कस्तो बन्ला सूर्यविनायक – धुलिखेल सडक ?

जापानको ऋण सहयोगमा पलाँसे–साँगा भञ्ज्याङ खण्डमा बन्दै सुरुङ पनि
निर्माण सञ्चार, काठमाडौँ | अरनिको राजमार्गको एक खण्ड रहेको सूर्यविनायक–धुलिखेल सडक आठ लेनमा विस्तार हुने भएको छ ।

१६ किलोमिटर लामो उक्त सडकको पलाँसे–साँगा भञ्ज्याङ खण्डमा सुरुङ पनि निर्माण गर्ने निश्चित भएको छ । जापानले उक्त सुरुङका लागि ऋण सहयोग दिने पक्का गरेको छ ।

सडक विभागको प्रतिनिधिमण्डलको जापान भ्रमणका क्रममा प्रारम्भिक अध्ययन सकेपछि जपानले ऋण सम्झौतामा हस्ताक्षर गर्ने प्रतिबद्धता गरेको हो ।

अरनिको राजमार्गबाट चीनसँगको तातोपानी नाका जोडिन्छ । हाल उक्त खण्ड विस्तारका लागि जापानले प्रारम्भिक अध्ययन गरिरहेको छ ।

पलाँसेमा सुरुङ निर्माण गर्ने विषयमा यसै साता स्थानीय सरोकारवालासँग छलफल हुने विभागको वैदेशिक सहायता महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले जानकारी दिए ।

पलाँसेबाट साँगाभञ्ज्याङसम्म साँघुरा घुम्तिहरू रहेकाले आठ लेनको सडक बनाउन समस्या हुने हुँदा उक्त खण्डमा सुरुङमार्गको योजना बनाइएको हो ।

श्रेष्ठले भने ‘सूर्यविनायक–कोटेश्वर खण्डमा पनि बिना अवरोध ६० किलोमिटर प्रतिघण्टाको गतिमा गाडी चलाउन सकियोस् भन्ने उद्देश्यले सुरुङको अध्ययन गरिएको हो ।’ ‘काठमाडौं भित्रिने र बाहिरिने सवारीको आवागमन सजिलो पार्न यो महत्वपूर्ण हुनेछ ।’ उनले भने ।

उनकाअनुसार सुरुङमार्ग भने चार लेनको हुनेछ । सुरुङको लम्बाइ भने एकिन भइसकेको छैन । सडक विस्तारको लागत पनि प्रारम्भिक अध्ययनपछि मात्र टुंगो लाग्ने उनको भनाइ छ ।

उक्त सडक स्तरोन्नतिपछि अरनीको र बीपी राजमार्गसहित दोलखा, खोटाङ, रामेछाप, सिन्धुलीलगायत लामो दूरीका गन्तव्यमा चल्ने सार्वजनिक यातायातका लागि सहज हुने विश्वास लिइएको छ ।

...

मंगलबार, ८ फागुन २०७४ 

 

प्रतिक्रिया

Related