यसरी भित्रन्छन् भारतबाट विषादियुक्त तरकारी ?

विषादी प्रयोगशालाको हालत बेहाल, कस्ता समस्या आउँछन् विषादी तरकारीले ?
निर्माण सञ्चार, काठमाडौँ | मानव स्वास्थ्यलाई प्रत्यक्ष रुपमै असर पर्ने खालका विषादीयुक्त तरकारी भारतबाट दैनिक नेपालमा भित्रने गरेका छन् ।

यस्ता तरकारी खाँदा दिनप्रतिदिन नेपाली जनता रोगी बन्दै गएका छन् । खुलेआम आर्सेनिकयुक्त तरकारी नेपाली बजारमा भित्रिरहँदा पनि सम्बन्धित निकायको चासो देखिएको छैन ।

नेपाल बाहेकका राष्ट्रहरुले भारतीय तरकारी मानव स्वास्थ्यलाई असर पर्ने भन्दै प्रतिबन्ध लगाएका छन् । तर, नेपालमा भने परिक्षण विनै निर्वाध आयात र निर्यात भइरहेका छन् ।

 कस्ता समस्या आउँछन् विषादी तरकारीले ?

यस्ता विषादी तरकारी÷फलफूलको दैनिक सेवनले बाँझोपन, क्यान्सर, ट्युमर, मिर्गौला खराबी, आँखाको ज्योति कमजोर, विकलांग बच्चाको जन्म, हृदयाघात, प्यारालाइसिसलगायत खतरनाक दीर्घकालीन रोग लाग्ने प्रवल सम्भावना हुने स्वास्थ्य विशेषज्ञ बताउँछन् ।

केही दिन अघि मात्रै युरोपेली संघसहित खाडी मुलुकले भारतमा उत्पादन हुने तरकारी र फलफूलमा मानव स्वास्थ्यलाई प्रत्यक्ष प्रभाव पर्ने गरी मापदण्डभन्दा बढी विषादी प्रयोग भएको भन्दै प्रतिबन्ध लगाएका थिए ।

युरोपेली र खाडी मुुलुकले प्रतिबन्ध लगाएलगत्तै उक्त विषय दिल्लीस्थित हाइकोर्टमा पुगेको छ ।

युरोपेली मुलुकले निर्धारण गरेको मापदण्डभन्दा सात सय ५० गुणा बढी विषादी भारतीय तरकारी तथा फलफूलमा भेटिएको छ।

यसका कारण भारतबाट निर्यात हुने तरकारी र फलफूलमाथि ती मुलुकले प्रतिबन्ध लगाएका हुन् ।

 कुनकुन तरकारीमा विषादी

भारतमा उत्पादन हुने भान्टा, परबल, कोसेबाली (सिमी, बोडी, मटर), करेला, आलु, फर्सी, काउली, बन्दा, काँक्रो, भेडेखुर्सानी, हरियो खुर्सानी, गोलभेडा, भिन्डी र अन्य जातका आँप, स्याउ, अंगुरलगायतमा अत्यधिक विषादी भेटिएको भारतीय अखबारले उल्लेख गरेको छ ।

विषादीयुक्त भारतीय उत्पादन परीक्षणबिनै निर्वाध नेपाली उपभोक्ताको भान्सामा दैनिक पुग्ने गरेको छ ।

यसका साथै भारतको १२ प्रदेशको ९६ जिल्लामा आर्सेनिकयुक्त पानीबाट उत्पादन भएका हरियो तरकारी र खाद्यान्नमा उच्च परिमाणमा आर्सेनिकको अवशेष भेटिएको प्रतिवेदन सार्वजनिक भएको छ ।

यस्ता पानीबाट उत्पादन भएका तरकारीसहित चामल, गहुँ, मकै, दाललगायत सेवन गर्नाले क्यान्सर र हृदयाघातको शतप्रतिशत सम्भावना रहने बताइएको छ ।

 भारतका कुनकुन ठाउँमा उत्पादन हुन्छन् विषादियुक्त तरकारी ?

भारत सरकारले अध्ययन गरी तयार पारेको प्रतिवेदनअनुसार भारतको हरियाणा, बिहार, उत्तरप्रदेश, पञ्जाब, राजस्थान, झारखण्ड, छतिसगढ, आन्ध्रप्रदेश, कर्णाटक, पश्चिम बंगाल, असम र मणिपुरको ९६ जिल्लामा उत्पादन हुने तरकारीमा अत्याधिक परिणाममा विषादी भेटिएको छ ।

जसमा आलु, मुला, भिन्डी, साग, कागती, भान्टा, काउली, बन्दा, भिडेखुर्सानी, करेला, सिमी, गोलभेडा, चामल, दाललगायतमा आर्सेनिक अवशेष फेला पारिएको हो ।

