अझै पुगेन हिमाली विद्यार्थीको हातमा पाठ्यपुस्तक

भर्ना अभियान भन्दै विद्यालयमा न शिक्षक न विद्यार्थी
निर्माण सञ्चार, जुम्ला |  हिमाली जिल्लाहरुमा फागुन १ गतेदेखि शैक्षिक सत्र सुरु भएपनि पाठ्यपुस्तक भने आएका छैनन् ।

जुम्ला, मुगु, कालिकोट, डोल्पा, हुम्ला लगायतका हिमाली जिल्लाहरुमा फागुनदेखि मंसिरसम्म विद्यालय संचालन हुने र पुस र माघ जाडो हुने भएकाले जाडो विदादिइने गरिन्छ ।

सामुदायिक विद्यालय माघ २६ गतेदेखि संचालनमा आएपनि पाठ्यपुस्तक नपुगेका कारण विद्यार्थीहरु पुस्तक नलिई विद्यालय जाने गर्दछन् ।

जिल्ला शिक्षा अधिकारी नारायणकृष्ण श्रेष्ठका अनुसार प्रावि तह १ देखि ५ कक्षा सम्मको पाठ्यपुस्तक नेपालगन्जसम्म आइपुगेको छ ।

अरु मावि तहसम्मका पाठ्यपुस्तक जनक शिक्षा सामाग्रीले केही जिल्लामा पुर्याएको र केही आउन बाँकी रहेको छ ।

उनले भने ‘अहिले विद्यार्थीको हातमा पुगेको छैन फागुन दोस्रो सातासम्म पुग्छ ।’

अहिले पाठ्यपुस्तकको रकम सबै स्थानीय तहमा गएकोले गाउँपालिका/नगरपालिकाले विद्यालयमा खातामा हाल्ने व्यवस्था रहेको उनले बताए ।

जिल्ला शिक्षा अधिकारी श्रेष्ठले भने अहिले विद्यालयमा भर्ना अभियान चलिरहेका छ ।

पाठ्यपुस्तक जुम्लाका लागि तीनवटा विक्रेताहरु रहेका छन् । जीपी स्टेसनरी, सन्ध्या स्टेसनरी सिजा भेगका लागि सिजाको स्टेसनरीमार्फत प्राप्त गर्ने व्यवस्थापन गरिएको जिल्ला शिक्षा कार्यालय जुम्लाले जनाएको छ ।

जिल्ला शिक्षा कार्यालय जुम्लाका शाखा अधिकृत महेश देवकोटाका अनुसार पाठ्यपुस्तकका लागि प्राप्त बजेट नआएकोले अझै पनि ५५ लाख बजेट अपुग छ । पाठ्यपुस्तकका लागि आएको बजेट ९५ लाख ३५ हजार हो ।

‘अपुग बजेट माग गरी बढाएको छौँ’ उनले भने ‘५/१० प्रतिशत तलमाथि हुन सक्छ ।’ ३१ हजार विद्यार्थीका लागि १ करोड ८३ लाख ९ सय २७ रुपियाँ बजेट आवश्यक पर्दछ ।

यो बजेट सबै ८ वटा स्थानीय तहमा जाने हो । जुम्ला जिल्लामा ९२ प्रावि, ३१ निमावि, ४६ मावि, १५ उमावि छन् । ८ सय ७ शिक्षक दरबन्दी रहेकामा दरबन्दी रिक्त भने नरहेको जनाइएको छ ।

१४ हजार ५ सय १४ बालक र १५ हजार ५ सय ४० बालिका गरी ३० हजार ५४ जना विद्यार्थी रहेका छन् ।

 भर्ना अभियान भन्दै विद्यालयमा न शिक्षक न विद्यार्थी

जुम्लाका ग्रामिण भेग ताम्ती, मालिकाठाटा, घोडेमहादेव, पातारासी, गोठीचौर लगायतका क्षेत्रमा पर्ने विद्यालयहरु सुनसान छन् ।

माघ २६ गतेदेखि फागुन पहिलो सातासम्म भर्ना अभियान भनेपनि विद्यालयदेखि गाउँघरमा न विद्यार्थी भेटिछन् न त शिक्षक नै । भर्ना अभियानका नाममा सबैले ठग्ने गरेको एक स्थानीय व्यक्तिले आक्रोस व्यक्त गरे ।

भर्ना अभियानका नाममा शिक्षकले ठग्ने गरेका छन् ।

जति भर्ना अभियान भनेपनि सम्पन्न वर्गका छोराछोरी निजि विद्यालयमै भर्ना गर्दछन् उही विपन्न गरिवका छोराछोरी सरकारी विद्यालयमा पढ्न जाने त हुन् तातोपानी गाउँपालिका ८ ताम्ती जोखे रावतले दुखेसो पोखे ।

‘विग्रेताहरुले बजारमा पाठ्यपुस्तक ल्याएका छन्’ चन्दननाथ माविका प्रधानाध्यापक टंक महतले भने ‘अहिले भर्ना अभियान चलिरहेकोले अब फागुनको दोस्रो साताबाट विद्यार्थीको हातमा पाठ्यपुस्तक आईपुग्छ ।’

जुम्लाबाट सागर परियारको रिपोर्ट

...

बुधबार, २ फागुन ०७४ 

प्रतिक्रिया

Related