जनप्रतिनिधिज्यू संघीय गणतन्त्रमा यसरी आउनुपर्छ परिवर्तन ?

निर्माण सञ्चार, काठमाडौँ | स्थानीय तह ७५३ वटामा अध्यक्ष, उपाध्ययक्ष/प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, वडा सदस्यहरू, प्रदेश सभा ७ वटामा ५५० जना प्रदेश सांसदहरू, प्रतिनिधिसभामा २७५ जना सांसदहरू, राष्ट्रिय सभामा ५९ जना सांसद निर्वाचित भइसकेका छन् ।

देशमा जनप्रतिनिधहरूको लामो समयसम्म खडेरी रहेको अवस्थामा अहिले जन प्रतिनिधिहरूको मुसलधारे वर्षा भएको सर्वत्र महसुस गरिएको छ ।

यस्तो अवस्थामा जनप्रतिनिधिहरूले आफूलाई चुस्तदुरुस्त, सूचनामा पूर्ण विज्ञ, ऐनकानुनहरूबारे प्रस्ट अवस्था विद्यमान हुनुपर्ने अवस्था छ, तर जनप्रतिनिधिहरू सुरुसुरुमा रहे भएकाले केही अलमलिएका जस्तो देखिएको छ ।

यस्तो अवस्थामा जनप्रतिनिधिहरूले के गर्नुपर्ने हो आफूमा के–के अधिकार छन् र आफ्नो लक्ष्य के हो भन्नेबारे सुसूचित हुनसके उनीहरूमा काममा ऊर्जा तथा जनताले केही पाएको महसुस गर्ने अवस्था हुन्छ ।

 विचलित जनप्रतिनिधिहरू

अहिले जनप्रतिनिधिहरू आफ्नो कमजोर विज्ञताका कारण कर्मचारीलाई पहिलो र अन्तिम सल्लाहकार मान्न विवश छन् ।

उनीहरूले अहिलेसम्म एकलौटी रूपमा स्थानीय निकाय सञ्चालन गरिआएकामा एकैपटक प्रशस्त अधिकारसहित उपस्थित भएका जनप्रतिनिधिहरूलाई इर्ष्या को नजरले हेर्ने हुँदा जनप्रतिनिधि सफल हुन वा नहुन आफ्ना कुराहरू निर्णय गराउनेतर्फ उनीहरू लाग्नु स्वाभाविक हो ।

जनप्रतिनिधिहरू विज्ञ नहुँदा वा विज्ञसँग साक्षात्कार नहुँदा, सल्लाह नलिँदा उनीहरू अलमलिनु स्वाभाविक हो ।

आफ्नो अधिकार र आफ्नो कर्तव्यबारे जबसम्म व्यक्ति विज्ञ हुँदैन तबसम्म उसले आफ्नो दिशा तथा गति लिन सक्दैन ।

आफ्नो अधिकार र कर्तव्यबारे आफैँले थाहा पाउने कोसिस गर्नुभन्दा बनिबनाउ जी/हजुर र चाप्लुसहरूको भनाइबाट आफ्नो अधिकार र कर्तव्य जान्ने कोसिसमा जनप्रतिनिधिहरू रहेको पाइन्छ ।

यसो गर्दा दिनानुदिन समयहरू बित्दै जाने आफ्नो कार्यकाल छोटिँदै जाने र जनतामा आशातीत कार्य देखाउन नसक्दा आगामी निर्वाचनमा स्वयं व्यक्ति र सम्बन्धित राजनीतिक दलसमेत पछि पर्ने सम्भावना रहन्छ ।

नेपालका जनप्रतिनिधिहरूको ठूलो रोगका रूपमा रहेको सब कुरामा आफू विज्ञ छु भन्ने मनोदशा र ग्रन्थी सबभन्दा बढी बाधकका रूपमा रहेको छ । कुनै पनि व्यक्ति सबै कुरामा विज्ञ र ज्ञाता हुन सक्दैन ।

यस्तो अवस्थामा आफूले नजानेका विषय र कुराहरू सिक्ने जान्ने प्रवृत्तिभन्दा म मालिक हुँ सबै जान्दछु भन्ने भान देखिएको छ ।

यसबाट जनप्रतिनिधिहरू अल्पबुद्धि भयंकर भई आफ्नो बाटोमा विचलित र दिगभ्रमित हुने पूर्ण सम्भावना रहन्छ ।

यस्तो अवस्थामा जनप्रतिनिधिहरूलाई धेरै कुरा जान्न बुझ्न अत्यावश्क छ ।

त्यसका लागि बुझाउन सक्ने ज्ञान भएका व्यक्तिहरूसँग सिक्नु जान्नु उपयुक्त हो, तर सिक्दा जान्दा सानो होइन्छ भन्ने मनोदशाबाट जनप्रतिनिधिमाथि उठ्न नसके संघीय गणतन्त्र नेपालमा समस्याहरू देखा पर्न थाल्छन् ।

