‘सहकारीमार्फत् आर्थिक समावेशीकरण र उद्यमशीलता’ विकास विषयक दुई दिने राष्ट्रिय महिला गोष्ठी सम्पन्न

सहकारीमार्फत् सीप र पूँजीलाई उत्पादनमा परिचालन गरी उद्यमशीलता विकास गर्ने
निर्माण सञ्चार, काठमाडौँ | ‘सहकारीमार्फत् आर्थिक समावेशीकरण र उद्यमशीलता’ विकास विषयक दुई दिने राष्ट्रिय महिला गोष्ठी २०७४ सात वुँदे घोषणापत्र जारी गरी काठमाडौंमा शुक्रबार सम्पन्न भएको छ ।

नेपाल बचत तथा ऋण सहकारी संघ(नेफ्स्कुन)को आयोजना र सहकारी तथा गरिबी निवारण मन्त्रालय आइ.एल.ओ को आर्थिक सहयोग तथा अक्कुको प्राविधिक सहयोगमा उक्त गोष्ठी भएको थियो ।

गोष्ठीमा सहकारी मार्फत् सीप र पूँजीलाई उत्पादनमा परिचालन गरी उद्यमशीलता विकास गर्ने कार्यलाई अगाडि बढाई देशलाई आत्मनिर्भरतातर्फ लैजान पर्नेमा जोड दिइएको छ ।

उक्त गोष्ठीले सातबुँदे प्रतिबद्धता पत्र समेत जारी गरेको छ ।

गोष्ठीले प्रारम्भिक संस्थामा वित्तीय साक्षरता प्रदान गर्न पहल गर्ने, हरेक दुई वर्षमा राष्ट्रिय महिला गोष्ठी सञ्चालन गरिने प्रतिबद्वता व्यक्त गरेको छ।

त्यस्तै, सहकारीका हरेक तहमा महिला सहभागिता एवम् नेतृत्व विकासको प्रत्याभूति गर्दै स्थानीयस्तरसम्म विश्व महिला सञ्जाल गठन गरिने प्रतिबद्धता पत्रमा उल्लेख छ।

कार्यक्रमको समापनमा बोल्दै सहकारी विभागका रजिष्टार केशवप्रसाद रेग्मीले लैङ्गिक विभेदले महिलालाई मात्र नभएर सिंगो देशलाई नै पछाडि पारेको हुँदा सहकारीले आर्थिक समावेशीकरणका साथै सामाजिक परिवर्तका क्षेत्रमा काम गर्न आवश्यक रहेको बताए ।

सहकारी मार्फत उद्यमशीलता सिर्जना गर्दै देश विकास कसरी गर्ने भन्ने अहिलेको सवाल रहेको र त्यसलाई महिला नेतृत्व बढाइ संवोधन गर्ने प्रक्रियामा सहयोग गर्न मन्त्रालय विभागको तर्फबाट उनले प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा बोल्दै नेफ्स्कुनका महासचिव चन्द्रप्रसाद ढकालले बचत सहकारीलाई अनुदान दिनबाट रोक्नु गलत भएको बताए । ‘अब नियमावली बन्ने क्रममा बचत सहकारीलाई पनि अनुदान दिने व्यवस्था गरिनुपर्छ,’ उनले भने, ‘बचत सहकारीले उत्पादनमा लगानी गर्ने भएकाले बचत सहकारीलाई अनुदान रोक्नु हुँदैन।’

साकोसलाई गुणस्तरीय, सर्वसुलभ सेवा दिनका लागि नेफ्स्कुनले फिल्ड कार्यालय बढाउँदै लगेको उनले बताए । दुई दिनसम्म सञ्चालन भएको गोष्ठीमा ६ वटा कार्यपत्र प्रस्तुत भएका थिए।

नेफ्स्कुनका सञ्चालक शान्ति अधिकारी ढकालले, नयाँ सहकारी ऐन २०७४ मा महिला सहभागिता र लगानीको प्रवद्र्धन, अन्तर्राष्ट्रिय श्रम संगठन नेपालका राष्ट्रिय कार्यक्रम संयोजक नवीनकुमार कर्णले, सहकारीमा महिला उद्यमशीलता विकासको सम्भावना र चुनौती, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले, सहकारी क्षेत्रको प्रबद्र्धनमा स्थानीय तहको भुमिका र दायित्व विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

त्यस्तै, एशियाली ऋण महासंघका प्रमुख कार्यकारी अधिकृत एलिनिता भिसान रोक्यले सहकारी मार्फत वित्तीय समावेशीकरणको अभिवृद्धि, अधिवक्ता एवं प्रा. रीता मैनालीले महिलाहरूले आत्मसम्मानका साथ काम गर्न पाउने अधिकार र महिला विकास समाज नेपालका अध्यक्ष पूर्णशोभा चित्रकारले महिलाको व्यावसायिक नेतृत्व विकास विषयमा कार्यत्रपत्र प्रस्तुत गरे ।

अक्कुमा नेपालको अध्यक्षता एशियाली ऋण महासंघमा नेपालको सहकारी अभियानका अभियानकर्ता सहकारी विज्ञ (नेफ्स्कुन)का पूर्व अध्यक्ष ऋषिराज घिमिरे चयन भएका छन् ।

नेपालको छोटो अवधिमा सहकारी अभियानको महत्वपूर्ण सफलताको रुपमा यसलाई लिइएको छ ।

यसबाट नेपालको सहकारी अभियान अझ अगाडि बढ्ने र अन्तराष्ट्रिय छवि माथि जाने अवसर प्राप्त भएको सहकारी क्षेत्रमा विश्लेषण गरिएको छ ।

नेपालको संबिधानले ३ खम्बे अर्थनीतिमा एक खम्बा सहकारीलाई पनि उल्लेख गरिएबाट नेपालको अक्कुमा अध्यक्षता रहनु विकासको अवसरको ढोका अझ बढी खुलेको सहकारी विज्ञहरुले गोष्ठीमा बताए ।

सरस्वती चौँलागाई

 

...

आइतबार ५, फागुन ०७४

प्रतिक्रिया

Related