‘सञ्जीवनी’ लिएर आइन कल्पपुञ्ज

निर्माण सञ्चार, काठमाडौँ । कल्पना श्रेष्ठ ‘कल्पपुञ्ज’ द्वारा लिखित उपन्यास ‘सञ्जीवनी’ शनिबार लोकार्पण भएको छ ।

पुस्तकका बारेमा बोल्दै प्रमुख अतिथि काठमाडौं बहिरासंघकी अध्यक्ष सत्यदेवी वाग्लेले दोभाषेको माध्यमबाट भनिन् ‘सञ्जीवनी उपन्यास अपांग र अशक्तलाई सक्षम बनाउन उत्प्रेरित गर्ने महत्वपूर्ण दस्तावेज हुन सक्छ ।’

उपन्यासमा आवाजबिहीन बालिकाको बाल्यकालका पीडादेखि यौनहिंसासम्मका विषय उठान गरिएको छ । अपांग तथा अशक्तले पनि अवसर पाएमा अरुसरह सामाजिक काम गर्न सक्छन् भन्ने सन्देश उक्त पुस्तकले दिएको छ ।

कार्यक्रममा महेश पौडेल, रजनी ढकाल र राम लोहनीले पुस्तकका बारेमा समीक्षात्मक टिप्पणी गरेका थिए । गीतकार तथा गजलकारकारुपमा स्थापित कल्पपुञ्जको आख्यान क्षेत्रमा महत्वपूर्ण उपस्थिति भएको उनीहरुले बताए ।

उपन्यासले पुरुषप्रधान समाजमा पुरुष र नारीका असमानता बारे पनि उजागर गरेको छ । साथै कार्यक्रममा आवाजबिहीन एवं साहित्य क्षेत्रमा सक्रिय व्यक्तिलाई प्रोत्साहन गर्ने उद्देश्यले स्याङ्जामा मानकुमारी श्रेष्ठको नाममा अक्षयकोष स्थापना गर्ने घोषणा गरिएको छ ।

साथै उपन्यासको रोयल्टी बापत आउने दुई लाख रुपैयाँको चेक सोही समारोहमा उपन्यासकार र उनका श्रीमान लक्ष्मीराज श्रेष्ठले संयुक्त रुपमा साहित्यकार गङ्गा पौडेललाई हस्तान्तरण गरे ।

कार्यक्रम वरिष्ठ कवि तथा आख्यानकार भुवनहरि सिग्देलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

शिखा बुक्सद्वारा प्रकाशित पुस्तकको मूल्य तीन सय ५० रुपैयाँ छ ।

 ...

आइतबार ६, फागुन ०७४

प्रतिक्रिया

Related