यस्तो अवस्थामा जनप्रतिनिधिले काम गर्दा कसरी गर्ने, के गर्ने भन्नेबारे उनीहरू थोरै मात्र पनि सुसूचित हुन सके जनताले सोचेजस्तो काम पाउन सक्छन् ।

समयको व्यवस्थापन

जनप्रतिनिधिहरू अझ नेपालीहरू समयका पक्का छैनन् । त्यसकारण, जनप्रतिनिधिले आफ्नो समय अत्यन्त ख्याल गर्नुपर्छ ।

मुख्य व्यक्तिले समयको ख्याल गर्यो भने आधा समस्या समाधानतर्फ अघि बढ्छ, तर समयको ख्याल नगर्ने ढिलो पुग्ने, एउटै काममा अनावश्यक समय दिने, लामो भाषण गर्ने, लामा कुरा गर्ने चाप्लुसहरूको कुरा सुन्ने प्रवृत्तिलाई जनप्रतिनिधिले बदल्न सकेनन् भने उनीहरूको पाँच वर्ष त्यतिकै व्यर्थमा व्यतीत हुन्छ ।

 अनावश्यक भेटघाट

जनप्रतिनिधिहरूको ठूलो समस्या भनेकै अनावश्यक भेटघाट र अनावश्यक फोनको व्यस्तता हो ।

आवश्यक कामका मानिसले भेट्न नपाउने, आवश्यक कामका लागि फोनमा कुरा गर्न नपाउने तर अनावश्यक निजी, स्वार्थ प्रेरित निजी लाभका कामहरूमा विभिन्न हतकण्ठा प्रयोग गरी जनप्रतिनिधिलाई दिग्भ्रमित पारिने हुँदा मैले गरेको भेटघाट र मैले रिसिभ गरेको फोन देश र जनता तथा आफ्नो कार्य क्षेत्रका लागि कति आवश्यक थियो र छ छुट्ट्याउन सकेन भने जनप्रतिनिधिले वाञ्छित उपलब्धि हासिल गर्न सक्दैन ।

ठूला जनप्रतिनिधिहरू र साना जनप्रतिनिधिहरू सबै आफ्नो भेटघाट गर्ने/गराउने कुरामा पूर्णतः असफल छन्, जहाँ जो, जेसँग पनि भेटघाट र कुरा नगरे म जनप्रतिनिधि रहन्न भन्ने गलत मानसिकताबाट ग्रसित हुनु जरुरी छैन ।

राम्रो काम असल काम गरेर देखायो भने जोकोहीले सम्मान दिने कुरामा विवाद हुन सक्दैन ।

अतः राम्रो काम जनताको काम, देशको काम इमानदारीसाथ नतिजामूलक ढंगले गर्ने हो भने ३ करोड नेपालीलाई एकैपटक भेटेर कुरा गरेकोजस्तो भइहाल्छ भन्ने जनप्रतिनिधिहरूले बुझेका दिन देश अगाडि बढ्न थालिहाल्छ ।

आफूसरहका निजी सहायक निजी

सहायक राख्न पाउने हैसियत भएका जनप्रतिनिधिहरूले जहिले पनि आफूसरहका वा अझ आफूलाई निर्देशित गर्न सक्ने व्यक्तिलाई निजी सहायक वा सल्लाहकार राख्ने कासिस गर्नुपर्दछ । त्यस्ता व्यक्तिले नमान्न सक्छन् ।

देश र जनताका लागि तपाईले सहयोग दिनुपर्यो भनी अनुरोध गरी निजी सहायक र सल्लाहकारहरू नियुक्त गर्नुपर्छ ।

जसबाट भेटघाटमा आउने काम लिई आउनेहरूको निजि स्वार्थका लागि आएका हुन् वा देश र जनताका लागि आएका हुन् भन्ने कुरा उनीहरूले छुट्याउन सक्ने हुँदा काम गर्न अत्यन्त सजिलो हुन्छ ।

हाम्रा जनप्रतिनिधिहरू आफूले भनेको मान्ने, चाप्लुसी गर्न सक्ने व्यक्तिलाई मात्र निजी सहायक वा सल्लाहकार राख्ने आमप्रवृत्ति हालसम्म रहिआएको छ । यही कुरालाई निरन्तरता दिने हो भने हिजोका जनप्रतिनिधिजस्तै अबका जनप्रतिनिधि पनि जनताको नजरमा गिर्दै जाने अवस्था सिर्जना हुन जान्छ ।

लोभ र लाभबाट टाढा रहने

जनप्रतिनिधिहरूले सबैभन्दा पहिला आफ्ना आफन्तहरूबाट टाढा रहन सके धेरै हदसम्म काममा उपलब्धि हासिल गर्न सक्छन् । यसरी टाढा रहन कठिन मान्ने जनप्रतिनिधिले धेरै कुरा गुमाउँदै जान्छन् ।

