मर्कामा राडीपाखी उद्यमी, समय धेरै आम्दानी कम

‘प्रयोग कर्तामा फाइदा र उपयोगिताबारे जानकारी नहुँदा बिक्री वितरणमा कम’ – राडीपाखी उद्यमी
निर्माण सञ्चार, जुम्ला । उनकै टोपी, उनकै कोट र उनकै पटुकी बाँधी गाउँमा निष्कन्छन् । घरमा पुर्खौलीरुपमा भेडा, बाख्रा पाल्ने भएकाले ऊनबाट बन्ने कपडाको व्यापार विगतको समयमा धेरै गर्दथे ।

कुनै बेला ऊनको कपडा बिक्रीबाटै चाडपर्व मनाउने, नुन तेल गर्ने रकम कमाउँथे । तर, समयको विकाससँगै राडीपाखीमा सबैको आँखा नजान थालेपछि लोप हुँदै गयो ।

समय धेरै लाग्ने तर आम्दानी कम हुने भएपछि राडीपाखी बुन्न मन नलाग्ने गरेको बताउन्छन् । यो समस्या कर्णालीमा छ । तर यो दृष्य भने, जुम्ला तिला गाउँपालिका ५ चुलाकोट निवासी कुमारो बुढाको हो ।

घरमा भेडा बाख्रा धेरै छन् । ऊन पनि उत्पादन उत्तिकै हुन्छ । राडीपाखी नबन्दा ऊन खेर जान्छ बन्दा आम्दानी कम मेहनत बढी हुने भएकोले राडीपाखीको व्यावसाय घाटामा गएको बुढाले गुनासो गरे ।

हिजोआज पनि बुढाले परम्परागत औजारबाटै राडीपाखी बुनेर बिक्री गर्छन् ।

आधुनिक औजारको प्रयोगबिना परम्परागत काठ, बाक, भडेला र निगालोको सामान्य औजार प्रयोग गरी बुढाले राडीपाखी बुन्दै आएका छन् । यस्ता औजार प्रयोग गर्दा धेरै झन्झट हुने गरेको उनले बताए ।

चुलाकोट गाउँपालिकामा रहेको १ सय २० घरधुरीमध्ये झण्डै १ सय घरमा भेडाबाख्रा पालन छ । अर्का भेडा पालन गर्ने कृषक जनबहादुर शाहीले भने, ‘अधिकांशले परम्परागत औजारबाटै राडीपाखी बुनेर बेच्ने गर्छन ।’ एउटा राडीपाखी बुन्न २ हप्तासम्म समय लाग्ने गरेको शाहीले बताए ।

राडीपाखी, लिउ वा फेरिवा जे बेचे पनि एउटा बेचेबापत झन्डै १ हजार फाइदा हुन्छ, एउटा राडीपाखी, लिउ फेरुवा ३ हजार ५ सयदेखि ४ हजार ५ सयसम्म बिक्री गर्छौँ । जे भएपनि पहिलाको जस्तो माग घट्दो भएकाले आाम्दानी लिन नसकिएको शाहीले बताए ।

जुम्लाका राडीपाखी उद्यमीले पहिले वर्षमा कम्तीमा पनि ४० देखि ५० हजार एकजनाले कमाउँथे तर अहिले ऊनीको महत्व तथा ऊनीको कपडा प्रयोगको फाइदा बारे जानकारी नहुँदा प्रयोग गर्नेको संख्या दिनानुदिन कमी हुँदै आएकोले आफू मर्कामा परेको स्थानीय कन्नबहादुर शाहीले बताए ।

अहिलेको रंगीन गलैचा १५ सयमा आउँछ भने ऊनीबाट बनेका लेउ फेरुवा झण्डै ३५ सय ४ हजारमा मात्रै आउने भएपछि महत्व र उपयोगिता नबुझ्नाले बिक्रीमा कमी आएको उद्यमीले बताए ।

एउटा राडीपाखी बुन्न २ हप्तासम्म लाग्छ, तर बेच्दा १ हजार मात्र फाइदा हुन्छ ।

ऊनीका कपडा लगाउँदा हुने फाईदा, र यसको महत्व बुझ्न नसक्दा माग घटेको व्यवासायीहरुको अनुमान छ ।