यस्ता तरकारी र खाद्य पदार्थ सेवनले भारतमा एक लाख सर्वसाधारणको मृत्यु भएको र सात करोड जना थप चपेटामा परेको पुष्टि भइसकेको नयाँदिल्लीको फरेन्सिक मेडिसिन एमएमए कलेजको प्रमुख चिकित्सक राकेश पुनियाले बताएका छन् ।

मानव स्वास्थ्यका लागि खाद्य र तरकारीमा आर्सेनिकको मात्रा १० पीपीबीको हाराहारीमा हुनुपर्ने उनको भनाइ छ । तर, भारतीय तरकारी र खाद्य पदार्थमा ५० पीपीबीभन्दा बढी परिमाणमा आर्सेनिक मात्रा पाइएको छ ।

टेलिभिजन रिपोर्टमा चिकित्सक पुनियाले भनेका छन्, ‘तरकारी, फलफूल र खाद्य पदार्थमा पाइएको विषादी र आर्सेनिकको उक्त परिमाणलाई एकदमै डरलाग्दो रूपमा लिनुपर्छ ।’ ‘विषादी र आर्सेनिकको यस घातक परिमाणलाई वेवास्ता गर्दा मुख्र्याइँ हुन्छ,’ उनले भने ।

अन्य मुलुकमा तरकारी, फलफूल र खाद्यपदार्थ आयात गर्दा नाका र भन्सार विन्दुमै वैज्ञानिक रूपमा परीक्षण गर्ने व्यवस्था छ । तर, नेपालमा भने यस्तो सुविधासहितको व्यवस्था छैन ।

यसले गर्दा भारतमा लोड हुने तरकारी सीधै नेपालको तरकारी बजारमा झारेर बिक्री गर्ने गरिन्छ।

सर्वोच्च अदालतले दोस्रो र तेस्रो मुलुकबाट तरकारी र फलफूल आयात गर्दा अनिवार्य रूपमा परीक्षण गराएर मात्रै ‘आयात गरिने’ भनी डेढ महिनाअघि दिएको अन्तरिम आदेशलाई समेत सरकारले हेल्चेक्राईँ गरेको छ ।

नेपालमा कुनै पनि स्थानमा परीक्षण नगरी खुलेआम भारतलगायत तेस्रो मुलुकबाट तरकारी र फलफूल आयात भइरहेको छ नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले जानकारी दिए ।

‘हामीले यो विषयमा कृषि मन्त्रालयमा पटक–पटक ध्यानाकर्षण गराएका छौं,’ अध्यक्ष घिमिरेले भने, ‘हाम्रो तरकारी र फलफूल निर्यात गर्न खोज्दा भारतसहित तेस्रो मुलुकले परीक्षणवेगर छिर्नै दिँदैनन् तर भारतको विषादीयुक्त तरकारी सीधै तरकारी बजारमा झर्छ ।’

नेपालमा उत्तर प्रदेश, पश्चिम बंगाल, आन्ध्र प्रदेश, पञ्जाव, राजस्थान, झारखण्डलगायत राज्यबाट झन्डै ९५ प्रतिशत तरकारी आयात हुँदै आएको घिमिरेका भनाइ छ ।

‘भारतसहित अन्य मुलुकबाट आउने यस्ता तरकारीलाई कतै परीक्षण गर्ने काम हुन्न, बजारबाट सीधै उपभोक्ताको भान्सामा पुग्ने गरेको छ,’ उनले भने ।

 कति आयात तरकारी चालू आर्थिक वर्षमा ?

भारतसहित तेस्रो मुलुकबाट चालु आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिमा ११ अर्ब ३६ करोड ७९ लाख १७ हजार मूल्यबराबरको चार लाख १६ हजार सात सय ६१ टन (४१ करोड ६७ लाख ६१ हजार एक सय १३ किलो) तरकारी आयात भएको भन्सारको तथ्याङ्कले देखाएको छ ।

विषादी प्रयोगशालाको यस्तो छ हाल ?

सरकारले उपत्यकावासीको स्वास्थ्यलाई ध्यानमा राखेर कालिमाटी तरकारी बजारमा पहिलोपटक द्रुत विषादी अवशेष विश्लेषण प्रयोगशाला स्थापना गरेको थियो ।

यो प्रयोगशालाले कालिमाटीमा भित्रिने तरकारीको विषादीसम्बन्धी परीक्षण गर्दै आएको छ तर, सबै प्रकारका तरकारीको परीक्षण भने हुँदैन।

बिहानको समयमा शंकाको आधारमा एक/दुई प्रकारका तरकारीको मात्रै विषादी परीक्षण हुन्छ तर परीक्षण प्रतिवेदन नआउँदै बिक्री भइसक्छ।

परीक्षण क्रममा भारतबाट आयात हुने तरकारीमा अत्यधिक परिमाणमा विषादी भेटिएको पनि छ।

उक्त प्रयोगशाला २०७१ असार ४ गते संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) को १५ लाखको आर्थिक सहयोगमा स्थापना भएको थियो ।

...

आइतबार ६, फागुन ०७४

प्रतिक्रिया

Related