सबैभन्दा पहिलो कुरा आफ्नो मन लोभ र लाभबाट परै राख्नसके मात्र उपलब्धि हासिल हुन सक्छ । अन्यथा, उपलब्धिको ठाउँमा निजी उपलब्धि मात्र हुँदै जान्छ देश र जनताले केही पाउँदैनन् ।

अहिले लोभी र पापीहरूले विश्वका ठूल्ठूला विश्वविद्यालयबाट पाइने ज्ञानभन्दा बढी आर्जन गरिसकेका छन् ।

उनीहरूलाई कसरी, केगरी आफ्नो काम गराउन सकिन्छ, कस्ता मान्छेसँग के व्यवहार गर्नुपर्छ सबैसबै पूर्ण ज्ञान हुने भएकाले जनप्रतिनिधिहरू उनीहरूका लक्ष्यदार भनाइमा दिग्भ्रमित हुन गई वाञ्छित उपलब्धि हासिल गर्न सक्दैनन् ।

जबसम्म व्यक्ति मेरो र मलाई भन्दा देश र जनतालाई भन्नेमा खरो उत्रिन सक्दैन । त्यो जनप्रतिनिधिले देश र जनताका लागि केही गर्छ वा गर्ला भन्नु कुरा कल्पना मात्र हुन जान्छ ।

 राम्रा कामलाई कानुन चाहिँदैन

जनप्रतिनिधिलाई कुनै कानुननियमले राम्रो काम गर्न छेक्दैन । राम्रो काम गर्न खोज्दा जनताको पक्षमा नयाँ नौलो प्रयोग गर्न खोज्दा व्यापक बाधाअड्चनहरू आउँछन् ।

किनकि, यो देशमा जनताका लागि काम गर्नुपर्छ भन्ने परिस्थितिको निर्माण नै हुन सकेको छैन । त्यसकारण, जनताका लागि राम्रो काम गर्छु भन्नेले साँच्चै राम्रो काम गर्ने हो भने हिम्मतसाथ गर्न सक्नुपर्छ ।

कुनै ऐनकानुनले रोक्यो भने आधार कारणसहित जनतामा जान सक्ने आँट राख्नुपर्छ, जसबाट जनदबाबमाअनुकूल कानुन निर्माण भइहाल्छ । जनप्रतिनिधिले यो वा त्यो कारण देखाई काम गर्न पाइनँ वा सकिनँ भन्नु नाच्न नजान्नेले आँगन टेढो भन्नुजस्तै हो ।

 राम्रा कानुन बनाउनुपर्छ

अहिले संघिय सरकार, प्रदेश सरकार, स्थानीय सरकार तीनै तहका सरकारहरू छन् । यिनीहरूले आ–आफ्नो कानुन आफैं निर्माण र लागू गर्न सक्छन् । उनीहरूले के कानुन बनाउने भन्ने कुरामा विज्ञ हुन सकेनन् भने त्यो पाएको अधिकारको कुनै अर्थ रहँदैन ।

यसमा नातागोता, आर्थिक लाभजस्ता विषयहरू र मेरो दलको व्यक्ति भन्नेजस्ता तुच्छ विचारअनुसार काम गरे जनप्रतिनिधिहरूको पाँच वर्ष व्यर्थमा बित्छ ।

 मेरो पाँच वर्ष तमाम

जनप्रतिनिधिले अहिले मेरो पाँच वर्ष म सफल पार्छु भन्ने भावना लिन सकियो भने मात्र त्यो जनप्रतिनिधिका कार्यकाल सफल हुन सक्छ ।

दिनानुदिन मेरो कार्यकाल घट्दो छ भन्ने भावना लिई अगाडि बढ्न सके मात्र त्यो जनप्रतिनिधिको भविष्य उज्ज्वल हुन सक्छ ।

तर, आफ्नो कामको वास्तविकता नै थाहा नपाई फगत स्वार्थ, सुविधा र नातापातातर्फ ध्यान दिने हालसम्मका अधिकांश जनप्रतिनिधिहरूजस्तै वर्तमानमा चुनिएका जनप्रतिनिधिहरूले पनि त्यस्तै काम दोहोर्याए वा गरिरहे भने संघीय गणतन्त्र नेपाल र यसका जनप्रतिनिधिहरूले आफूलाई अक्षम साबित गर्नेछन् ।

उनीहरू आफू मात्र अक्षम हुँदैनन् त्यसमा संघीय गणतन्त्रलाई नै धराशयी पार्नेछन् । यसमा तमाम नेपाली जनतासमेत सचेत हुनुपर्दछ ।

– बाबुराम दाहाल

...

बिहिबार, १० फागुन २०७४

प्रतिक्रिया

Related