

विदेशी रहेका युवा र हाम्रो शैक्षिक प्रणालीका बीचमा कुनै साइनो छ ?

छ नि । यही शिक्षा प्रणालीले हातमा सीप, काँधमा जिम्मेवारी र बजारमा श्रम बेच्ने ल्याकत दिएको भए आज युवा किन बिदेसिने थिए र !

नेपाली युवाहरु स्पेस नपाएर विदेसिएका हुन् ।

नेपाली शैक्षिक प्रणाली राम्रो नहुँदा उपयोगिता नभएर शिक्षित युवा पनि बेरोजगारी बनेका हुन् । त्यसैले हामीमा स्पेसलाइज्ड ज्ञान र हातमा सीप पनि चाहिन्छ ।

अबको विश्वविद्यालयले पनि यस्ता ट्रेनिङ युवामा दिनु पर्छ । युवाहरुले पनि खोला पारि मात्र हरियो घाँस देख्ने, तर नेपालमै केही गर्दा हुन्छ नभन्ठान्ने रोग दिमागमा पाल्नु हुँदैन ।

विदेशी वर्कसपमा काम गर्न सक्छ भने नेपालमा चाहिँ किन लाज मान्ने ? जबकि, त्यही अटो क्षेत्रमा ९५ प्रतिशत कामदार भारतीय छन् ।

यही काम नेपाली युवाले गर्ने हो भने बिदेसिने क्रममा २० प्रतिशतले कमी आउँछ ।

एउटा भारतीयले महिनाको लाख आइसी आफ्नो देश भित्र्याउँछ, तर हाम्रो नेपाली युवाले खाडीबाट ३० हजार भित्राउने पनि कुन्नि !

घर बनाउने मिस्त्रीदेखि, काठको राम्रो ज्यामी पनि नेपाली युवाले नगर्दा भारतीयहरु नेपाली बजारमा बिकिरहेका छन् । बेरोजगारी भो भनेर नेतालाई गाली गरेर मात्रै अब सुख पाइन्छ जस्तो मलाई लाग्दैन ।

यसैले गर्दा नै हामी पछि परेका पनि हौं नि ।

 

 

...

शुक्रबार, ४ फागुन, ०७४

 

प्रतिक्रिया

Related