राडीपाखी पहिले घरमा पाउना, ईष्टमित्र आउँदा, कुनै शुभकार्य हुदाँ ओछ्याउन बढी प्रयोग हुन्थ्यो ।

व्यवसायीसँग छैन आधुनिक औजार

कन्न बुढाले भने, ‘नयाँ औजार भनेको कस्तो हुन्छ थाहा छैन । जिजुबाजेले प्रयोग गर्दै आएका औजार नै प्रयोग गर्ने गरेका छौँँ ।’ जुम्लाका अधिकांश क्षेत्रका स्थानीयले भेडाबाख्राबाट ऊन निकाल्ने तथा उक्त ऊन हातले केलाएर पुरानै सिपबाट कातेर राडीपाखी बुन्ने गरेका छन् ।

जुम्लाका चुलाकोट, तातोपानी, टोप्ला, ताम्ती, मालिकाठाटा कनकासुन्दरी लगायत अन्य गाउँबस्तीका स्थानीयले पनि राडीपाखी बुन्न परम्परागत औजार नै प्रयोग गर्दै आएका छन् । जसले समय धेरै खर्च हुने गरेको छ । जुम्लाका सबै राडीपाखी व्यवसायीहरु नयाँ औजारको पर्खाइमा छन् ।

आधुनिक औजारबारे अनभिज्ञ

‘आधुनिक औजार कहाँ पाइन्छ भन्ने थाहा छैन । महँगो पर्छ भन्ने सुनेको छु,’ कुडारीका हिमलाल रावतले । राडीपाखी बुन्ने आधुनिक मेसिनको ५० हजारदेखि १ लाख रुपियाँसम्म पर्ने गरेको छ ।

राडीपाखी उद्यमीलाई आधुनिक औजारमा आकर्षित गर्न घरेलु तथा साना उद्योग कार्यालयले अनुदान दिँदै आएको छ ।

२० प्रतिशत रकम उद्यमीले व्यहोर्ने र बाँकी ८० प्रतिशत रकम कार्यालयले व्यहोर्ने गरी अनुदान दिने गरिएको छ । तर, त्यसका लागि फर्म दर्ता गरेर राजस्व कार्यालयबाट प्यान नम्बर लिनुपर्ने हुन्छ ।

यस विषयमा जिल्लाका ग्रामीण भेगका अधिकांश उद्यमी अनभिज्ञ छन् । यस बारेमा जनचेता जोगाउन आवश्यक छ ।

व्यवसायीलाई सघाउँदै विकास परियोजना

च्याउ उम्रेजस्तै रहेका जुम्लाका सरकारी गैरसरकारी कुनै कार्यालय आफूहरुलाई सहयोग नगरेको व्यवसायीहरुको गुनासो छ । तर सेडा नेपालद्वारा संचालित विकास परियोजनाले भेडाबाख्रा व्यवसाय प्रवद्धन उत्पादन बृद्धिका लागि समूहबाट बोका–पाठा दिने, बेला–बेला दाना व्यवस्थापनदेखि खोर व्यवस्थापनका बारेमा सिकाउने गर्दा अलि सहज भएको व्यवसायी कर्ण हमालले बताए ।

महत्व घटे पनि ऊनि कपडाको व्यापार नछोड्न विकास परियोजनाले सिकायो, तरकारी खेतीदेखि भेडा पालन कृषकहरुका लागि आवश्यक ज्ञान दिने निकाय अरु कोही नभएको उनिहरु बताउन्छन् ।

यता, विकास परियोजना संयोजक दसरथ उपाध्यायका अनुसार कृषकले आधुनिक औजारको माग गरेकाले त्यसको व्यवस्थापनमा लागेको बताए ।

कृषकहरुको स्तर बृद्धिका लागि विकास परियोजनाले कार्यक्षेत्रमा प्रभावकारी काम गरेको छ । उनले भने, ‘अझै आवश्यतामा आधारिता कार्यत्रमलाई प्रथामिकता दिने उपाध्यायको भनाइ छ ।

राडीपाखी व्यवसाय प्रवद्धनका लागि कृषकहरुलाई आधुनिक औजारको पहुँचमा पुर्याउन जरुरी छ ।

 

जुम्लाबाट सागर परियारकाे रिपाेर्ट

 

...

बिहीबार, १० फागुन ०७४

प्रतिक्रिया

Related